थपिएका नयाँ कम्पनीहरूमा हाइड्रोपावरतर्फ सुपरहेवा पावर कम्पनी र रघुगंगा हाइड्रोपावर तथा उत्पादन र प्रशोधनतर्फ राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन्। यी कम्पनीहरूले कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १ सय रुपैयाँ बराबरको कुल २ करोड ७८ लाख ३४ हजार ५ सय ३१ कित्ता शेयर निष्कासनका लागि प्रक्रिया अगाडि बढाएका हुन्।
नयाँ थपिएका कम्पनीहरूमध्ये राजेश मेटल क्राफ्ट्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्न २०८३ साल जेठ ७ गते बोर्डमा आवेदन दिएको छ, जसको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। सोही दिन जेठ ७ गते नै अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले पनि १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता सेयरका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत आवेदन दर्ता गराएको छ। एग्रो क्षेत्रको युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि मात्र १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोक्दै जेठ ७ गते नै सेबोनको पाइपलाइनमा नाम दर्ता गराएको छ।
यसैगरी, प्रिमियर डिस्टिलरी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत २०८३ जेठ ८ गते बोर्डमा आवेदन दिएको छ।
जलविद्युत क्षेत्रको सुपर हेवा पावर कम्पनी लिमिटेडले पनि १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता सेयर स्थानीय र सर्वसाधारणमा जारी गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत जेठ ७ गते आवेदन दिएको छ। यता रघुगंगा हाइड्रोपावर लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न एनआईसी एसिया क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोक्दै जेठ ८ गते आवेदन दिएको छ । यी ६ वटैै कम्पनीहरू हाल धितोपत्र बोर्डको ‘अनुपालन प्रतिवेदन सहितको आवेदन’ को प्रारम्भिक समीक्षा चरणमा रहेका छन्। बोर्डबाट अन्तिम स्वीकृति पाएपछि कम्पनीहरूले सर्वसाधारणका लागि शेयर निष्कासन तथा बिक्री खुला गर्ने प्रक्रिया सुरु गर्नेछन्।