Ipo.aspx merolagani - राष्ट्र बैंकले एक खर्ब तानेपछि बैंकहरुमा ६ अर्ब मात्र अधिक तरलता, ब्याजदर बढ्यो

राष्ट्र बैंकले एक खर्ब तानेपछि बैंकहरुमा ६ अर्ब मात्र अधिक तरलता, ब्याजदर बढ्यो

Jan 01, 2024 05:04 PM Merolagani

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब बढी तरलता खिचेपछि बैंकिङ्ग प्रणालीको अधिक तरलता ६ अर्बमा झरेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार पुस १३ गतेसम्ममा बैंकिङ्ग प्रणालीमा ५ अर्ब ९६ करोड रुपैयाँ अधिक तरलता रहेको छ। यो सिआरआर बाहेकको अधिक तरलता हो।

केहि समय अघि १ खर्ब माथि पुगेको अधिक तरलता राष्ट्र बैंकले निरन्तर खिच्दा अहिले ६ अर्ब रुपैयाँमा झरेको हो।

पुस १२ गतेसम्ममा बैंकिङ्ग प्रणालीको अधिक तरलता १ अर्ब ५८ करोड रुपैयाँमा झरेको थियो। शुक्रबार तरलता ४ अर्ब रुपैयाँभन्दा धेरैले बढेको हो।

राष्ट्र बैंकले अहिले १ खर्ब ४ अर्ब रुपैयाँ तरलता बैंकहरुबाट खिचेर राखेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी बैंकहरुबाट तरलता खिचेको हो।

पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर रुपमा निक्षेप संकलन उपकरण जारी गरी बैंकहरुको अधिक तरलता खिचिरहेको छ। चालु आर्थिक वर्षमा केन्द्रिय बैंकले २ खर्ब ४१ अर्ब ५० करोड रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरी बैंकहरुबाट निक्षेप खिचेको छ।

आइतबारसम्ममा केन्द्रिय बैंकले बैंकहरुको १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ निक्षेप राखेको छ।

  • ब्याजदर बढ्यो

राष्ट्र बैंकले निरन्तर तरलता खिच्न थालेपछि बैंकहरुले बढी ब्याजदर राखेर बोलकबोल पेश गर्न थालेका छन्। केहि समय अघिसम्म १ प्रतिशत ब्याजदर राखेर बोलकबोल पेश गरिरहेका बैंकहरु अहिले भने ३ प्रतिशतभन्दा धेरै ब्याजदर राखेर बोलकबोल पेश गर्न थालेका छन्।

राष्ट्र बैंकले पुस १२ गते जारी गरेको निक्षेप संकलन उपकरणमा बैंकहरुले अधिकतम ३.०९९९ प्रतिशतसम्म ब्याजदर राखेर बोलकबोल पेश गरेका छन्।

केहि साता अघि मात्रै अधिक तरलताले गर्दा बैंकहरुले न्युनतम ०.४९०० प्रतिशतसम्म ब्याजदर तोकेर बोलकबोल पेश गरेका थिए। तर शुक्रबारको बोलकबोलमा बैंकहरुले न्युनतम नै २.७००० प्रतिशत ब्याजदर कबोलेका छन्।

  • ३ प्रतिशतभन्दा बढी ब्याजदर पेश गर्नेको निक्षेप राष्ट्र बैंकले लिएन

राष्ट्र बैंकले शुक्रबार जारी गरेको निक्षेप संकलन उपकरणमा मागभन्दा कम आवेदन परेको छ। राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकारण जारी गरेको थियो। जसमा १५ अर्ब रुपैयाँको लागि मात्रै आवेदन परेको छ।

यसमा पनि ३ प्रतिशतभन्दा कम ब्याजदर कबोलेका बैंकहरुकाे ९ अर्ब २५ करोड रुपैयाँको निक्षेप मात्रै राष्ट्र बैंकले स्वीकारेको छ। सो भन्दा बढी ब्याजदर पेश गर्ने बैंकहरुको निक्षेप भने केन्द्रीय बैंकले स्वीकारेन।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले निक्षेप संकलन दरलाई ३ प्रतिशत कायम गरेको छ। यसले गर्दा बढी ब्याजदर पेश गर्ने बैंकहरुको निक्षेप राष्ट्र बैंकले नलिएको हो।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।