Ipo.aspx merolagani - बजारमा ओइरिँदैछन् करोड कित्ता माथिका मेगा आइपीओ, के सर्वसाधारणले ढुक्कै शेयर पाउलान ?

बजारमा ओइरिँदैछन् करोड कित्ता माथिका मेगा आइपीओ, के सर्वसाधारणले ढुक्कै शेयर पाउलान ?

Jun 23, 2026 08:32 AM Merolagani

नेपाली शेयर बजारमा प्राथमिक शेयर पर्नु भनेको भाग्यकै परीक्षा दिनु सरह बनेको छ। डिम्याट खाता खोल्नेहरूको संख्या ६० लाख नाघिसक्दा पनि बजारमा आउने आइपीओ भने केही लाख कित्तामा सीमित हुने गरेका छन्। 

जसका कारण दश कित्ते नीतिले मात्र बजार धानेको छ र आम सर्वसाधारणले जहिले पनि चिठ्ठाकै भर पर्नुपर्ने सास्ती भोगिरहेका छन्। यो निराशाजनक अवस्थामा लगानीकर्ताहरूका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १ करोड कित्ताभन्दा बढी निष्काशन संख्या भएका एक दर्जनभन्दा बढी शक्तिशाली कम्पनीहरू स्वीकृतिको पर्खाइमा छन्। यी मेगा आइपीओहरू बजारमा आउनासाथ सर्वसाधारणले थोरै भए पनि सुनिश्चित कित्ता शेयर हात पार्ने बलियो सम्भावना देखिएको छ।

पछिल्लो समय जलविद्युत, उत्पादनमूलक, लगानी र अन्य क्षेत्रका बलिया कम्पनीहरूले ठूलो परिमाणमा शेयर निष्काशनको तयारी अन्तिम चरणमा पुर्याएका छन्। जलविद्युत क्षेत्रमा मात्रै ४ वटा ठूला कम्पनीहरूले अर्बौँको शेयर बोकेर पाइपलाइनमा बसेका छन्। यसमा सबैभन्दा ठूलो परिमाण सिउरी न्यादी पावर लिमिटेडको रहेको छ, जसले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता शेयर निष्काशन गर्दैछ। यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ र कम्पनीले २०८२ पुस महिनामा आफ्नो अनुपालन प्रतिवेदनको जवाफ समेत बुझाइसकेको छ। त्यस्तै, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको युनाइटेड मेवा खोला हाइड्रोपावरले १ करोड २३ लाख कित्ता रि हिमालयन क्यापिटलमार्फत मेवा डेभलपर्स लिमिटेडले १ करोड १२ लाख कित्ताको मेगा आइपीओ ल्याउँदैछन्। यसै क्षेत्रमा निकै प्रतिक्षित मानिएको रघूगंगा हाइड्रोपावर लिमिटेडले पनि एनआइसी एसिया क्यापिटल मार्फत १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न २०८३ जेठ ८ गते अनुपालन सहितको आवेदन दिइसकेको छ।

उत्पादनमूलक क्षेत्रका वास्तविक कम्पनीहरूले त प्रिमियम मूल्यसहित बजारलाई नै तरंगित पार्ने गरी ठूलो मात्रामा शेयर जारी गर्ने योजना बनाएका छन्। जगदम्बा स्टिल्स लिमिटेडले अंकित मूल्यमा प्रिमियम थपेर प्रतिशेयर ३३० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कुल पूँजीको ३० प्रतिशत हिस्सा निष्काशन गर्न लागेको यस कम्पनीको कुल निष्काशन रकम नै ६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको हुनेछ। यस्तै, सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले प्रतिशेयर ३३३ रुपैयाँ प्रिमियम मूल्यमा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता (कुल पूँजीको ३५ प्रतिशत) शेयर बजारमा ल्याउँदैछ।

