Ipo.aspx merolagani - 'शेयर बजार सुधारका सम्बन्धमा प्रधानमन्त्रीकाे अग्रसरताले सकारात्मक सन्देश दिएको छ, हामी आशावादी छौँ '

'शेयर बजार सुधारका सम्बन्धमा प्रधानमन्त्रीकाे अग्रसरताले सकारात्मक सन्देश दिएको छ, हामी आशावादी छौँ '

Jul 21, 2026 06:12 PM Merolagani

नेपाली पुँजीबजार संक्रमणकालीन मोडमा छ। विगत लामो समयदेखि नीतिगत अस्थिरता र नियामक निकायहरूको सुस्तताका कारण लगानीकर्ताको मनोबल खस्किएको छ ।

पछिल्लो समय सरकार र विशेषगरी प्रधानमन्त्रीको प्रत्यक्ष चासोले बजारमा नयाँ तरंग पैदा गरेको छ। देशको कार्यकारी प्रमुखले नै शेयर बजारका समस्याहरूलाई आफ्नो प्राथमिकतामा राख्नु र सरोकारवालाहरूसँग प्रत्यक्ष छलफल गरी सुधारको मार्गचित्र माग्नुले बजारमा एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ। यद्यपि, बोलेका कुरा पूरा हुन्छन् कि हुँदैनन् भन्ने लगानीकर्ताको संशय कायमै छ।

नेपाल धितोपत्र बोर्डले भर्खरै सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम र १० वर्षे रणनीतिक योजनाले बजारलाई प्रविधिमैत्री र आधुनिक बनाउने संकल्प गरेको छ। यस मार्गचित्रमा प्रशासनिक सुधारदेखि लिएर लगानीकर्ताले लामो समयदेखि पर्खिरहेका नयाँ वित्तीय उपकरणहरू इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङसम्मका योजनाहरू समेटिएका छन्। अर्कोतर्फ, ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लेन्डिङमा देखिएको स्रोतको अभाव र नेपाल राष्ट्र बैंकको नियमकीय अन्योलले गर्दा बजारमा पर्याप्त तरलता प्रवाह हुन सकिरहेको छैन। वाणिज्य बैंकहरूबाट प्राप्त हुने कर्जालाई कुन शीर्षकमा राख्ने र त्यसको सीमा कति हुने भन्ने प्राविधिक कुराहरू नमिल्दा ब्रोकरहरूले चाहेर पनि यो सेवालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेका छैनन् । यिनै जल्दाबल्दा विषयहरूमा केन्द्रित रहेर क्रिस्टल कन्चनजंगा सेक्यूरिटीजका प्रमुख कार्यकारी अध्यक्ष प्रियराज रेग्मीसँग सुधा देवकोटाले गरेको कुराकानीः

प्रधानमन्त्रीसँग तपाईहरुको भेटवार्ता भयो। देशको प्रमुख कार्यकारीले पुँजीबजारको समस्याबारे चासो राख्नुलाई कसरी लिनुभएको छ? के बजार अब ढुक्क हुने वातावरण बनेको हो?

पक्कै पनि देशको प्रमुख कार्यकारीले नै बजारका समस्या र सुधारका विषयमा चासो राख्नु भनेको यो क्षेत्र सरकारको प्राथमिकतामा छ भन्ने बुझिन्छ। प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले नै जस र अपजस लिनुपर्ने हुन्छ। त्यसैले उहाँले लिनुभएको यो अग्रसरताले बजारमा सकारात्मक सन्देश दिएको छ। नियमनकारी निकायलाई पनि सुधारका लागि निर्देशन भइसकेकाले हामी आशावादी छौँ।

धितोपत्र बोर्डले भर्खरै वार्षिक नीति तथा कार्यक्रम र सुधारको मार्गचित्र ल्याएको छ। तर विगतमा पनि यस्ता कुरा आउँथे, कार्यान्वयन हुँदैनथे। यसपालि चाहिँ कार्यान्वयन होला भन्ने आधार के छ?

