आइतबार नेप्से परिसूचक ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेकस ०.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत साताको अन्तिम कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ५४ हजार ३६१ पटकको कारोबारमा ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। दोस्रो बजारमा कारोबारमा आएदेखि यी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र बाराही हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ४४ करोडको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब ४४ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४० प्रतिशत घटेको छ।