Ipo.aspx merolagani - पूर्वको साम्प्रदायिक तनावले नेप्सेमा लगातार धक्का, बढ्दो लयमा एकाएक ब्रेक

पूर्वको साम्प्रदायिक तनावले नेप्सेमा लगातार धक्का, बढ्दो लयमा एकाएक ब्रेक

Jul 30, 2026 04:43 PM Merolagani

सुवास निरौला 

लगातार उकालो लाग्ने संकेत देखिएको नेपालको शेयर बजार पूर्वी नेपालमा फैलिएको साम्प्रदायिक तनावपछि एकाएक ओरालो लागेको छ।

सुनसरीको देवानगञ्जबाट सुरु भएको हिन्दु,मुस्लिम तनाव कोशी प्रदेशका विभिन्न स्थानमा फैलिँदै गएपछि त्यसको मनोवैज्ञानिक प्रभाव पूँजी बजारमा पनि प्रत्यक्ष देखिएको छ। बजारमा केही दिनअघिसम्म देखिएको खरिदकर्ताको उत्साह क्रमशः हराउँदै जाँदा नेप्से सूचक लगातार घटिरहेको छ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार पछिल्ला केही दिनयता बजार घट्नुको मुख्य कारण यही तनाव हो। उनका अनुसार बजारमा नकारात्मक असर पार्ने अन्य कुनै ठुलो आर्थिक वा नीतिगत कारण देखिएको छैन। "अरू घट्नु पर्ने कारण छैन। अहिले पूर्वमा चलिरहेको तनाव नै शेयर बजार घट्नुको मुख्य कारण हो," ढकालले भने। पूर्वमा बढ्दै गएको साम्प्रदायिक तनावले लगानीकर्ताको मनोबल कमजोर बनाएको बजारसँग सम्बन्धित अन्य व्यक्तिहरू समेत बताउँछन्।

सुनसरीको देवानगञ्जमा साउन १० गते राति सुरु भएको झडपपछि त्यहाँ कर्फ्यु जारी गरियो। त्यसपछि मोरङ, झापा र आसपासका केही क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइयो। बिहीबार पनि पूर्वका केही स्थानमा तनाव पूर्ण रूपमा साम्य हुन सकेको छैन। यही अवधिमा नेप्सेमा पनि निरन्तर बिक्री दबाब देखिएको छ। प्राविधिक विश्लेषणले पनि बजारमा आएको मनोवैज्ञानिक परिवर्तनलाई पुष्टि गर्ने संकेत देखाएको छ।

दैनिक क्यान्डलस्टिक चार्टअनुसार नेप्से केही दिनअघि करिब २५५० अंक आसपासबाट बलियो उकालो चढ्दै २७४०–२७५० अंक क्षेत्रसम्म पुगेको थियो। त्यो उकालोका क्रममा लगातार हरिया क्यान्डल बनेका थिए भने कारोबार रकम पनि बढ्दो क्रममा थियो। यसले बजारमा खरिदकर्ताको नियन्त्रण रहेको स्पष्ट संकेत दिएको थियो।

तर तनावको घटना सार्वजनिक भएपछि बजारको लय अचानक बदलिएको देखिन्छ। उकालोमा रहेको गति कमजोर बन्दै गयो र त्यसपछि लगातार राता क्यान्डल देखिन थाले। सुरुमा सामान्य करेक्सनजस्तो देखिएको गिरावट बिस्तारै निरन्तर बिक्री दबाबमा परिणत भयो। पछिल्ला केही कारोबार दिनमा बजारले दैनिक रूपमा तल्ला स्तरमा बन्द हुने क्रम कायम राखेको छ। गएको चार कारोबार दिनमा सूचक ६२.०२ अंकले घटिसकेको छ। बिहीबारको कारोबारमा पनि नेप्से १६.३० अंक (०.६१ प्रतिशत)ले घटेर २६७२.५८ अंकमा बन्द भएको छ। कारोबार अवधिभर सूचक २६९५.८६ अंक सम्म पुगे पनि त्यो स्तर कायम राख्न नसकी अन्ततः तल्लो क्षेत्रमा बन्द भएको छ। यसले माथिल्लो मूल्यमा पुगेपछि बिक्री चाप अझै बलियो रहेको संकेत गर्छ।

