Ipo.aspx merolagani - जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्दै हिम स्टार उर्जा कम्पनी

जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्दै हिम स्टार उर्जा कम्पनी

Jun 06, 2025 06:57 AM Merolagani

हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गा.विस वडा नं. १, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १३ गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ५ मेगावाटको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २७.७ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा, ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, बिक्री प्रबन्धकको वेभसाइट मा गई पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।