Ipo.aspx merolagani - नेपाल टेलिकमको नाफा बढेपनि ईपीएस थोरै घट्यो

नेपाल टेलिकमको नाफा बढेपनि ईपीएस थोरै घट्यो

Aug 15, 2022 06:43 AM Merolagani

नेपाल टेलिकम लिमिटेड (NTC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो।

असार मसान्तसम्ममा कम्पनीको आम्दानी ५.४४ प्रतिशत बढेको छ भने अन्य आम्दानी २.५१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने केही घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ।

comments powered by Disqus