Ipo.aspx merolagani - लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण

लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण

May 02, 2024 03:08 PM Merolagani

साताको अन्तिम कारोबार दिन, दोस्रो बजारका लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुतर्फ आकर्षित भएका देखिएको छ। यस दिन नेप्से परिसूचक घटेपनि लघुवित्त उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ।

बिहीबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ३.४५ प्रतिशत बढेको छ। अघिल्लो दिन सर्वाधिक बढेको विकास बैंक उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.०३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १.११ प्रतिशत घटेको छ।

यस दिन शेयरमूल्य बढेका १० शीर्ष कम्पनीहरुको सूचीमा ९ लघुवित्त कम्पनीहरु रहेका छन्। जसमध्ये तीन लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समता लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विजय लघुवित्तको शेयरमूल्य ९.७१ प्रतिशत बढेको छ भने आरएसडिसी लघुवित्तको शेयरमूल्य ८.७१ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।

पछिल्ला तीन कारोबार दिनदेखि बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ७.३१ अंक घटेर १९९८.९६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६४ हजार १८१ पटकको कारोबारमा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको ९४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका कारण इन्स्योरेन्सको शेयर कारोबार बढेको हो। यस दिन पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।