केही दिनको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसरी ‘हाई प्रोईफाइल’हरु विरुद्ध भ्रष्टाचारको मुद्दा लगाइरहेको छ, त्यसले नेपालको अर्थराजनीतिक जगतमा खैलाबैला नै मच्चिएको छ ।
कवि भूपी शेरचनको भाषामा ‘हल्लै हल्लाको देश’ नेपालमा अख्तियारका पछिल्ला गतिविधिमा पनि राजनीतिक षडयन्त्र देख्नेहरुको संख्या सानो छैन । तर, आगामी माघसम्म कार्यकाल रहेका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले जसरी अहिले भ्रष्टाचारका मुद्दाहरु छानिबन गर्दै ‘हाई प्रोफाइल’ भनिएकाहरु विरुद्ध एकपछि अर्काे गर्दै मुद्दा दर्ता गरिरहेका छन, त्यसले सुशासनको क्षेत्रमा काम गर्नेहरुको लागि पनि आश जगाइदिएको छ ।
सूर्यनाथ उपाध्यायको बाटो समात्दै अगाडि बढेका राईले ‘ठूला माछा समात्ने अभियानमा’ उपाध्यायलाई पनि जितेका छन् । अहिलेसम्म अख्तियारको नेतृत्व गरेका ११ जना मध्ये उपाध्याय र राई मात्रै त्यस्ता प्रमुख आयुक्त हुन्, जसले ‘हाई प्रोफाइल भ्रष्ट’हरुको अड्डामा धावा बोले ।
२०५७ कार्तिक १८ गते २०६३ कार्तिक १७ गतेसम्म प्रमुख आयुक्त भएका उपाध्यायले २०५९ मा राजश्व प्रशासनका २२ जना उच्च अधिकारीलाई एकै रात समातेर खैलाबैला मच्चाएका थिए । समयक्रममा ती मध्ये अधिकांशले अदालतबाट पनि सजाय पाए । धेरैलाई विशेष अदालतले नै भ्रष्टाचारी भएको भन्दै दण्डित गर्यो, त्यहाँबाट सफाइ पाएका केहीलाई सर्वाेच्च अदालतले दण्डित गर्यो ।
उपाध्यायकै समयमा अख्तियारले त्यतिबेलाका शक्तिशाली मानिएका जयप्रकाश गुप्ता, चिरन्जिवी वाग्ले, खुमबहादुर खड्का जस्ता नेताहरुलाई अकुत सम्पत्तिको मुद्दामा कारवाही गर्यो, मुद्दा चलायो । त्यतिबेला उनीहरु विरुद्ध अख्तियारले मुद्दा दर्ता गर्दा पनि खासरि कांग्रेस निकट नेता कार्यकर्ताहरुले उपाध्यायलाई एमाले भएकोले कांग्रेस नेताहरुलाई छानीछानी कारवाही गरेको हल्ला फैलाएका थिए । जबकी त्यो आरोपको पुष्टि कहिल्यै हुन सकेन ।
अहिले पनि खासगरि पूर्वप्रधानमन्त्री माधव नेपाल माथि मुद्दा दायर गरेपछि कतिपयले त्यसलाई प्रधानमन्त्री केपी ओलीले साँधेको प्रतिशोध भनिरहेका छन्, तर त्यसको तथ्यपरक आधार भने दिन सकेको देखिदैंन । अर्थात् जब आफ्ना मान्छेहरु माथि अख्तियारले कारवाही गर्छ, समर्थक सुभचिन्तकहरुले त्यसलाई अरु कसैको ‘षडयन्त्र’ देख्नु नेपालमा मात्र विश्वभरकै राजनीतिको साझा चरित्र हो भन्दा फरक पर्दैन ।
स्मरणरहोस् वि.सं. २०३४ मंसिर १३ गतेदेखि काम गर्न थालेको अख्तियारको पहिलो प्रमुख आयुक्त अनिरुद्र प्रसाद सिंह तथा त्यसपछि क्रमशः बासुदेव शर्मा, जनार्दन मल्लिक, राधारमण उपाध्याय, रामप्रसाद श्रेष्ठ, मधूसुदन प्रसाद गोर्खाली, सूर्यनाथ उपाध्याय, लोकमानसिंह कार्की, दीप बस्न्यात र नवीनकुमार घिमिरे प्रमुख आयुक्त बनेका थिए । तर, अहिलेका राई र सूर्यनाथ उपाध्यायले जस्तो भ्रष्टाचार विरुद्ध आक्रामकरुपमा काम भने अरु आयुक्तको समयमा हुन सकेन ।
राई नेतृत्वको अख्तियारले केही समयअघि नेपालको इतिहासमा पहिलोपटक बहालवाला मुख्य सचिव डा. अर्याललाई भ्रष्टाचारमा मुद्दा दायर गरेको केही समयपछि पूर्वप्रधानमन्त्री नेपाल विरुद्ध पनि मुद्दा दायर गरेर बदनियतपूर्ण काम गर्नेहरु जति उच्च पदमा भए पनि एक न एक दिन कारवाहीको दायरामा आउनेछन् भन्ने संकेत दिएको छ । अहिले देशको अवस्थाबाट चौतर्फीरुपमा निराशा फैलिएको बेला अख्तियारले देखाएको पछिल्लो सक्रियताले केही आशा देखाएको छ ।