राष्ट्र बैंकले नीतिगत दरलाई साढे ६ प्रतिशतबाट साढे ५ प्रतिशतमा, बैंक दरलाई साढे ७ प्रतिशतबाट ७ प्रतिशतमा र निक्षेप संकलन बोलकबोल दरलाई साढे ४ प्रतिशतबाट घटाई ३ प्रतिशतमा झारेको छ। यसले ऋणको ब्याजदर घट्ने हुँदा बजार सकारात्मक हुने देखिन्छ।
गत साता नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ५.७६ प्रतिशत घटेर १८५२.७७ विन्दुमा बन्द भएको थियो।
टेवाबाट उक्लिदैँ
गत साता नेप्से परिसूचक १८१० देखि १८४० को टेवा क्षेत्रमा टेकेर उक्लिन खोजिरहेको देखिन्छ। गत साताको मंगलबार घटेर टेवा क्षेत्रमा झरेको नेप्से, सो पछिका दिनहरुमा बढ्न थालेको थियो। मौद्रिक नीति समीक्षाको सकारात्मक प्रभाव परेर नेप्से उकालो लागेमा १९५० देखि १९८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बुलिश हुने संकेत
गत साताको बुधबार नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। यो एक बुलिश मैनबत्ती हो। यसले नेप्से परिसूचक न्यून विन्दुमा पुगिसकेको र बढ्न तयार रहेको संकेत गर्दछ। यस साता नेप्से १८६० बाट माथि लागेमा सानो ब्रेकआउट हुने मेरोलगानी एआईचार्टले देखाएको छ।
बलियो भोल्यूम
नेप्से घटेपनि गत साता भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ५३ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब २० करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २७.५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति
गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि रहेको छ। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा
गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)