Ipo.aspx merolagani - ‘भनसुन कर्जा’ को फन्दामा बैंकका हाकिमहरुः बचेका युवराज खतिवडा र आत्तिएका अशोक राणाहरु

‘भनसुन कर्जा’ को फन्दामा बैंकका हाकिमहरुः बचेका युवराज खतिवडा र आत्तिएका अशोक राणाहरु

Mar 13, 2024 06:13 PM Merolagani

बाबुराम ढकाल

केही वर्ष अगाडिको घटना हो, कांग्रेस, एमाले र राप्रपाका प्रभावशाली नेताहरुलाई ‘पार्टनर’ बनाएका रुपन्देहीका एक व्यवसायीले बैंकबाट ऋण मिलाइदिन अनुरोध गर्दै तत्कालिन गभर्नर डा.युवराज खतिवडा कहाँ गए ।

खतिवडाले धितोले खाम्न सक्ने ऋण सहजरुपमा उपलब्ध गराउनको लागि बैंकका सिईओहरुलाई भनिदिन सक्ने आश्वासन दिए । तर, ती उद्योगीको अपेक्षा त्यो भन्दा पनि धेरै थियो, ‘कृषि उद्योग’ को लागि बढीमा १-२ प्रतिशत व्याजदरमा करोडौं रकम १ दशक भन्दा लामो समयको लागि उपलब्ध गराइदिन गभर्नर कहाँ थिए।
 
उनको कुरा सुनेपछि खतिवडा झस्किए । एक त उनले पेश गरेको ‘विजनेश प्लान’ नै भरपर्दाे थिएन । त्यसमाथि धितोले खाम्ने भन्दा कैयौं गुणा बढी कर्जा मागिएको थियो । त्यो बुझेपछि खतिवडाले ‘नहुने काम आफूले गर्न नसक्ने’ जवाफ दिए ।
 
 
खतिवडासँग रिसाउँदै फर्किएका ती व्यवसायीले राजनीति नेताहरुबाट भनसुन गराएर कर्जा लिने प्रयास गरे, खतिवडा मात्र होइन तत्कालिन डेपुटी गभर्नर तथा हालका गभर्नर महाप्रसाद अधिकारीमाथि राजनीतिक  दबाब दिए । तत्कालिन प्रधानमन्त्री माधव नेपालदेखि विष्णु पौडेल, बालकृष्ण खाँण लगायतका नेताहरुलाई दबाब दिन लगाएर आफ्नो काम गराउने प्रयास गरे । तर, खतिवडा र अधिकारीले ‘असम्भव काम गराउन खोज्नुभन्दा पदबाट हटाइदिनुस’ भन्दै टसमस नभएपछि ‘आफ्नो मान्छेको काम’ गरिदिन खोजेका नेताहरुको केही सीप लागेन । डेपुटी गभर्नर र गभर्नरलाई दबाब दिएर धितोले खाम्ने भन्दा अत्यधिक धेरै कर्जा अति नै न्यून ब्याजदरमा लिने आफ्नो प्रयास सफल नभएपछि ती उद्यमी खतिवडा र अधिकारीको विरुद्ध लागे । त्यसक्रममा संचारमाध्यमलाई उपयोग गरेर उनीहरुको विरुद्ध अनर्गल प्रचार गर्नेदेखि सकेसम्मका अनेक प्रयास गरे, तर सफल भएनन् । त्यसको रिस फेर्न गरिएको प्रयासको निरन्तरताको फलस्वरुप पछिल्लो पटक गभर्नर अधिकारीको नियुक्ति रोक्न गरेको प्रयास पनि असफल भएपछि सायद उनी थाके ।
 
बैंक तथा वित्तीय संस्थाबाट अस्वभाविकरुपमा ऋण लिन कतिसम्म प्रयास गरिन्छ भन्ने कुराको  यो एउटा उदाहरण मात्रै हो । बिबादास्पद चरित्रका व्यक्तिहरु राजनीतिक र प्रशासनिक नेतृत्वलाई रिझाएर, उनीहरुमार्फत ऋण दिलाउनको लागि दबाब दिन्छन् । धेरैजसो अवस्थामा उनीहरु बैंक तथा वित्तीय संस्थाका संचालक र व्यवस्थापन समुहका उच्च अधिकारीहरुबाटै ‘काम गराउने’ प्रयास गर्छन् र त्यो सम्भव नभए राजनीतिक नेतृत्वमार्फत दबाब दिलाउँछन् । यसरी दबाबमा परेर दिइएका धेरै कर्जाहरु समस्याग्रस्त बन्छन् र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीको लागि टाउको दुखाईको विषय बन्छ । जस्तो कि राजेश्वर आचार्य राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अध्यक्ष रहँदा उनले आफ्नो सहोदर छोरी ज्वाई चण्डिराज ढकाल (पछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत भएका) को कम्पनी मोमेण्टो एपरल्सलाई ‘वैंकिङ नम्स’ भन्दा बाहिर गएर करोडौं ऋण दिलाए । झण्डै दुई दशकपछि अहिले अहिले पनि त्यो कर्जा बैंकको लागि टाउको दुखाईको विषय बनेको छ । ‘भनसुन कर्जा’ को सबैभन्दा ठूलो मारमा सरकारी बैंकहरु छन् । तर, त्यो कर्जाले अहिले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुलाई पनि त्यत्तिकै पिरोल्न थालेको छ । यसरी ‘भनसुन कर्जा’ को प्रवृत्ति भने फरक छ ।
 
