Ipo.aspx merolagani - बैशाखसम्ममा वाणिज्य बैंकहरूले कमाए १ खर्ब ५७ अर्ब खुद ब्याज आम्दानी, नबिल र ग्लोबल आइएमईबीच तीव्र प्रतिस्पर्धा

बैशाखसम्ममा वाणिज्य बैंकहरूले कमाए १ खर्ब ५७ अर्ब खुद ब्याज आम्दानी, नबिल र ग्लोबल आइएमईबीच तीव्र प्रतिस्पर्धा

Jun 14, 2026 04:55 PM Merolagani

नेपालका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्त (१० महिना) सम्ममा १ खर्ब ५७ अर्ब २३ करोड रुपैया कुल खुद ब्याज आम्दानी गरेका छन्।

चालु आवको बैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको कुल ब्याज आम्दानी ३ खर्ब ७५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने उनीहरूले निक्षेप तथा सापटीबापत २ खर्ब १८ अर्ब ६१ करोड रुपैयाँ ब्याज खर्च गरेका छन्।

बैंकहरूको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीको यो आकारले बजारमा कर्जा प्रवाह र ब्याजदर सन्तुलनको अवस्थालाई दर्साउँछ।

नबिल र ग्लोबल आइएमई शीर्ष स्थानमा, इन्भेष्टमेन्ट मेगा र कुमारी पनि आक्रामक

यस अवधिमा खुद ब्याज आम्दानीका आधारमा निजी क्षेत्रका दुई ठूला बैंक—नबिल बैंक र ग्लोबल आइएमई बैंकबीच शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। नबिल बैंकले १४ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्दै उद्योगमै पहिलो स्थान सुरक्षित गरेको छ। नबिललाई पछ्याउँदै ग्लोबल आइएमई बैंकले १३ अर्ब २८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

त्यसैगरी, १० अर्ब रुपैयाँको बलियो सीमा पार गर्ने अन्य बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (१० अर्ब ७५ करोड रुपैयाँ) र कुमारी बैंक (१० अर्ब ६ करोड रुपैयाँ) रहेका छन्। यी बैंकहरूले आक्रामक रूपमा व्यवसाय विस्तार गर्दा खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएको हो।

सरकारी बैंक र मध्यम वर्गीय बैंकहरूको अवस्था

सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्दा अर्को सरकारी बैंक नेपाल बैंक लिमिटेडले ७ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ। त्यस्तै कृषि विकास बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ९६ करोड रुपैयाँ छ।

नयाँ मर्जरपछि बलियो बनेको लक्ष्मी सनराइज बैंकले ८ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरी आफूलाई बलियो स्थानमा उभ्याएको छ। मध्यम वर्गीय व्यवसाय भएका एनएमबि, प्रभु, प्राइम, एभरेस्ट र हिमालयन बैंकको खुद ब्याज आम्दानी ७ अर्ब देखि ८ अर्ब रुपैयाँको बीचमा सन्तुलित देखिएको छ।

संकुचित व्यवसायः एनआइसी एशिया र स्ट्यान्डर्ड चार्टर्ड

कुनै समय आक्रामक व्यवसाय गर्ने एनआइसी एशिया बैंक यस पटक ६ अर्ब ७८ करोड रुपैयाँ खुद ब्याज आम्दानीमा सीमित भएको छ। बैंकले ब्याज आम्दानी १९ अर्ब १९ करोड गर्दा १२ अर्ब ४०  कराेड रुपैयाँ ब्याज खर्चमा बुझाउनुपरेकाले यसको खुद ब्याज आम्दानीमा दबाब परेको देखिन्छ।

यता, बहुराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले जम्मा ३ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम हो। यद्यपि, चार्टर्ड बैंकको ब्याज खर्च (२ अर्ब ८८ करोड) एकदमै न्यून रहेकाले कम आम्दानीमा पनि उसको कस्ट अफ फण्ड सन्तुलित रहेको संकेत मिल्छ।

समग्रमा बैंकिङ क्षेत्रमा ब्याजदरको उतारचढाव र कर्जा असुलीको चुनौतीका बीच पनि वाणिज्य बैंकहरूले खुद ब्याज आम्दानीको बलियो आधार खडा गर्न सफल भएका छन्, जसले चालु आर्थिक वर्षको अन्त्यसम्म उनीहरूको नाफाको आधार तय गर्नेछ।

comments powered by Disqus

नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

Jun 10, 2026 02:44 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताएका छन्।