प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने यस विशेष बैठकलाई पुँजी बजारको भविष्यका लागि निकै निर्णायक मानिएको छ। नयाँ सरकार आएपछि नीतिगत सुधार हुने र बजारले नयाँ उचाइ लिने आशामा रहेका लाखौँ साना तथा ठूला लगानीकर्ताहरू पछिल्लो समय निराश बनेका छन्। सोही निराशालाई चिर्न र बजारलाई पुनः चलायमान बनाउन प्रधानमन्त्रीले नियामक निकायदेखि भुइँतहका लगानीकर्तासम्मलाई एकै ठाउँमा राखेर समाधानको सूत्र खोज्न लागेका हुन्।
को–को सहभागी हुँदैछन् सिंहदरबारको 'महामन्थन' मा ?
प्रधानमन्त्री शाहले बोलाएको यो बैठकमा पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका 'महारथी' हरूको उपस्थिति रहनेछ। बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल सहभागी हुनेछन्।
त्यसैगरी, बजारको गहिरो ज्ञान राख्ने नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठलाई पनि छलफलका लागि डाकिएको छ। लगानीकर्ताहरूको तर्फबाट प्रतिनिधित्व गर्दै अनुभवी हस्तीहरू प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलले पनि आफ्नो धारणा राख्ने कार्यक्रम छ।
छलफलका मुख्य एजेन्डाहरू
यस बैठकको मूल उद्देश्य बजार घट्नुको भित्री कारण पत्ता लगाउनु र त्यसलाई सम्बोधन गर्ने गरी तत्काल नीतिगत हस्तक्षेप गर्नु रहेको छ। बैठकमा मुख्यतया निम्नलिखित विषयहरूमा छलफल केन्द्रित हुने बुझिएको छ:
१. नीतिगत सुधार: मौद्रिक नीति र धितोपत्र बोर्डका कतिपय प्रावधानहरूले बजारलाई संकुचित पारेको गुनासो लगानीकर्ताहरूको छ। प्रधानमन्त्रीले ती गाँठोहरू कसरी फुकाउन सकिन्छ भन्नेमा सरोकारवालाको सुझाव लिनेछन्।
२. लगानीकर्ताको सुरक्षा: निरन्तरको गिरावटले साना लगानीकर्ताहरूको अर्बौँ रुपैयाँ डुब्ने जोखिम बढेको छ। यसलाई रोक्न सरकारले चाल्न सक्ने सुरक्षात्मक कदमहरूबारे संवाद हुनेछ।
३. बीमा र बैंकिङ क्षेत्रको भूमिका: समग्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिने बीमा र बैंकिङ क्षेत्रलाई पुँजी बजारसँग कसरी सकारात्मक रूपमा जोड्न सकिन्छ भन्नेमा विशेष चर्चा हुनेछ।
४. बजारको आधुनिकीकरण: नेप्से र सेबोनको कार्यक्षमतामा देखिएका प्राविधिक र प्रशासनिक चुनौतीहरूलाई तत्काल समाधान गर्ने रोडम्याप तयार पारिनेछ।
प्रधानमन्त्रीको चासो: केवल राजनीति होइन, अर्थतन्त्रको चिन्ता
सरकार गठन भएको छोटो अवधिमै बजारमा निरन्तर ओरालो लाग्नुलाई कतिपयले सरकारप्रतिको अविश्वासका रूपमा समेत व्याख्या गर्न थालेका छन्। तर, प्रधानमन्त्री शाहले यसलाई गम्भीरतापूर्वक लिँदै अर्थतन्त्रको ऐना मानिने शेयर बजार धमिलो हुनु भनेको सिंगो देशको आर्थिक स्वास्थ्य बिग्रनु हो भन्ने बुझेका छन्।
आजको बैठक केवल औपचारिक छलफलमा मात्र सीमित हुने छैन। प्रधानमन्त्री निकट स्रोतका अनुसार, शाहले सरोकारवालाहरूलाई 'स्पष्ट स्पष्टीकरण' सोध्ने र बजार सुधार्नका लागि 'समयसीमा' नै तोकेर निर्देशन दिने तयारी गरेका छन्।
पूँजी बजारमा देखिएको यो 'बियरिस' ट्रेन्डलाई 'बुलिस' तिर मोड्न आजको सिंहदरबार संवादले कस्तो जादु गर्ला ? के आजको बैठकपछि नेप्सेमा हरियो संकेत देखिएला ? यो हेर्न भने आज साँझसम्मको बजारको प्रतिक्रिया पर्खनुपर्नेछ। तर, एउटा कुरा निश्चित छ–प्रधानमन्त्रीको यो सक्रियताले लगानीकर्ताहरूमा केही आशाको सञ्चार भने पक्कै गर्ने छ।