सरकारी बैंकहरुमा राजनीतिक नेताहरुले धेरै दबाब दिएर कर्जा दिलाउँछन् भने निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामा पहुँचवाला व्यवसायीहरुले त्यो काम गर्छन् । हाल प्रहरीले कारवाही गरिरहेको तत्कालिन सेन्चुरी वैंकको प्रकरणको वास्तविकता के हो ? आफ्नो ठाउँमा छ, तर त्यसको चुरो भने भनसुन कर्जामै पुग्छ । नेपालको निजी क्षेत्रका बैंकका संचालकहरु ठूला घरानाका उद्यमी व्यवसायी छन्, उनीहरुले आफ्नै बैंकबाट लिँदा बिबादमा परिने डरले अर्काे बैंकका संचालकहरु र व्यवस्थापनका उच्च अधिकारीहरुलाई भनसुन गराएर कर्जा लिन्छन् । यसरी कर्जा लिंदा बैंकिङ प्रकृयाहरु मिलाउने हदसम्म मिलाइन्छ, नियम कानुनले नमिल्दासमेत जसरी पनि मिलाइन्छ । यसरी भनसुन कर्जाबाट अति नै सहज र सहुलियत दरमा कर्जा लिएर मालामाल हुने व्यवसायीहरुको संख्या निकै छ ।
 
भनसुन कर्जाका धेरै प्रकरणहरु बाहिर आउँदैनन्, सकेसम्म सेटल नै गरिन्छ । तर, जब त्यसरी लिएका कर्जा धनीहरु टाट पल्टिन्छन्, अनि त्यसको असरले गर्दा बैंकका हाकिमहरु पनि तानिन्छन् । अहिले हिमालयन वैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक राणा पनि त्यस्तै भनसुन कर्जाको ‘शिकार’ बनिरहेका छन्, यसबाट उनी कसरी उम्कन्छन्, थाहा पाउन केही समय लाग्ने देखिएको छ ।
 
आफ्ना टाढाका नातेदार तथा कांग्रेस नेता आरजु राणाका भाई भुषण राणाको ‘भनसुन’ लाई स्वीकार गरेर ढल्केबरमा रहेको एभरेष्ट वायरलाई दिएको कर्जा उठाउन नसकेपछि सिईओ राणा अत्तालिइरहेका छन् । तर, अहिले न त्यो कम्पनीका मालिक महोत्तरी भंगाहाका दिनेश महतोले नै कर्जा चुक्ता गर्ने कुनै प्रयास गर्छन्, न त उनलाई कर्जा दिलाउन भनसुन गरेका भुषण राणाले नै कुनै चासो राखेका छन् । यसरी सावा ब्याजसहित करिब ६० करोड रुपैंयाको ‘भनसुन कर्जा’ हिमालयन वैंकको इतिहासमै संभवतः सबैभन्दा ठूलो काण्ड बन्ने अवस्था आएको छ, जसले गर्दा यसअघि कहिल्यै बिबादमा नपरेका सिईओ राणालाई समेत बिबादमा पारेको छ ।
 

‘भनसुन’ प्रवृत्तिबाट परम्परागतरुपमै सिंगो देश नै चलिरहेको बेला बैंकिङ क्षेत्र त्यसबाट अछुतो रहन सक्ने कुरा भएन । त्यसरी प्रवाह गरिने सानो सानो कर्जामा केही समस्या भयो भने पनि बैंकहरुले ‘रिकभर’ गर्न सक्छन्, तर, ठूलो कर्जामा समस्या भयो भने बैंकहरु नै थला पर्ने अवस्था आउन सक्छ। अहिले त्यही भइरहेको छ । र, पनि बैंकहरुले चेत खाइरहेको देखिएको छैन । उनीहरु साना र मझौला कर्जामा भन्दा ठूला कर्जा प्रवाह गर्न उत्साहित हुन्छन् । जबकी समस्या ठूला र त्यसमाथि पनि ‘भनसुन कर्जा’ मै बढी छ । त्यसैले अब बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय अनुशासनलाई अझ कडाईका साथ पालना गर्दै ‘भनसुन कर्जा’ लाई नियन्त्रण गरेर साना तथा मझौला उद्यममा लगानीको लागि जोड गर्नु पर्छ । त्यसले नै बैंक तथा वित्तीय संस्थाको लागि मात्र होइन, देशको अर्थतन्त्रको लागि पनि अमृत बुटीको काम गर्नेछ ।

comments powered by Disqus

अपर तामाकोशीको शेयर १८३ रुपैयाँ ६० पैसामा नै ‘फालाफाल’

Mar 13, 2024 11:29 AM

अपर तामाकोशीको शेयर निरन्तर घटेर १८३ रुपैयाँ ६० पैसामा आइपुगेको छ । हिजो २०० रुपैयाँ भन्दा माथि कारोबार भइरहेको अपर तामाकोशीको शेयर मूल्य १० प्रतिशतले घटेर १८३ रुपैयाँ ६० पैसामा  आइपुगेको हो ।