Ipo.aspx merolagani - बेबी पाउडर विवाद सुल्झाउन जोनसन एण्ड जोनसनद्वारा ५.५ अर्ब डलरको प्रस्ताव

बेबी पाउडर विवाद सुल्झाउन जोनसन एण्ड जोनसनद्वारा ५.५ अर्ब डलरको प्रस्ताव

Jul 28, 2026 11:49 AM Merolagani

ओसमन्ड चिया(बीबीसी)

अमेरिकी स्वास्थ्य सेवा प्रदायक कम्पनी जोनसन एण्ड जोनसन (जेएण्डजे) ले आफ्नो 'बेबी पाउडर' र 'ट्याल्क' युक्त उत्पादनहरूका विरुद्ध दायर दशौँ हजार मुद्दाहरू किनारा लगाउन ५.५ अर्ब डलर (करिब ७ खर्ब ३३ अर्ब नेपाली रुपैयाँ) भुक्तानी गर्ने प्रस्ताव गरेको छ।

वर्षौँदेखि चल्दै आएको यो कानुनी लडाइँ अन्त्य गर्ने उद्देश्यले कम्पनीले यस्तो ऐतिहासिक सम्झौताको प्रस्ताव अघि सारेको हो। जेएण्डजेका ट्याल्कमा आधारित उत्पादनहरूले 'डिम्बग्रंथि क्यान्सर' (Ovarian Cancer) निम्त्याउने आरोप लगाउँदै हजारौँ उपभोक्ताले अदालतमा मुद्दा दायर गरेका थिए। यद्यपि, कम्पनीले यी आरोपहरूलाई सुरुदेखि नै अस्वीकार गर्दै आएको छ।

के हो विवाद?

जोनसन एण्ड जोनसनको बेबी पाउडरमा प्रयोग हुने 'ट्याल्क' खानीबाट निकालिन्छ। यो खनिज प्रायः 'एस्बेस्टोस' को नजिकै पाइन्छ, जुन क्यान्सरको मुख्य कारक मानिन्छ। वादीहरूले कम्पनीको ट्याल्क पाउडर एस्बेस्टोसले दूषित भएको र त्यसकै कारण क्यान्सर भएको दाबी गर्दै आएका छन्।

कम्पनीको अडान

कम्पनीका मुद्दा सम्बन्धी उपाध्यक्ष एरिक हासले यी आरोपहरूलाई 'निराधार' बताएका छन्। उनले भने, "अध्ययनहरूले ट्याल्क सुरक्षित भएको र यसमा क्यान्सर निम्त्याउने एस्बेस्टोस नहुने पुष्टि गरेका छन्।"

 

तर, लामो समयदेखि चलिरहेको कानुनी झमेलालाई पन्छाएर जीवनोपयोगी औषधि र उपकरण उत्पादनको मुख्य लक्ष्यमा केन्द्रित हुन कम्पनी यो सम्झौता गर्न तयार भएको उनले स्पष्ट पारेका छन्।

सम्झौताको प्रक्रिया

यो प्रस्तावलाई अन्तिम रूप दिन क्यान्सर पीडितहरूको प्रतिनिधित्व गर्ने ९५ प्रतिशत कानुनी फर्महरूले स्वीकार गर्नुपर्नेछ। प्रस्तावित योजना अनुसार कम्पनीले आगामी वर्ष ३ अर्ब डलरसम्म भुक्तानी गर्ने र बाँकी रकम २०२८ सम्ममा चुक्ता गर्ने बताएको छ।

उत्पादनमा परिवर्तन

विवाद बढेपछि जोनसन एण्ड जोनसनले दुई वर्षअघि नै अमेरिकामा र सन् २०२२ मा विश्वभर ट्याल्कमा आधारित बेबी पाउडरको बिक्री बन्द गरिसकेको छ। हाल कम्पनीले ट्याल्कको सट्टा 'कर्नस्टार्च' (मकैको पिठो) प्रयोग गरी बेबी पाउडर उत्पादन गरिरहेको छ।

सन् २००९ देखि सुरु भएको यो कानुनी विवादमा कतिपय मुद्दामा कम्पनीले सफलता पाए पनि थप कानुनी जोखिम न्यूनीकरण गर्न यो ठुलो रकमको प्रस्ताव गरिएको विश्लेषण गरिएको छ।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।