Ipo.aspx merolagani - लगानीकर्ताले भन्न थाले-‘वर्षमान पुन, ३२ सय सुन’

लगानीकर्ताले भन्न थाले-‘वर्षमान पुन, ३२ सय सुन’

Mar 13, 2024 06:33 AM Merolagani

नेपाली कांग्रेससहितको गठबन्धन भंग भएर एमालेसहितको नयाँ मन्त्रीमण्डल गठन भएपछि अर्थ मन्त्रालय नेकपा माओवादीका वर्षमान पुनले सम्हालेका छन् । एमालेको पोल्टामा जाने आशा गरिएको अर्थ मन्त्रालयमा माओवादीको पोल्टामा गएपछि शेयर बजार घट्छ कि भन्ने लगानीकर्ताको आशंका अर्थमन्त्री पुनको सार्वजनिक अभिव्यक्तिले विस्तारै धमिलो बन्दै गएको छ ।

पुन अर्थमन्त्री हुँदा २ हजार पनि नकटेको नेप्से परिसूचक मंगलबार २१ सय माथि पुगेको छ । कारोबार रकम समेत केही बढ्न थालेको छ । सामाजिक सञ्जालहरुमा समेत वर्षमान पुनको पुँजी बजारप्रतिको लगावलाई लिएर लगानीकर्ताले विभिन्न अड्कलबाजी गर्न थालेका छन् । सामाजिक सञ्जालको विभिन्न समूहमा शेयर भएको एक पोस्टमा लगानीकर्ताले भनेका छन्–‘वर्षमान पुन, ३२ सय सुन ।’

अहिले बजारमा ऋणको व्याज दर एकल अंकको नजिक छ भने बैकिङ प्रणालीमा १ खर्ब रुपैयाँभन्दा बढी तरलता छ । शेयर बजार र ऋणको व्याज दरको जहिले उल्टो सम्बन्ध रहेको छ । पछिल्लो समय ऋणको व्याज दर घट्दो ट्रेन्डमा रहँदा पनि शेयर बजार भने १८ सयदेखि २२ सयकै बीचमा साइडवेजमा हिंडिरहेको थियो । कांग्रेसी कोटाबाट अर्थमन्त्री बनेका अर्थतन्त्रमै विद्यावारिधी गरेका डा. प्रकाशशरण महतबाट बजारले धेरै अपेक्षा गरेको भए पनि उनले लगानीकर्ताको आत्मविश्वास जित्ने काम गर्न सकेको थिएन । उल्टो वर्षौ अगाडिको एफपीओ र मर्जरको पर्चेज गेनमा कर लगाउने, उद्योगी व्यापारीलाई आतंकिन बनाउने लगायतका कार्यहरु पनि अगाडि बढाए । महतको कार्यकालको ठिक उल्टो वर्षमान पुन अर्थमन्त्रीमा नियुक्ति भए लगत्तै ६० लाख पुँजी बजारका लगानीकर्तालाई सम्बोधन गरेर पुँजी बजारको समस्या हल गर्ने प्रतिबद्धता जनाए । धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएसएसीलाई सम्बोधन गरेर पुँजी बजार सुधारको कार्ययोजना पेश गर्न निर्देशन दिए । यसले समग्र लगानीकर्तामा सकारात्मक आशाको सञ्चार भयो ।

