निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको गत चैत्र २५ गतेको बिदाईपछि केन्द्रीय बैंकले जेठ ७ गते मात्रै नयाँ गभर्नर पायो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका डा. विश्व पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरको रुपमा सरकारले नियुक्ति दिँदा शेयर बजार भने ७ दशमलब १८ अंकले घटेर नेप्से परिसूचक २६ सय ६९ दशमलब ५१ विन्दुमा बन्द भयो । केन्द्रीय बैंकको गभर्नर हुने समाचार मात्रैले पनि मंगलबार भने शेयर बजारमा झन्डै आधा सेन्चुरीको वृद्धि देखिएको थियो ।
बुधबार गभर्नरले पदभार ग्रहण गरेसँगै खुलेको बजार शुरुको केही मिनेटमै २७ सय ७१ को उच्चविन्दुसम्म पुगेको थियो तर त्यो बढाई ५ मिनेट पनि नटिकी निरन्तर घट्दै गएर अन्तिममा भने ७ दशमलब ९४ अंकले घटेर २६ सय ६९ दशमलब ५१ विन्दुमा बजार बन्द भयो । यो दिन ८८ हजार १ सय २१ कारोबारमा १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँ बराबरको २ करोड ३० लाख २६ हजार २ सय ४५ कित्ता शेयर कारोबार भयो । वाणिज्य बैंक, विकास बैंक र म्युचुएल फन्ड समूहबाहेक सबै उपसमूह रातो नै भयो ।
गभर्नर नियुक्ति भएलगत्तै डा.पौडेलले बैंक तथा वित्तीय संस्थाको नियमन भन्दा सुपरिवेक्षणमार्फत वित्तीय क्षेत्र स्थायित्व कायम गर्ने बताए भने शेयर बजारको विकास र लगानीकर्ताको मनोबल बढाउने दिशामा काम गर्ने प्रतिक्रिया दिए । उनको सकारात्मक प्रतिक्रियाका बाबजुद शेयर बजार भने बुधबार घट्न पुग्यो ।
महाप्रसाद अधिकारी (२०७६ चैत्र २४–२०८१ चैत्र २४)
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको समयमा कोरोना महामारीका कारण देश आक्रान्त थियो । उनी २०७६ साल चैत्र २५ गते गभर्नरको पदबहाली गर्दा कोरोना महामारीका कारण देश लकडाउनमा थियो त्यसकरण सो दिन शेयर कारोबार समेत ठप्प थियो । चैत्र १० गतेदेखि बन्द भएको शेयर कारोबार एकैचोटी बैशाख ३० गते मात्रै खुला भएको थियो । अधिकारी गभर्नर भएपछिको पहिलो कारोबार भने २५ दशमलब ३० अंकले घटेर १२ सय २६ दशमलब १६ विन्दुमा पुगेको थियो ।
गभर्नर भएपछिको पहिलो शेयर कारोबार दिन शेयर बजार घटे पनि अहिलेसम्म उनकै कार्यकालमा शेयर बजारले उच्च विन्दु कायम गरेको रेकर्ड छ । २०७८ भदौ २ गते शेयर बजारले अहिलेसम्मकै उच्च विन्दु ३१ सय ९८ दशमलब ६० विन्दु कायम गरेको थियो सो दिन २१ अर्ब १६ करोड रुपैयाँको उच्च कारोबार भएको थियो ।
अधिकारीको गभर्नर कार्यकाल पहिलो दुई वर्ष शेयर बजार बुलमा नै रह्यो । ठप्प रहेको अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकले सहुलियत दरमा कर्जा दिने लगायतका नीतिहरु ल्याए । बैंकहरुलाई पनि पुनकर्जा दिन लगाए । फलस्वरुप बजारमा धेरै नै ऋण प्रवाह भए । सस्तो व्याज दरमा आएको रकम अर्थतन्त्र ठप्प रहेको बेला शेयर बजारमा लगाए । शुरुमा एकदमै सुस्त रहेको र बजार मूल्य पनि अंकित मूल्य भन्दा तल रहेको हाइड्रोपावर कम्पनीहरुले तानेको बजार अन्ततः ३२ सय हारारहारीको उच्च विन्दुमा पुग्यो ।
अर्थतन्त्र नै ठप्प रहँदा पनि शेयर बजार उच्च विन्दुमा पुगेको गुनासो बढेपछि राष्ट्र बैंकले ४–१२ करोडको नीति ल्यायो । एक बैंकबाट ४ करोड र प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्रै ऋण लिन पाउने नीति राष्ट्र बैंकले लिएपछि शेयर बजारमा विस्तारै गिरावट आउन थाल्यो । झन त्यसमाथि बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा अल्पकालीन कारोबारमा रोक लगाउँदै १ वर्ष भन्दा माथिको दीर्घकालीन लगानी मात्रै गर्न पाउने व्यवस्था पछि भने शेयर बजार दुर्त गतिमा घट्न थालेको हो । महाप्रसाद अधिकारीकै समयमा शेयर बजार ३२ सयको उच्च विन्दुबाट १८ सयको न्यून विन्दुसम्म पनि बजार पुगेको थियो भने उनले गभर्नरबाट बिदा हुने बेलासम्म बजार २६ सय ७० अंकमा थियाे । उनी बिदा भएको चैत्र २५ गते समेत शेयर बजारमा ३३ दशमलब ३३ अंकको गिरावट आएर बजार २६ सय ७० दशमलब शून्य ६ अंकमा थियाे।
