Ipo.aspx merolagani - दुई वर्षपछि नेप्सेमा सकारात्मक सर्किट, आइतबार बजार उच्च अंकले बढनुमा यस्ताे छ कारण

दुई वर्षपछि नेप्सेमा सकारात्मक सर्किट, आइतबार बजार उच्च अंकले बढनुमा यस्ताे छ कारण

Dec 10, 2023 01:51 PM Merolagani

दुई वर्षपछि नेप्से सूचक सकारात्मक सर्किट लागेर बन्द भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि आइतबार नेप्से सूचक ६ प्रतिशतले बढेको हो।

आइतबार नेप्से सूचक ६ प्रतिश्त अर्थात १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा पुगेको हो। करिब २ वर्षपछि नेप्से सकारात्मक सर्किट लागेर बन्द भएको हो।

यसअघि २०२१ डिसेम्बर १४ मा नेप्से सूचक ६.०१ प्रतिशतले बढेर बन्द भएको थियो। सो पश्चात आइतबार नेप्सेमा सर्किट लागेको हो।

आइतबार नेप्सेमा कारोबार खुलेको पहिलो ५ मिनेटमा ४ प्रतिशत बढेर २० मिनेटको लागि पहिलो सर्किट लागेको थियो भने सो पश्चात खुलेको बजार दुई मिनेटको कारोबारमा नै ५ प्रतिशत बढेपछि ४० किनेटको लागि सर्किट ब्रेक लागेको थियो। दोस्रो सर्किटपछि खुलेको बजार पनि दुई मिनेटमा नै १ प्रतिशत बढेर नेप्से कुल ६ प्रतिशतले बढेपछि आइतबारको लागि कारोबार बन्द भएको हो।

यस दिन कारोबार भने धेरै हुन पाएन। कुल ९ मिनेट कारोबार हुँदा ४८ करोड २४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

  • बजार उच्च अंकले बढ्नुको कारण

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछि शेयर बजारमा उत्साह देखिएको हो। केन्द्रीय बैंकले शेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको थियो। जुन प्रत्यक्ष रुपमा शेयर बजारसँग जोडिएको हुन्छ।

शेयर धितो कर्जाको जोखिम भार घटाउदा केन्द्रीय बैंकले बैंकहरुलाई शेयर धितो कर्जामा पनि अब जोखिम कम भयो र ती कर्जामा पनि लगानी गर्दा हुन्छ भन्ने संकेत गर्न खोजेको बुझिन्छ। यसले गर्दा शेयर धितो कर्जाको ब्याजदर पनि केहि कम हुने बैंकरहरु बताउछन्। यसले शेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको छ।

अर्कोतर्फ केन्द्रीय बैंकले नीतिगत दरहरु घटाएको छ। नीतिगत दर घटाउदा बैंकहरुलाई ब्याजदर घटाउन प्रोत्साहन पुगेको छ। यसले गर्दा बैंकहरुले निक्षेपमा ब्याजदर घटाउन थालिसकेका छन्। ब्याजदर र शेयर बजारको सम्बन्ध उल्टो हुने गर्छ। मुद्दती निक्षेपको ब्याजदर अहिले ७ प्रतिशतसम्म झरिसकेकोले पनि शेयर बजारमा उत्साह थपिएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंकहरुलाई कर्जा लगानीमा झनै प्रोत्साहन गरेको छ। एकातिर केन्द्रीय बैंकले लगानीयोग्य रकम झनै बढ्ने गरी मौद्रिक नीतिको समीक्षा गरेको छ भने अर्कोतर्फ बजारलाई चलायमान बनाउन भन्दै कर्जा लगानीमा जोड दिएको छ।

यसअघि आगामी पुस मशान्तसम्म मात्रै ऋणपत्रलाई स्रोतको रुपमा गणना गर्न दिने व्यवस्था गरेको राष्ट्र बैंकले त्यो समयलाई लम्ब्याउँदै आगामी असार मशान्तसम्मको लागि ५० प्रतिशत ऋणपत्रलाई स्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ भने शेयर र घरजग्गा क्षेत्रमा जाने कर्जाको जोखिमभार घटाउदा बैंकहरुमा ५० अर्ब लगानीयोग्य क्षमता बढने देखिएको छ।

अहिले शेयर बजारलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने तरलता र ब्याजदर अनुकुल रहेकोले पनि शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। अहिले बैंकहरुसँग साढे ५ खर्ब लगानीयोग्य रकम देखिएको छ। सिडि रेशियो ८९ प्रतिशकै हाराहारी झरेको अवस्था छ।

विश्लेषकहरुले केहि समय अघिदेखि सबै कुरा बजार अनुकुल भएपनि आम लगानीकर्ताको मनोबल बढ्न नसकेका कारण शेयर बजार बढ्न नसकेको विष्लेषणा गर्दै आएका थिए। मौद्रिक नीतिको समीक्षाले आम लगानीकर्ताको मानोबल उकास्न समेत भुमिका खेलेको छ। केन्द्रीय बैंकले लिएका लचक नीति र त्यसपछाडि शेयर बजारमा जानकारहरुले दिएका बजारप्रतिको सकारात्मक धारणले नै आइतबारको बजारमा उच्च अंकको बृद्धि देखिएको हो।

नेप्से सूचक पछिल्लो २ महिनादेखि १८००-१९०० विन्दुमा घुमिरहेको छ। आइतबार बजार एकैपटक १११ अंक बढ्दा त्यो विन्दुलाई तोडेर १९६३ विन्दुमा पुगेको छ।

comments powered by Disqus

नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

Dec 10, 2023 02:33 PM

नेप्से १११.२० अंकले बढ्दा पनि यी दुई ‘अभागी’ कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।