अहिलेका अध्यक्षज्यू आफैँ यो क्षेत्रको विज्ञ हुनुहुन्छ। उहाँले ल्याएको मार्गचित्रमा प्रशासनिक सुधारदेखि प्रविधि भित्रयाउने सम्मका स्पष्ट कुरा छन्। कतिपय कामहरू आजको भोलि हुँदैनन्। समय लाग्छ। तर, इच्छाशक्ति भयो भने असम्भव छैन। मुख्य कुरा नेप्सेको पुनर्संरचना पनि हो। सरकारी लगानीको संस्था भएकाले त्यहाँ जोखिम मोल्ने र छिटो निर्णय गर्ने परिपाटी कम छ। बजेटमा पनि यो विषय आइसकेकाले अबका दिनमा सुधार हुनेमा हामी विश्वस्त छौँ।

मार्जिन लेन्डिङको कुरा निकै उठ्छ, तर सबै ब्रोकरले यो सेवा दिन सकिरहेका छैनन्। समस्या कहाँ छ? स्रोतको अभाव हो कि कानुनी अड्चन?

मुख्य कुरा स्रोत कै हो। ब्रोकरको आफ्नो पुँजीले मात्रै कर्जा दिन सम्भव हुँदैन, त्यसको लागत पनि महँगो पर्छ। हामीले बैंकहरूबाट पैसा लिएर लगानीकर्तालाई दिने हो। अहिले केही बैंकले वर्किङ क्यापिटल लोन दिन खोजेका छन्। तर राष्ट्र बैंकको स्पष्ट नियम नहुँदा भोलि समस्या पर्छ कि भन्ने डर छ। यदि राष्ट्र बैंकले यसलाई लोन अगेन्स्ट शेयरको सीमाभन्दा बाहिर राखेर स्पष्ट नीति ल्याइदिने हो भने मार्जिन लेन्डिङ तत्कालै प्रभावकारी हुन्छ।

बजारमा इन्ट्राडे कारोबार र सर्ट सेलको चर्चा पनि निकै छ। हाम्रो बजार र ब्रोकरहरू यसका लागि कत्तिको तयार छन? यसको समयसीमा के हुन सक्छ?

यो चरणबद्ध रूपमा हुने प्रक्रिया हो। मेरो विचारमा अबको ३ देखि ६ महिनाभित्र इन्ट्राडे कारोबार सुरु गर्न सकिन्छ। तर, सर्ट सेलका लागि भने अलि समय लाग्छ (करीब ९ महिनादेखि १ वर्ष)। किनकि यसका लागि सेक्युरिटी लेन्डिङ एन्ड बरोइङको व्यवस्था, कानुनी सुधार र संस्थागत प्रबन्ध आवश्यक पर्छ। यी औजारहरू आएपछि बजारको तरलता बढ्छ र लगानीकर्तामा आत्मविश्वास पनि थपिन्छ।

अन्त्यमा, बजारमा आत्मविश्वास गुमाएका लगानीकर्तालाई के भन्न चाहनुहुन्छ? कसरी लगानी गर्दा सुरक्षित भइन्छ?

लगानीकर्ताहरू हल्ला र सामाजिक सञ्जालको अफवाहको पछि लाग्नुभएन। बजारमा सुधार देखिन थालेको छ, तर लगानी गर्दा कम्पनीको अवस्था अध्ययन गर्न जरुरी छ। आफैँ अध्ययन गर्न नसक्नेले म्युचुअल फन्ड वा पोर्टफोलियो म्यानेजरमार्फत लगानी गर्दा सुरक्षित भइन्छ। सरकारले पनि बोलेका कुराहरू व्यवहारमा उतारेर लगानीकर्ताको विश्वास जित्नुपर्छ।

 बाँकी भिडियोमा 

comments powered by Disqus

यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।