डा. चिरञ्जीवी नेपाल (२०७१ चैत्र ५–२०७६ चैत्र २४)
नेपाल गभर्नर भएपछिको पहिलो कारोबार चैत्र ८ गते ११ दशमलब शून्य ३ अंकले घटेर नेप्से परिसूचक घटेर ९५६.५९ विन्दुमा पुगेको थियो । उनी बिदाई हुँदा ताका कोभिड महामारी भएको कारण शेयर कारोबार भएन । कोरोना महामारी शुरु भएर लकडाउनकै बीचमा उनको कार्यकाल सकियो । उनी बिदा हुनु अगाडि २०७६ चैत्र ९ मा शेयर बजार १२ सय ५१ दशमलब ४६ विन्दुमा थियो । सो दिन बजार १७ दशमलब ८५ विन्दुले घटेको थियो । तर उनको कार्यकालमा शेयर बजारले १८ सय ८१ दशमलब ४५ को उच्च विन्दु कायम गरेको थियो । २०७३ को साउन १० गते गभर्नर नेपालको कार्यकालकै उच्च विन्दुमा पुगेको थियो ।
नेपाल राष्ट्र बैंकको गभर्नर हुनु अगाडि करिब २ वर्ष नेपाल धितोपत्र बोर्ड अध्यक्ष भएर समेत काम गरेका नेपालमा शेयर बजारप्रति लगाव थियो । उनी गभर्नर पदावधिकै समयमा नेपालमा २०७२ सालमा ठूलो भुकम्प आयो । बैंकहरुको पुँजी आधार कमजोर रहेको ठहर गर्दै उनले एकैपटक बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४ गुणाले वृद्धि गर्ने नीति लियो । तत्कालीन समयमा वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँ थियो । २ वर्षको समयसीमा तोकेकार बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने भएपछि त्यस बेला वाणिज्य बैकहरुको शेयर हट केक बन्यो । १ सयदेखि २ सय रुपैयाँमा कारोबार भइरहेको वाणिज्य बैंकको शेयर एकाएक बढेर १ हजारदेखि २ हजारको बीचमा हुन थाल्यो । कारोबार रकम समेत १ अर्बको हाराहारीमा हुन थाल्यो ।
तत्कालीन समयमा चुक्ता पुँजी बढाउन राष्ट्र बैंकले लिएको नीतिको फलस्वरुप शेयर बजारमा बुल आयो । बैंकहरुले बोनस शेयर, हकप्रद शेयर दिएर चुक्ता पुँजी बढाए । अहिले सोही अत्यधिक चुक्ता पुँजीकै कारण बैंकहरुको शेयर मूल्य सबैभन्दा न्यून विन्दुमा पुगेको बजारका जानकारहरु बताउँछन् । पुँजीमा न्यून प्रतिफल र अत्यधिक शेयर आपूर्तिका कारण वाणिज्य बैंकको शेयर बढ्न नसकेको तिनीहरुको कथन रहेको छ ।
डा. युवराज खतिवडा (२०६६ चैत्र ९–२०७६ चैत्र ५)
२०६५ सालको तत्कालीन शेयर बजारले ११ सय ७५ को उच्च विन्दु बनाइसकेपछि नियुक्त भएका गभर्नर हुन डा. युवराज खतिवडा । खतिवडा पछि नेकपा एमालेको सरकारको पालामा सरकारको अर्थमन्त्री समेत भए । उनी गभर्नर हुँदा शेयर बजारप्रति अनुदार नीति लिए । उनकै पालामा घर जग्गा कर्जा र शेयर कर्जामा कडाई गरियो । उनले कुनै कम्पनीको १८० कारोबार दिनको शेयर मूल्यको औसतको ७० प्रतिशतसम्म मात्रै मार्जिन कर्जा दिने नीति लियो भने घरजग्गा कर्जामा पनि एकदमै कठोर नीति लियो । शेयर बजार र घरजग्गा कर्जामा लिएको कठोर नीतिको कारण तत्कालीन समयमा बैंकहरु संकटग्रष्ट हुनबाट बचेको विश्लेषण गर्ने गरिन्छ । तर मार्जिन कर्जामा लगाइएको राष्ट्र बैंकको कडा नीतिको कारण उनको समयमा शेयर बजाले तत्कालीन ११ सय ७५ को उचाई कहिल्यै छुन सकेन । उनी गभर्नर हुँदा नेप्से परिसूचक ३ दशमलब ९६ अंकले घटेर ४ सय ६८ दशमलब ८६ विन्दुमा रहेकोमा उनी गभर्नरबाट हट्दा अर्थात २०७१ चैत्र ८ मा बजार ९ सय ५६ दशमलब ५९ विन्दुमा थियो । उनको कार्यकालभरिमा नेप्से परिसूचक सबैभन्दा उच्च १ हजार ८० सम्म पुगेको थियो ।