Ipo.aspx merolagani - वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष कमाए ७१ अर्बभन्दा बढी नाफा, नबिल बैंकको सबैभन्दा बढी

वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष कमाए ७१ अर्बभन्दा बढी नाफा, नबिल बैंकको सबैभन्दा बढी

Aug 15, 2025 07:16 AM Merolagani

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार सो अवधिसम्ममा बैंकहरुको कुल नाफा ७१ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

सोही विवरण अनुसार गत आर्थिक वर्षको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.९७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकहरुले ४९ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।

 

नबिल बैंकको नाफा सबैभन्दा बढी

रकमका आधारमा २० वाणिज्य बैंकहरुमध्ये गत वर्ष नबिल बैंक लिमिटेडले सर्वाधिक नाफा कमाउन सफल भएको छ। सो बैंकले गत असार मसान्तसम्ममा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष पनि बैंकले अन्य बैंकहरुभन्दा बढी नाफा कमाउन सफल भएको थियो।

चौथो त्रैमासको अन्त्यसम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्ममा सबैभन्दा कम नाफा कमाउने बैंक भने एनआईसी एशिया बैंक रहेको छ। सो बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

नाफा वृद्धिदर कुमारी बैंकको धेरै

हालै प्रकाशित वित्तीय विवरण अनुसार कुमारी बैंकको नाफा वृद्धिदर सबैभन्दा बढी देखिएको छ। अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण परिमार्जन गरी प्रकाशित गरेको यस बैंकको नाफा वृद्धिदर ४५ हजार ८२१ प्रतिशत देखिएको छ। त्यस्तै, कुमारीबाहेक प्रभु बैंक र नेपाल बैंकले पनि अघिल्लो आर्थिक वर्षको तथ्यांक परिमार्जन गर्दा नाफा वृद्धिदर उल्लेख्य देखिएको छ।

४ बैंकको नाफा घट्यो

समीक्षा अवधिमा ४ वाणिज्य बैंकहरुको नाफा भने घटेको छ। प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकको नाफा घटेको हो। जसमध्ये एनआईसी एशिया बैंकको नाफा सबैभन्दा बढी ७६.९७ प्रतिशत घटेको छ।

comments powered by Disqus

अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।