Ipo.aspx merolagani - नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

Jun 19, 2025 03:20 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक २४.७६ अंक घटेर २६२८.९१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ९ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको १ लाख २१ हजार ५५१ पटकको कारोबारमा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। अघिल्ला १२ कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको पियोर इनर्जीको शेयर यस दिन भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १२० रुपैयाँ ६८ पैसा घटेर १ हजार ८६ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८५ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ५८ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिंगटी हाइड्रो इनर्जीको करिब ४८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशाेधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

comments powered by Disqus