”सर बुटवल पावर कम्पनीको बुक भ्यालु सबैभन्दा बढी दुई सय रहेछ। नेप्सेले नै बुक भ्यालुको तीन गुणा रेन्ज तोक्छ। त्यस हिसाबले हेर्दा पनि कम्पनीको बुक भ्यालु अनुसार कम्तीमा पनि ६ सय मूल्य हुनु पर्ने हो। तर अहिले बजारमा चार सयमा पाइरहेको छ। के यो शेयर किन्दा ठिक हुन्छ ? ”
भट्टराईले सोधेको प्रश्नको उत्तर ब्रोकर कम्पनीका सञ्चालकले हाँस्दै यसरी दिए "सबै कम्पनीको बुक भ्यालुको तीन गुणा मूल्य हुने भए अहिले जति पनि वाणिज्य बैंकको शेयर मूल्य छ। ती सबैको मूल्य आजको दिनमा डबल हुनु पर्ने हो। त्यस कारण बुक भ्यालु बढी हुँदैमा कम्पनीको मूल्य तय हुँदैन। चुक्ता पूँजीको आधारमा मूल्य तय हुने ट्रेन्ड अहिले छ। त्यसकारण बुटवल पावर कम्पनी बुढो कम्पनी हो। अहिले बुढा कम्पनीको ट्रेन्ड नै छैन। अहिले नयाँ र लकिङ पिरियड नखुलेका जलविद्युत कम्पनीको बढी ट्रेन्ड देखिन्छ। त्यसकारण बुढा कम्पनी किनेर लामो समय पैसा होल्ड गर्नु भन्दा नयाँ कम्पनीमा लगाउँदा अलि बढी नाफा होला कि।”
ब्रोकर कम्पनीका सञ्चालक र भट्टराईको प्रश्न उत्तर सकियो। ब्रोकर कम्पनीका सञ्चालकले दिएको जबाफले गर्दा भट्टराईलाई बुटवल पावरको शेयर नकिनौँ भन्ने लाग्यो। तर समीरलाई अर्को मनले आफ्नो मनले भनेको कुरा गर्नु पर्छ भन्ने लाग्यो। उनले चार सय भन्दा तल धेरै समय नरहने गरेको देखेर उनले आखिरकार बुटवलको शेयर किनेरै छाडे। तर निक्कै दिनसम्म मूल्य बढेन। त्यस बेला भट्टराईलाई लाग्यो ब्रोकर कम्पनीका सञ्चालकले ठिकै सल्लाह दिएका थिए। तर म आफै अलि बढी बाठो भए। तर पनि उनले अझै एक महिना कुर्ने निर्णय गरे। जुन निर्णय अहिले आएर सही साबित हुँदै गएको छ। भट्टराईले अझै होल्ड नै गरिरहेका छन्।
हो दुई महिना अघिसम्म बुढा कम्पनी भनेर बुटवल पावर जस्तै चिलिमे पनि हेपाइमा पर्दै आइरहेको शेयर हो। तर अहिले तिनै बुढा कम्पनीको शेयरमा चमक देखिन थालेको छ। गएका केही दिन यता तिनै कम्पनीमा लगानीकर्ताको सबैभन्दा बढी आकर्षण देखिन थालेको छ। बुटवल पावर कम्पनीको शेयर मूल्य चार सय प्रति कित्ता आसपास देखि बढ्न सुरु गरेर बुधवार ७६१ रुपैयाँमा बन्द भयो। बुधवार पनि कम्पनीको मूल्य झण्डै १० प्रतिशतले बढ्यो। होल्डिङ कम्पनी र उनीहरूले लगानी गरेका कम्पनीको शेयर बेचेर कम्पनीले अझै बढी नाफा बनाउँछ भन्ने हल्लाले शेयर मूल्य बढ्न थालेको कम्पनीको मूल्य एक महिनाको अन्तरालमा झण्डै डबल हुने अवस्थामा छ। होल्डिङ कम्पनीले शेयर बिक्री गरेर नाफा बढाउँछन् भन्दा भन्दै लगानीकर्ताको मानसिकता नै यही कम्पनीको मूल्य नै बढ्ने रहेछ भन्ने भइसकेको छ। जस कारण कम्पनीको मूल्य हरेक दिन बढिरहेको छ। त्यसैलाई पछ्याउँदै चिलिमेको शेयरमा पनि चमक देखिन थालेको छ। तर जसरी एक महिनाको अन्तरालमा नै कम्पनीको मूल्य डबल हुँदै गर्दा जोखिम पनि त्यति नै बढ्दै गइरहेको अनुमान अर्काथरि लगानीकर्ताले गरिरहेका छन्। जसले गर्दा बढेको बबल कुनै पनि दिन ब्लाष्ट हुन सक्ने खतरा बढ्दै गइरहेकोले अलिकति सतर्क हुनु पर्ने सुझाव ती लगानीकर्ताहरूको छ। तर स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्षको टिप्पणी भने अलि फरक छ।
“सबैभन्दा पहिले दोस्रो बजारमा कुन कम्पनीको मूल्य कति हुनु पर्ने हो भनेर कसैले पनि भन्न सक्दैन। त्यो बजारले नै निर्धारण गर्ने हो। दुई सय ५० रुपैयाँको नेपाल फाइनान्सको मूल्य २६ सयसम्म यही बजारमा तय भएको हो। जसको फण्डामेन्टल आधारले कहीँ कतै सपोर्ट गर्ने स्थिति थिएन। तैपनि बजारमा त्यति धेरै मूल्य तय भएकै हो। त्यसकारण कम्पनीको मूल्य बजारले नै तय गर्छ। तर बजारमा बेला बेलामा एक किसिमको ह्विम चल्छ। अहिले होल्डिङ कम्पनीले लगानी गरेको शेयर बिक्री गरेर नाफा बढाउँछन् भन्ने ह्विम छ। जसले गर्दा बुटवल लगायत पुराना कम्पनीमा लगानीकर्ताको आकर्षण छ। एक किसिमले त्यसलाई नराम्रो पनि भन्न मिल्ने अवस्था छैन। किनकि फण्डामेन्टले कहीँ कतै सपोर्ट नगर्ने कम्पनीको शेयर मूल्य उचालिनु भन्दा हरेक वर्ष लाभांश बाँड्दै आएका फण्डामेन्टली स्ट्रङ् कम्पनीको मूल्य बढ्नु बजारको लागि पनि राम्रो हो। त्यसले लगानीकर्तामा परिपक्वता आएको सङ्केत पनि गर्छ। यस्तै गरी लाभांश दिने र फन्डामेन्टल्ली राम्रो भएका कम्पनी बढ्दा अरू अण्डर भ्यालु भएका कम्पनीमा लगानीकर्ता सिफ्ट हुन सक्छन्। जसले बजारमा राम्रा कम्पनी तर्फ मात्रै लगानी गर्ने प्रेरित गर्छ। जुन बजार र लगानीकर्ता दुवैको लागि फाइदा जनक हुन्छ। तर लगानी गर्नु पूर्व लगानीकर्ताले आफैले निर्णय गर्नु पर्छ। ”