सिमेन्ट र डण्डी उद्योगहरूमा आईपीओको बाढी नै आउने देखिएको छ। मारुती सिमेन्ट्स लिमिटेडले प्रतिशेयर ४२६ रुपैयाँ प्रिमियम मूल्य कायम गर्दै १ करोड १६ लाख कित्ता शेयर निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङमार्फत प्रक्रिया अगाडि बढाएको छ। रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले पनि २४६ रुपैयाँ प्रिमियम मूल्यमा १ करोड २१ लाख ७१ हजार ५ सय कित्ता (कुल पुँजीको २७ प्रतिशत) शेयर जारी गर्न एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। अम्बे स्टिल्स लिमिटेडले ३०३ रुपैयाँ प्रिमियममा १ करोड ११ लाख ९२ हजार ७ सय २७ कित्ता शेयर ल्याउने अन्तिम तयारी गरिरहेको छ।

प्रिमियम बाहेक अंकित मूल्य १०० रुपैयाँमै सर्वसाधारणलाई शेयर दिने गरी उत्पादनमूलक क्षेत्रका अन्य तीन कम्पनीहरू पनि लाइनमा छन्। महाशक्ती सिमेन्ट लिमिटेडले १ करोड ७८ लाख ५० हजारभन्दा बढी कित्ता सेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटलमार्फत २०८३ वैशाखमा प्रतिवेदन बुझाइसकेको छ। माछापुच्छ्रे क्यापिटलमार्फत सुभश्री अग्नि सिमेन्ट उद्योगले २ करोड २ लाख १० हजार कित्ता र सानिमा क्यापिटलमार्फत गोदावरी स्टिल लिमिटेडले १ करोड ५ लाख कित्ता आइपीओ ल्याउने तयारी गरेका छन्, जसको अनुपालन प्रतिवेदन २०८३ वैशाख २९ गते नै प्राप्त भइसकेको छ।

यता लगानी र सञ्चार क्षेत्रका दुई ठूला नामहरू पनि यसै दौडमा सामेल छन्। लगानी क्षेत्रको शिवम होल्डिङ्गस् लिमिटेडले सिद्धार्थ क्यापिटल मार्फत २१० रुपैयाँ प्रिमियम मूल्यमा १ करोड १६ लाख कित्ता आईपीओ निष्काशन गर्दैछ। त्यस्तै, टेलिभिजन र इन्टरनेट सेवा प्रदायक डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले प्रभु र कुमारी क्यापिटल मार्फत १ करोड ९७ लाख ५ हजार ९ सय ७० कित्ता आईपीओ ल्याउन धितोपत्र बोर्डमा अनुपालन प्रतिवेदन बुझाइसकेको छ।

हाल बजारमा केही लाख कित्ता मात्र आईपीओ आउँदा आवेदन दिने २० लाखभन्दा बढी लगानीकर्तामध्ये अधिकांशको हात खाली हुने गरेको छ। शेयर बजारका विश्लेषकहरूका अनुसार यी ठूला कम्पनीहरूको आईपीओ स्वीकृत भएर बजारमा आउँदा बजारको पूँजीकरण मात्र बढ्ने छैन, बरु लामो समयदेखि आईपीओ नपरेर निराश भएका सर्वसाधारण लगानीकर्ताले सुनिश्चित रूपमा शेयर प्राप्त गर्ने वातावरण बन्नेछ। यस्ता मेगा आईपीओहरूले प्राथमिक बजारमा नयाँ उत्साह थप्ने र लगानीकर्ताको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ।

अर्कोतर्फ बजारमा नयाँ नयाँ कम्पनी मात्रै थपिने तर ठूलो कित्ताको शेयर कित्ता खरिद गर्न सक्ने संस्थागत लगानीकर्ता, वैदेशिक सस्थागत लगानीकर्ता र गैरआवासीय नेपालीहरु नथपिँदा बजारले माथिल्लो विन्दु समात्न सकेको छैन। यसमा हालै नेतृत्वमा गएका सेबोन अध्यक्ष गोपाल भट्टले विशेष ध्यान दिनु पर्ने देखिन्छ।

comments powered by Disqus