२ हजारको हाराहारीमा रहेको नेप्से परिसूचक आफैमा न्यून विन्दुमा थियो । बैंक व्याज दर र बैकिङ प्रणालीमा पर्याप्त तरलताले समय साथ दिइरहेको बेला लगानीकर्तामा आत्मविश्वासको मात्रै कमी थियो । ‘नयाँ गठबन्धनको नयाँ अर्थमन्त्रीले लगानीकर्तामा सकारात्मक भाइब्स दिन खोजेको जस्तो देखिएको छ । सरोकारवाला निकायमा बसेको मान्छेले बजारमा सकारात्मक सन्देश छोड्न खोज्दा बजार पनि सकारात्मक नै हुने गरेको छ । अहिले भएको पनि त्यही हो जस्तो लाग्छ।’–नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले भने –‘बजार बढ्न चाहिने सबै तत्वहरु बजारमा उपलब्ध रहेको बेला बजारले बढ्ने निहुँ खोजिरहेको थियो । राजनीतिक परिवर्तनलाई बजारले त्यही निहुँको रुपमा उपयोग गरेको हो ।’ अर्थ मन्त्रीमा नियुक्त हुनासाथ हरेक मन्त्रीले बजारमा राम्रै गर्छु भनेर बोल्ने गरेको भए पनि आगामी दिनमा उनले बजारमा लागू गर्ने नयाँ नीतिहरुले पुँजी बजारको नयाँ कार्यदिशा निर्देशित हुने उनले बताए । ‘चैत्र बैशाखमा जहिले पनि सिजनल रुपमा बजार बढ्ने नै समय हाे । चैतमा बैंकको व्याज दर पनि थप घटने अनुमान गरिएकाे छ । सबै परिस्थिति हेर्दा घट्ने ठाउँ त्यति देखिंदैन । कम्पनीहरुको बजार मूल्य एकदमै तल छ । धेरै वाणिज्य बैंकको शेयर मूल्य १ सय ५० रुपैयाँको हााराहारीमा छ । बजार घट्ने सम्भावना कम बढ्ने सम्भावना बढी देख्छु ।’–‘उनले अगाडी भने ।

अर्का अनुभवी लगानीकर्ता एसपी चौलागाईले भने– ‘पूर्व अर्थमन्त्री महतले भएभरको पैसा घरजग्गा र शेयर बजारमा गएको गुनासोको अभिव्यक्ति दिएको बढी सुनिन्थ्यो । कांग्रेसबाट गएको अर्थमन्त्रीले पुँजी बजरमा राम्रो छाप छोड्छ भन्ने आशा गरिए अनुसार काम भएन । नयाँ अर्थमन्त्री पुनले भने ६० लाख लगानीकर्ताको अनुहारमा मुस्कान ल्याउन नीतिगत रुपमा के गर्न सकिन्छ भनेर जुन खालको तदारुकता देखाएको छ, यसले पनि पुँजीबजारमा लगानीकर्ता मैत्री अर्थमन्त्री आयो भन्ने आत्मविश्वास पलाएको छ जसको सकारात्मक प्रभाव बजारमा परेको हो ।’

ऋणको व्याज दर एकल अंकमा आउँदा यो भन्दा अगाडि ११ सयको न्यून विन्दुमा रहेको बजारले १८ सयको उच्च विन्दु पार गरेको थियो । अहिले पनि व्याजदरको अवस्था सोही हारारहारीमा रहेकाले बजार बढ््ने अनुमान लगानीकर्ता चौलागाईले गरेका छन् । अघिल्लो अर्थमन्त्री कालमा समेत पुनले लगानीकर्ताका संघ संगठनलाई बोलाएर पुँजी बजारमा समस्याहरु सुनेर त्यसको लागि सकारात्मक पहल गरेको अनुभवका आधारमा यसपटक सोही प्रक्रिया दोहोर्याउनेमा उनी ढुक्क देखिन्छन् । ‘हाइड्रोपावरका लगानीकर्तालाई खोजी खोजी छोरी दिने वातावरण बनाउँछु ।’–भन्ने अभिव्यक्ति दिएका अर्थमन्त्री वर्षमान पुनकै प्रयास स्वरुप अहिले हाइड्रोपावर कम्पनीहरुमा लगानी बढेको उनले आंकलन गरे । उनको पहिलो अर्थमन्त्री कार्यकालमा हाइड्रोपावर कम्पनीका शेयरहरु अंकित मूल्यभन्दा पनि तल कारोबार हुन्थे । कोरोना महामारीको समयपछि भने हाइड्रोपावर कम्पनीको शेयर अंकित मूल्यभन्दा तल कारोबार भएको छैन ।

 
comments powered by Disqus

अपर तामाकोशीको शेयर १८३ रुपैयाँ ६० पैसामा नै ‘फालाफाल’

Mar 13, 2024 11:29 AM

अपर तामाकोशीको शेयर निरन्तर घटेर १८३ रुपैयाँ ६० पैसामा आइपुगेको छ । हिजो २०० रुपैयाँ भन्दा माथि कारोबार भइरहेको अपर तामाकोशीको शेयर मूल्य १० प्रतिशतले घटेर १८३ रुपैयाँ ६० पैसामा  आइपुगेको हो ।