उक्त कर हट्नपर्ने माग गर्दै न्यूरोडका व्यवसायीले पसल बन्द गरी सांकेतिक विरोधमा उत्रिएका हुन्।
यही जेठ २९ र ३० गते सुन पसल बन्द गरी सांकेतिक विरोध जनाइएको न्यूरोडका सुन व्यवसायी सुन्दर बज्राचार्य बताउँछन् । सरकारले सुन तथा सुनका गहनमा खरिदमा २ प्रतिशत विलासिता कर लगाउने निर्णय गरेको छ । त्यस्तै हिराजस्ता वस्तुमा पनि १३ प्रतिशत भ्याट लगाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।
उनका अनुसार, २ प्रतिशत बिलासिता कर पनि तीन वटा तहमा खरिद हुँदा ६ प्रतिशत बिलासिता कर थपिँदा सुन तथा सुनका गहनाहरु महंगो हुने र उपभोक्ता मूल्य पनि बढ्ने हुँदा सुनको कारोबार नै घट्ने देखिएको उनी बताउँछन् ।
होलसेल सुन पसलमा २ प्रतिशत, होलसेल सुन पसलबाट खुद्रा सुन पसलमा २ प्रतिशत र खुद्रे सुन पसलबाट उपभोक्तामा जाँदा पनि २ प्रतिशत गरी ६ प्रतिशत बिलासिता करले सुनको कारोबार नै नहुने अवस्था सिर्जना भएको उनले बताए ।
दुई दिन न्यूरोडका सुन पसल बन्द गरेर सांकेतिक विरोध गरिएको उनले बताए । खासगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी तथा रत्न आभूषण र नेपाल हस्तकला महासंघका व्यवसायीले सरकारको यो कदमप्रति संयुक्त रुपमा देशव्यापी आन्दोलन गर्ने बताइरहेका छन् ।
दुई दिनको सांकेतिक विरोध पछि पुनः चरणबद्ध आन्दोलनका क्रममा घोषणा गरिने बज्राचार्यले मेरो लगानीलाई बताए ।