Ipo.aspx merolagani - बैंक र व्यवसायी छुट्टाउने विषयले शेयर बजार तरङ्गित, बैंक वित्तीय संस्थाको शेयरमा प्रेसर

बैंक र व्यवसायी छुट्टाउने विषयले शेयर बजार तरङ्गित, बैंक वित्तीय संस्थाको शेयरमा प्रेसर

Jun 04, 2025 06:00 AM merolagani

सुवास निरौला

मंगलबार शेयर बजारमा पहिरो गयो। शेयर बजारमा फराकिलो अंकको पहिरो जानुमा बैंक र व्यवसायी छुट्टाउने विषयलाई प्रमुख कारणको रुपमा लिइएको छ।

सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयकमाथि संसद्को अर्थ समितिले छलफल राखेको थियो। जसमा राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बैंक र व्यवसायी छुट्टाउनै पर्ने मत जाहेर गरे। जसले गर्दा मंगलबार शेयर बजार तरङ्गित भएको निष्कर्ष निकालिएकाे छ। “मंगलबार शेयर बजार घट्नुको मुख्य कारण नै बैंक र व्यवसायी छुट्टाउने विषय बन्यो,” स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष सन्तोष मैनालीले मेरो लगानीसँग भने।

मंगलबार शेयर बजार फराकिलो अंकले घटे पनि त्यो स्थिर भने नहुने अनुमान गरिएको छ। किनकि बैंक र व्यवसायी छुट्टिएरै आए पनि त्यसले दोस्रो बजारमा भने खासै फरक नपार्ने निष्कर्ष मैनालीको छ। “बैंक र व्यवसायी छुट्टाउने विषय नेपालको परिपेक्षमा निक्कै जटिल विषय हो। ल एक छिनलाई छुट्टिएरै आयो  भन्ने मानौँ त्यसले के फरक पार्छ ? केही पनि पार्छ जस्तो मलाई लाग्दैन। किनकि व्यवसायीले बैंक छोड्नु पर्ने अवस्था आयो भने पनि उनीहरूले संस्थापक शेयर बिक्री गर्ने हो। संस्थापक शेयरको मूल्य बेग्लै हुन्छ र कारोबार पनि। साधारण शेयर त थपिँदैन। वा बिक्रीमा आउने होइन। त्यसकारण यसलाई फण्डा बनाएर शेयर मूल्य घटाउने मात्रै काम भएको हो। अरू केही होइन,” मैनालीले भने।

दोस्रो बजार निक्कै संवेदनशील बजार हो। कुनै पनि विषयले शेयर बजारको सूचकलाई घट्न र बढ्न टेवा दिने गर्छ। सोही अनुरूप मंगलबार शेयर बजारलाई फराकिलो अंकले घट्न सहयोग गर्‍यो। त्यसमा पनि बैंक वित्तीय संस्थाका शेयरमा सबैभन्दा बढी प्रेसर पर्‍यो। मंगलबार सबैभन्दा बढी वाणिज्य बैंकहरुको उपसूचक घट्यो। वाणिज्य बैंकहरुको उपसूचक मात्रै २.२४ प्रतिशतले घट्यो। विकास बैंक समूहका पनि १.२९ प्रतिशतले घट्यो भने वित्त समूहको उपसूचक ०.७४ प्रतिशतले घट्यो। उता लघुवित्त समूह पनि १.१५ प्रतिशतले खुम्चियो।

वाणिज्य बैंक पछि सबैभन्दा बढी घट्ने समूहमा होटेल पर्‍यो। उसको उपसमूह २.०५ प्रतिशतले घट्यो। बैंक वित्तीय संस्थाको शेयरमा उच्च गिरावट आउँदा होटेल समूह पनि त्यसै झड्काले घट्न पुग्यो। जबकि होटेल समूहको लागि बजेटले निक्कै राम्रो नीति अघि सारेको छ। होटेल क्षेत्रलाई उद्योग सहर मान्यता दिएपछि लगानीकर्ताको आकर्षण यस क्षेत्रमा हुन्छ भन्ने अपेक्षा गरिएको थियो। तर त्यसले मंगलबार कुनै काम गरेन। बरु बढ्नु पर्ने ठाउँमा उल्टै होटेल समूहका कम्पनीको शेयर मूल्य उच्च गतिले घट्न पुगे।

 

बजेट पछि शेयर बजार बढ्ने अपेक्षा गरिएको थियो। तर। शेयर बजारले पुरानै ट्रेन समायो। विगतका बर्षहरूमा पनि शेयर बजार बजेट पछि घट्ने र मौद्रिक नीति नजिकै गएपछि बढ्ने गरेको थियो। सोही अवस्था अहिले पुनः दोहोरिएको छ। त्यसकारण लगानीकर्ताले अहिलेको घट्दो अवस्थालाई भने खासै वास्ता नगरेर बरु घटेको समयमा शेयर किन्ने अवसरको रुपमा प्रयोग गर्नु पर्ने एक लगानीकर्ता बताउँछन्। “अघिल्ला वर्षहरूमा पनि बजेट पछि शेयर बजार घटेका प्रशस्त उदाहरण छन्। बजेट पछि शेयर बजार घट्ने तर मौद्रिक नीति नजिकिँदै गएपछि बढ्ने गर्छ। त्यसकारण अहिले ७२ घण्टाको लागि शेयर किन्ने भन्दा पनि मौद्रिक नीति टार्गेट गरेर शेयर किन्ने क्रम बढाउनेले नाफा गर्न सक्छ। अहिले त्यही भइरहेकोले लगानीकर्ताले अत्तालिएर शेयर बिक्री नगर्दा नै बेस हुन्छ,” ती लगानीकर्ताले भने।     

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।