Ipo.aspx merolagani - फाइनान्स कम्पनीको बिजोग, उच्च मूल्यबाट करिब ५० प्रतिशतसम्म घटे, सबैभन्दा बढी कुन घट्यो ?

फाइनान्स कम्पनीको बिजोग, उच्च मूल्यबाट करिब ५० प्रतिशतसम्म घटे, सबैभन्दा बढी कुन घट्यो ?

Sep 23, 2024 07:36 PM merolagani

शेयर बजार घट्दै जाँदा फाइनान्स कम्पनीहरू उच्च दबावमा देखिन थालेका छन्। एकै दिन १० प्रतिशतसम्म शेयर मूल्य घट्न थालेका छन्।

सोमबार मात्रै नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५९.०२ अंकले झर्दा समग्र सूचक २५२९.३३ अंकमा खुम्चियो। जसमा सबैभन्दा बढी मूल्य घट्ने कम्पनीको सूचीमा फाइनान्स अघि देखिए। गुडविल फाइनान्स र समृद्धि फाइनान्स १० प्रतिशतले घट्यो भने रिलायन्स फाइनान्स ८.६४ प्रतिशतले घट्यो। कारोबारमा आएका १५ वित्त कम्पनी मध्ये १४ कम्पनीको शेयर मूल्य घट्यो भने एक कम्पनीको मात्रै शेयर मूल्य बढ्यो। शेयर मूल्य बढ्ने कम्पनीमा नेपाल फाइनान्स छ।

सोमबार समग्र फाइनान्स कम्पनीको सूचक ५.५६ प्रतिशतले घट्यो। केही दिनदेखि दबावमा देखिन थालेका फाइनान्समा सोमबार राम्रै प्रेसर देखियो। यस अघि फाइनान्स कम्पनीलाई चलाउँदै आएका ठुला लगानीकर्ताले पुरै हात झिकिदिएपछि फाइनान्समा दबाव देखिएको  छ। अझै फाइनान्समा सम्भावना देखेका ठूला लगानीकर्ताले शेयर मूल्य थेग्ने प्रयास गरिरहेको बताइएको छ। जुन फाइनान्सको मूल्य थेग्न खोजिएको छ। त्यसकाे मूल्य अझै पनि माथि नै रहेको भएपनि अरू फाइनान्स कम्पनीबाट भने खेलाडीले सोमबार पुरै हात झिके। “पछिल्लो समय फाइनान्स कम्पनीलाई चलाउँदै आएका खेलाडीले हात उठाएका छन्। जसले गर्दा सबै फाइनान्सको शेयर मूल्य सोमबार घटेका हुन्। नेपाल फाइनान्सको शेयर भने अझै बिक्री गरी सकिएको छैन। आज पनि चार लाख कित्ता सेलमा देखिएको थियो। जसको कारण उसको मूल्य अझै स्थिर राख्ने प्रयास भयो। सोही कारण आज उसको मूल्य अन्तिम समयमा पाँच प्रतिशतले बढाइयो,” एक ब्रोकर कम्पनीका सञ्चालकले भने।

सोमबार दीपेन्द्र अग्रवालले ब्रोकर कम्पनीलाई दिएको चेक लिएर फरार भएको खबरले पनि सोमबार फाइनान्स समूहमा प्रेसर परेको बताइएको छ। “आज एकाएक दीपेन्द्र अग्रवालले सप्लालाई दिएको चेक लिएर फरार भएको समाचार बाहिरियो। फाइनान्सकै मसिहा भागेको भन्ने खबर व्यापक हुन पुग्यो। जसले गर्दा लगानीकर्ता एकाएक अत्तालिए। जसले गर्दा पनि आज सेलिङ प्रेसर पर्‍यो,” ती ब्रोकरले भने।

पछिल्लो समय फाइनान्स कम्पनीहरूको मूल्य करिब ५० प्रतिशतसम्म घटेका छन्। समग्र फाइनान्सको सूचक ३०.९४ प्रतिशतले घट्दा सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा नेपाल फाइनान्स सबैभन्दा अघि छ। उसको उच्च मूल्यबाट सोमबारसम्म ४५.७० प्रतिशतले घटेको छ। दोस्रो घट्ने कम्पनीको सूचीमा गुडविल फाइनान्स छ। उसको मूल्य ४२.१३ प्रतिशतले घटेको छ। 

comments powered by Disqus