चार्टमा देखिएको अर्को महत्त्वपूर्ण पक्ष भनेको कारोबार रकमको प्रवृत्ति हो। बजार तीव्र रूपमा उकालो लाग्दा कारोबार रकम उल्लेखनीय रूपमा बढेको थियो। त्यसपछि बजार घट्न थालेपछि पनि कारोबार रकम सामान्यभन्दा माथि नै देखिएको छ। यसको अर्थ बजारमा सामान्य नाफा सुरक्षित गर्ने प्रवृत्ति मात्र होइन, जोखिम घटाउन शेयर बिक्री गर्ने लगानीकर्ताको संख्या पनि बढेको विश्लेषकहरू बताउँछन्।

प्राविधिक रूपमा हेर्दा बजार अहिले छोटो अवधिको उकालो ट्रेन्डबाट बाहिरिएको संकेत देखिएको छ। लगातार साना–साना राता क्यान्डल बन्नुले खरिदकर्ताभन्दा बिक्रीकर्ता सक्रिय रहेको देखाउँछ। प्रत्येक उकालो प्रयासमा बजार माथि टिक्न नसक्नु र पुनः तल फर्किनुले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको संकेत गर्छ।

पूँजी बजारमा आर्थिक सूचकसँगै मनोवैज्ञानिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। कुनै ठुलो राजनीतिक संकट, प्राकृतिक विपत्ति वा सामाजिक अस्थिरताले लगानीकर्तालाई जोखिम कम गर्न प्रेरित गर्छ। त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिने गर्छ।

विशेष गरी नेपालको जस्तो व्यक्तिगत लगानीकर्ताको बाहुल्य रहेको बजारमा मनोवैज्ञानिक प्रभाव अझ तीव्र हुने विश्लेषकहरू बताउँछन्। यस्ता घटनापछि धेरै लगानीकर्ताले नयाँ खरिद रोक्ने, केहीले नाफा सुरक्षित गर्ने र केहीले सम्भावित जोखिमबाट बच्न शेयर बिक्री गर्ने प्रवृत्ति अपनाउने गरेका छन्। त्यसैले बजारमा आधारभूत आर्थिक कारणभन्दा पनि भावनात्मक प्रतिक्रिया बलियो बन्ने अवस्था सिर्जना हुन्छ।

यद्यपि बजारका जानकारहरू दीर्घकालीन लगानीकर्ताहरू भने तत्कालको घटनालाई मात्रै आधार बनाएर निर्णय गर्न नहुने बताउँछन्। उनीहरूका अनुसार साम्प्रदायिक तनाव नियन्त्रणमा आएर सामान्य अवस्था फर्किए लगानीकर्ताको मनोबल पनि पुनः सुधार हुन सक्छ। त्यस अवस्थामा बजारमा अहिले देखिएको बिक्री दबाब कम हुने सम्भावना रहन्छ।

अर्कोतर्फ तनाव लम्बिँदै गएर आर्थिक गतिविधिमा समेत प्रभाव पर्न थालेमा त्यसको असर पूँजी बजारमा अझ केही समय देखिन सक्ने अनुमान गरिएको छ। विशेष गरी लगानीकर्ताले अहिले नयाँ जोखिम लिनुभन्दा 'पर्ख र हेर' को रणनीति अपनाएको देखिन्छ।

बजारले आगामी केही कारोबार दिनमा कस्तो दिशा लिन्छ भन्ने कुरा अब पूर्वको सुरक्षा अवस्था, लगानीकर्ताको मनोबल र खरिदकर्ता पुनः बजारमा फर्किने गतिमा निर्भर रहने देखिएको छ। अहिलेका लागि भने प्राविधिक संकेत र बजारको व्यवहार दुवैले एउटै सन्देश दिएका छन् उकालाे लय रोकिएको छ र लगानीकर्ता अझै सतर्क मनस्थितिमै छन्।

 

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।