Ipo.aspx merolagani - बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्

बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्

Jul 23, 2026 05:37 PM Merolagani

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

बिहीवार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अर्थमन्त्री वाग्लेले वर्तमान सरकार र प्रधानमन्त्री स्वयंले नतिजामुखी कार्यशैलीलाई प्राथमिकता दिएको उल्लेख गर्दै व्यक्तिगत चिनजान वा पहुँचका आधारमा नभई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए।

प्रधानमन्त्री बालेन्द्र साहले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताएको अर्थमन्त्री वाग्लेले जानकारी दिए । प्रधानमन्त्रीले विधिपूर्वक काम गर्न र नतिजा देखाउन निर्देशन दिनुभएको उल्लेख गरे । सरुवा र बढुवाका लागि राजनीतिक दल वा शक्ति केन्द्रको सोर्सफोर्स लगाउने प्रवृत्तिलाई पूर्णतः निरुत्साहित गरिने उनले बताए। विगतमा सरुवाका लागि नेता र गुट समात्ने अभ्यासले ऊर्जा र समय नष्ट गरेको चर्चा गर्दै उनले अब त्यस्तो प्रणाली अन्त्य हुने दाबी गरे। राजश्व प्रशासनको सुधार र कर्मचारीको हौसला वृद्धिका लागि आफू स्वयं देशभरका भन्सार र कर कार्यालयहरूको स्थलगत अनुगमनमा जाने प्रतिवद्धता समेत उनले व्यक्त गरे । कर्मचारीहरूका समस्या, चुनौती र गुनासाहरू सुन्न आफू सधैँ तयार रहेको बताउँदै उनले कुनैपनि सुझाव वा समस्या भए सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे ।

उनले भने, ‘राजनीतिक दबाब कुनैपनि हालतमा हुनेछैन भन्नेकुरा मैले पहिले नै स्पष्ट गरिसकेको छु । हाम्रो प्राथमिकता व्यक्ति होइन, नतिजा हो । अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूले पनि हामीलाई बारम्बार भन्नुहुन्छ– कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो छैन । नतिजा आउनुपर्छ, तपाईंहरू आफ्नो विधि र प्रक्रियाअनुसार काम गर्नुहोस् । मैले पनि यही भावना मन्त्रालयमा लागू गरेको छु । सचिव र सहसचिवहरूलाई सक्षम व्यक्तिलाई जिम्मेवारी दिएर काम गराउन र नतिजा दिन अधिकार प्रदान गरिएको छ । पहिले सरुवा र नियुक्तिमा राजनीतिक पहुँच, गुट र व्यक्तिगत चिनजान खोज्दै धेरै समय खर्च हुन्थ्यो ।अब त्यो अभ्यास अन्त्य हुनुपर्छ । कसैको आफन्त, नातेदार वा कुनै नेताको सिफारिसका आधारमा निर्णय हुने छैन । यदि कसैले दबाब दिन खोज्छ भने त्यसले उल्टै नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ । मैले गरेका नियुक्तिहरू पनि योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा भएका छन् । उदाहरणका रूपमा, राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिमा धेरैले लबिङ गरे, तर लबिङ नगर्ने योग्य व्यक्ति नै नियुक्त हुनुभयो । यही प्रणालीलाई संस्थागत गर्न हामी लागिरहेका छौँ । म स्वयं काठमाडौं बाहिरका कार्यालयहरू–आन्तरिक राजश्व कार्यालय, भन्सार तथा अन्य निकायहरूमा पुगेर कर्मचारीका समस्या सुन्ने, सुधारका उपायबारे छलफल गर्ने र आवश्यक हौसला प्रदान गर्नेछु । कसैले पनि डराउनु पर्दैन । कुनै गुनासो वा सुझाव भए सिधै मेरो कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ । हाम्रो उद्देश्य व्यक्तिगत निर्णय होइन, प्रणाली सुधार, सुशासन प्रवद्र्धन र संस्थागत सुधार हो । यदि कतै अनियमितता वा बदमासी भइरहेको छ भने प्रमाणसहित जानकारी गराइदिनुहोस् ।’

प्रणाली सुधार र सुशासन प्रवद्र्धनका लागि आफू प्रतिवद्ध रहेको बताउँदै अर्थमन्त्री वाग्लेले कतै अनियमितता वा बदमासी भएको भए प्रमाणसहित जानकारी गराउन कर्मचारीहरूलाई निर्देशन दिए। यो कुनै व्यक्तिगत आग्रह नभई समग्र प्रणाली सुधारको अभियान भएको उनको भनाइ छ ।

comments powered by Disqus

प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।