अर्थात् महरा छोराको महत्वाकाँक्षा पूर्ति गरिदिनको लागि चिनिया सुन तस्करहरुको गिरोहसंगको सम्पर्कमा पुगेका मात्र छैनन्, आफै त्यो चंगुलमा निकै नराम्ररी फसेका छन् । जहाँबाट निस्किन सहज छैन । कथंकदाचित अदालतबाट सफाइ पाइहाले भने पनि आम नेपालीको बीचमा उनको परिचय सुन तस्करको नाइकेको रुपमा स्थापित भइसकेकाे छ र त्यो आरोपबाट उनले सम्भवत जीवन पर्यन्त मुक्ति पाउने छैनन् ।
महरा एउटा उदाहरण हुन्, खोजी गर्ने हो भने नेपाली राजनीतिमा सन्तानको स्वार्थपूर्तिको लागि आफ्नो मान, सम्मान, पद, प्रतिष्ठा सबै गुमाएका उदाहरण थुप्रै छन् । पंचायत, राणाकाल र त्योभन्दा पुरानो इतिहासको कुरा गर्नै पर्दैन, विसं २०४७ यता करिब तीन दशकको अवधिमा देश र नागरिकले आदर्श पात्र मानेका कतिपय व्यक्तिहरुसमेत समय क्रममा सन्तानको स्वार्थमा जेलिएर अपराधकर्ममा लिप्त भएर जीवनको उत्तरार्धमा आफूलाई नै सडकमै पुर्याएकाहरुको सूची लामो छ । कुनै बेला गोरखाली कांग्रेसी नेता चिरन्जिवी वाग्ले देशका प्रभावकारी नेताहरु मध्ये मानिन्थे । सन्त नेता कृष्णप्रसाद भट्राईका अनुयायी वाग्ले २०४८ देखि २०५९ को बीचमा पटक पटक मन्त्री भए । आफू सन्त नेता भट्राईको अनुयायी भए पनि उनले छोरा देवेन्द्र वाग्लेको अति महत्वाकांक्षालाई व्यवस्थापन गर्न नसक्दा एक एक पछि अर्काे गर्दै भ्रष्टाचारका काण्डहरुमा संलग्न हुन पुगे । हाल कांग्रेसको महासमितिको सदस्य रहेका वाग्लेले बाबुको नाममा मच्चाएका ब्रम्हलुटहरुको बारेमा दिनहुँ जसो संचारमाध्यम रंगिन थालेपछि अख्तियारले उनी विरुद्ध अदालतमा मुद्धा दायर गर्यो । र, विशेष अदालत हुँदै सर्वाेच्च अदालतबाट पनि उनी भ्रष्टाचारी ठहर भएपछि केही वर्ष जेल नै बसे । जेलबाट मुक्त भएपछि राजनीतिबाट अवकाश लिएका वाग्ले आफूलाई भेटन जानेहरुलाई सन्तान मोहले आफूलाई डुबाएको गुनासो गर्ने गरेको उनी निकटका व्यक्तिहरु बताउंछन्
।
छोरा प्रतिक थापाको तस्करी धन्दामा साक्षी बसेको कारण एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको राजनीतिक भविश्य माथि समेत प्रश्न उठिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त प्रतिक त हाल फरार छन् भने उपाध्यक्ष थापामाथि कति बेला के हुने हो भन्न सकिने अवस्था छैन । सोही प्रकरणमा हालमा थुनामा रहेका एमाले सचिव टोपबहादुर रायमाझी पनि छोरा सन्दिप रायमाझीको लुटलाई संरक्षण र नेतृत्व गर्दाको परिणाम भोगिरहेका छन् । टोपबहादुर र सन्दिप दुवै अहिले जेलमा छन् ।
हाल थुनामै रहेका छोरा दिपेश पुनको कारण पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन समेत कतिबेला कानुनी दायरामा आउने हुन्, आशंका कायमै छ । प्रहरी छानविनको दायरा राम्रोसंग फैलियो भने उपराष्ट्रपति नन्दबहादुर पुनसम्म पुग्न सक्ने संभावना रहेको स्वंय सरकारी अधिकारीहरु बताउंछन् । छोरी सुजाता कोइरालाको महत्वाकांक्षालाई साथ दिंदा नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइराला स्वंय भ्रष्टाचारको आहालमा डुब्न पुगे । २०४८ मा कोइराला प्रधानमन्त्री भएपछि घटेका, घटाइएका धमिजा, लाउडा लगायतका प्रायः सबै भ्रष्टाचारका काण्डहरुमा कुनै न कुनैरुपमा सुजाताको भूमिका निर्णायक रहेको देखिन्छ । सुजाताको भ्रष्ट मनोवृत्तिको कारण आफ्नो हैसियत र देशको अवस्था नै संकटमा परे पनि कोइरालाले पचाए । यदि सुजाताले आफ्नो बाबुको शक्तिलाई दुरुपयोग गरेर काण्डहरु सृजना नगरेको भए आज कोइराला बाबु छोरीलाई नागरिकले हेर्ने दृष्टिकोण त अति उच्च हुने नै थियो, देशको अवस्था पनि फरक हुने थियो ।
हाल नेकपा समाजवादीको समाजवादीको सम्मानित रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि पुत्र मोहले पटक पटक विवादमा परेका छन् । उनका छोरा निर्भिक खनाल आफै ठेक्का पट्टाको काम त गर्छन नै, बाबुको पहुँचलाई आधार बनाएर चलखेल गर्ने गरेको समाचारहरु बेलाबेलामा आउने गर्छन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरहादुर देउवा आफै विवादित पात्र त हुदैंहुन्, त्यसमाथि पछिल्लो समय उनी छोरा जयविरको आर्थिक लुटको संरक्षक बन्न थालेका समाचारहरु आइरहेका छन् ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको २०७४ सालमा असमयमै निधन भयो । तर, निधन हुनु अगाडि नै उनका अनेक काण्डहरु सार्वजनिक भइसकेका थिए । उनको निधन भएपछि अहिले प्रचण्डकी कान्छी छोरी गंगा दाहाल अनेक काण्डहरुमा मुछिरहेकी छन् । गंगाकै कारण प्रचण्डमाथि अनेक आरोप लाग्दासमेत प्रचण्ड मौन वसिरहेका छन् । पूर्व राजा ज्ञानेन्द्रका छोरा, पूर्व युवराज पारसका उद्धण्डताको बारेमा त हरेक नेपालीलाई थाहा छदैंछ । नेपालमा राजतन्त्रलाई अलोकप्रिय बनाउनमा पारसका उद्धण्ड र भ्रष्ट कृयाकलापहरुलाई मुख्य कारण मानिन्छ । त्यसो त सन्तानको मोहका कारण आफै बदनाम भएका, सत्याच्युत हुन पुगेका घटना नेपालमा मात्र होइन, विश्वव्यापीरुपमा हुने गर्छ । भ्रष्टाचारको एउटा मुख्य आधार नै शक्तिमा रहेकाहरुको सन्तान मोह हो । फरक के छ भने विकसित देशमा प्रश्न उठ्ने वित्तिकै छानबिन हुन्छ र दोषी पाइएमा हदैसम्मको कारवाही हुन्छ । नेपालमा भने नागरिकको तहबाट जति प्रश्न उठे पनि दोषि माथि छानबिन हुदैन, छानबिन भैहाल्यो भने पनि दोषी किटान गरिदैंन र किटान गरिहालियो भने पनि कारवाही गरिदैन । अपवादमा वाहेक उच्च पदस्तका भ्रष्ट सन्तानमाथि कारवाही हुदैंन ।