Ipo.aspx merolagani - कर प्रयोजनको लागि नगद लाभांश नदिँदा घोराही सिमेन्टका लगानीकर्तालाई झमेला

कर प्रयोजनको लागि नगद लाभांश नदिँदा घोराही सिमेन्टका लगानीकर्तालाई झमेला

Feb 29, 2024 06:36 AM MeroLagani

घोराही सिमेन्टका लगानीकर्ताले पुनः झमेला बेहोर्नुपर्ने भएको छ । हालै मात्रै प्रिमियममा शेयर निष्काशन गरेको घोराही सिमेन्टले लाभांश स्वरुप १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारण सभाले पारित गरेको हो । बोनस शेयरमा लाग्ने कर स्वरुप लाग्ने साढे ७ प्रतिशत कर बापत् नगद लाभांश दिने प्रस्ताव नगरेका कारण लगानीकर्ता झमेलामा पर्ने भएको हो ।

घोराही सिमेन्टले सर्वसाधारणलाई ३ सय ३५ रुपैयाँ प्रिमियम जोडेर ४ सय ३५ रुपैयाँमा शेयर निष्काशन गरेको थियो । घोराहीको आइपीओ भर्ने सबैले न्यूनतम १० कित्ता शेयर पाएका थिए । १० कित्ता शेयरको १५ प्रतिशत हिसाब गर्दा १.५ कित्ता बोनस आउँछ । १ कित्ता नभईकन बोनस नपाईने हुँदा १० कित्ता मात्रै शेयर हुने लगानीकर्ताको खातामा १ कित्ता मात्रै जम्मा हुन्छ तर लगानीकर्ताले त्यसबापत्को कर भने आफ्नै गोजीबाट तिर्नुपर्छ । १० कित्ता शेयर हुनेले साढे १ कित्ता शेयर पाउने हुँदा त्यसबापत् ११ रुपैयाँ २५ पैसा कर तिर्नुपर्छ । सो कर नतिरेसम्म बोनस शेयर डिम्याट खातामा शेयर जम्मा हुँदैन । अधिकांश लगानीकर्तालाई सो कर तिर्नुपर्ने जानकारी नहुने हुँदा खातामा शेयर जम्मा हुँदैन ।

विगतमा  पनि कतिपय कम्पनीले बोनस सेयर जारी गर्ने तर कर भने लगानीकर्ताबाट उठाउनुपर्ने व्यवस्था थियो। लगानीकर्ताबाट करवापतको पैसा उठाउँदा ढिला हुने र कतिपय लगानीकर्ताले त्यसको जानकारीसम्म नपाउने अवस्था सिर्जना भएपछि वर्षौसम्म जारी भएको बोनस सेयर लगानीकर्ताको खातामा नै आउँदैन । लगानीकर्ताले बोनस सेयर किन खातामा नआएको भनेर सोधिखोजी गर्दा मात्रै बोनस सेयरवापतको कर नतिरिएको थाहा पाउँछन् । त्यसपछि लगानीकर्ताले करवापतको पैसा तिरेर आफ्नो खातामा बोनस सेयर ल्याउने प्रक्रिया अगाडी बढाउनु बढ्छ । थोरै कित्ता मात्रै शेयर हुने लगानीकर्ता भने थोरै पैसाको लागि क्यापिटल धाउनु पर्दा दिक्क मान्ने गर्दछन् । पछिल्लो समय भने अनलाइन ट्रान्सफरको सुविधाको कारण क्यापिटल धाएर वा क्यापिटलले तोकेको बैंकमा नै गएर पैसा तिर्नु त पर्दैन तर पनि थोरै रकमको लागि अनलाइन ट्रान्सफर गर्न समेत दिक्क मान्ने गरेका छन् ।

घोराहीकै सवालमा पनि १० कित्ता शेयर भएका लगानीकर्ताको खातामा १५ प्रतिशतका दरले १ दशमलब ५० कित्ता भए पनि १ कित्ता मात्रै शेयर खातामा आउँछ । साढे १ कित्ता बोनस पाउन ११ रुपैयाँ ५० पैसा कर कम्पनीको खातामा ट्रान्सफर गर्नुपर्छ । अनलाइन ट्रान्सफर गर्दा पनि न्यूनतम २ रुपैयाँदेखि ८ रुपैयाँसम्म अतिरिक्त चार्ज खर्च गर्नुपर्छ । अनावश्यक खर्च नगराउनको लागि लगानीकर्ताले धेरै समयदेखि बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि नगदको व्यवस्थापन कम्पनीलाई स्वयमलाई गर्न अनुरोध गर्दै आएका थिए । विगतमा लगानीकर्ताबाट बोनस शेयर बापतको कर तिराउने अभ्यास धेरै भए पनि पछिल्लो समय हराउँदै गएको थियो । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न आवश्यक निर्देशन दिने विषय उल्लेख थियो तर चालु आव नसकिंदै निवर्तमान सेबोन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएका कारण सो निर्देशन जारी भएको छैन।

comments powered by Disqus

डुब्ने हल्लाले एनआइसी एशिया बैंकको २७ अर्ब निक्षेप बाहिरिँदा यसरी हुने भयो उल्टै फाइदा

Feb 26, 2024 06:17 PM

पछिल्लो समय चलेको बैंक डुब्ने हल्लाले एनआइसी एशिया बैंक(NICA)लाई थप फाइदा पुगेको छ। एनआइसी एशिया बैंक डुब्छ भन्ने हल्ला फैलाएर भ्रम सिर्जान गर्न खोज्दा बैंकका सर्वसाधारण निक्षेपकर्ता डराएर बैंकबाट ठूलो रकमको निक्षेप निकालेका छन्। तर अन्तमा यसले बैंकलाई नै फाइदा पुगेको छ।