Ipo.aspx merolagani - निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

Apr 17, 2025 03:25 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला २ कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक २६.४९ अंक बढेर २७२२.७३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ९० हजार ५५५ पटकको कारोबारमा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँबराबरको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य यस दिन सर्वाधिक ४.७९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ६२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५० करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहकाे परिसूचक बढेकाे छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहकाे परिसूचक भने सामान्य घटेकाे हाे।

comments powered by Disqus