Ipo.aspx merolagani - तत्कालै बजार बढेर ३२ सय माथि नै जान्छ भनेर भन्न सकिदैन तर २५/२६ सय चाडै पुग्छः लगानीकर्ता स्वामी

तत्कालै बजार बढेर ३२ सय माथि नै जान्छ भनेर भन्न सकिदैन तर २५/२६ सय चाडै पुग्छः लगानीकर्ता स्वामी

Jan 27, 2024 10:39 AM Merolagani

यस हप्ताभर नै बजारले निरन्तर रुपमा नकारात्मक गति समायो । बजार बढ्छ भनेर पर्खेका लगानीकर्ता निराश भए । कारोबार रकम सन्तोषजनक भएपनि सूचकले साथ दिएन ।

बजार पुनः फर्केर तल्लो विन्दुमा झर्ने त होइन ? भन्ने आम लगानीकर्तामा आशंका छाएको छ । बजारमा यसरी किन बिक्री चाप बढ्यो । बजारले २२ सय भन्दा माथिको विन्दु समाउन किन सकेको छैन भन्ने विषयमा चर्चित लगानीकर्ता गोपाल स्वामीसँग सुधा देवकोटाले गरेको कुराकानीः

यस हप्ता बजार निरन्तर नकारात्मक भयो । अहिलेको हप्ता बजारले लगानीकर्तालाई त्रसित बनायो  । किन बजारमा यस्तो भयो ?

सबै कुरा सहज हुदाँहुँदै पनि बजार निरन्तर रुपमा झर्यो । अहिलेको बजारमा अल्पकालीन लगानीकर्ताहरु हाबी भएका छन् । बजारले इन्ट्र डेमा २२ सयको विन्दु पार गर्यो । त्यसपछि बजारमा नाफा सुक्षित गर्नतर्फ लाग्दा बजार टिक्न सकेन । यसै समयमा बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरणको प्रभाव पर्यो । लगानीकर्ताहरु आएको नाफा सुरक्षित गर्न तर्फ उन्मुख भए । प्राविधिक विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताहरुले २०५० को विन्दुमा झर्ने हल्ला गरेको पाइन्छ । यस्तै हल्लाले गर्दा बजार २२ सय भन्दा माथि जान गाह्रो भएको हो । बजार २२ सय माथि बस्न नमान्दा लगानीकर्तालाई त्रास भएको हो ।

पछिल्ला कारोबारलाई हेर्दा बजार समालिन खोजेको देखिन्छ । इन्ट्रा डे कारोबारमा नै बजार बढ्ने /घट्ने गतिविधिहरु देखिएका छन् । अर्कोतर्फ बजार घट्दै गर्दा भोल्यूम आएको छैन । सूचक घट्दा भोल्यूम पनि घट्यो भने राम्रो मानिन्छ । भोल्यूम पनि घटेकाले अब लगानीकर्ताले शेयर बिक्री गर्न मानेका छैनन भन्ने बुझाउछ ।

अहिले लानीकर्ताहरु डाराउनु पर्ने अवस्था छैन । बैंकको ब्याजदर प्रत्येक महिना घटिरहेको छ । अझै झनै क्रम जारी नै छ । लगानीकर्ताले मार्जिन कर्जा प्राप्त गर्न गाह्रो अवस्था छैन । बजार समग्रमा सकारात्मक छ ।

नेप्से २२ यस भन्दा माथिको विन्दुमा टिक्न नसक्नुको कारण के होला ?

बजार २२ सय हुँदै १८ सयमा पटक पटक झरेको छ । अहिलेको हाम्रो बजार भनेको ट्रेडरहरु हाबी भएको बजार हो । उनीहरुले पनि एक/दुई सयको विन्दुमा नै खेलेका छन् । सप्लाई कम भएको कम्पनीहरुमा लगानीकर्ताहरुको आकषर्ण छ । ठूला पूँजी भएका कम्पनीहरु चल्न मानिरहेका छैनन् । त्यसैले पनि सूचकलाई २२ सय भन्दा माथिको विन्दुमा रोकिनको लागि मुस्किल भएको छ ।

तर अहिलेको बजारले माथिल्लो विन्दुमा जान तयारी गर्दैछ । औसत कारोबार रकम ४/५ अर्ब भन्दा माथि भइरहेको छ । यसले बजार करेक्सन भएतापनि सकारात्मक छ भन्ने बुझाउछ । तत्कालै बजार बढेर ३२ सय माथि नै जान्छ भनेर भन्न सकिदैन तर बजार बढेर २५ देखि २६ सयको विन्दुसम्म चाडै पुग्ने छ । अहिलेको अवस्था मज्जाले लगानी गर्ने समय हो । मुलुकको अर्थतन्त्र सुधार उन्मुख अवस्थामा रहेको छ । आगामी बर्ष नेपालको अर्थतन्त्र सुधारात्मक हुने विश्व बैंकको प्रक्षेपण छ । अर्थतन्त्र सुधार हुन पूँजी बजार चल्नु पर्छ । अनि मात्र आर्थिक गतिविधिलाई चालयमान हुने विश्वास गर्न सकिन्छ ।

यहा तपाईले कसरी ? भन्नु होला । शेयर बजार ३२ सयको वरपर हुँदा धेरै लगानीकर्ताको पैसा फसेको छ । लामो समयसम्म नोक्सानीमा रहदा उक्त लगानीले पूँजी निमार्ण गर्न सकिरहेको छैन । बजार बढेर आम्दानी हुन सुरु भएपछि नागरिकहरुको खर्च गर्ने क्षमतामा वृद्धि हुन्छ । बजारले २५ देखि २६ सयको विन्दुमा पुग्दै गर्दा मुलुकको अर्थतन्त्र चल्न थालेको देख्न सकिने छ । सबै क्षेत्र चलायमान हुनको लागि शेयर बजार चल्न जरुरी छ । अब बजार बढ्नुको विकल्प छैन ।

बजारमा सकारात्मक माहोल बन्दै गर्दा बजारमा अल्पकालीन लगानीकर्ता हाबी भएको देखिन्छ । लगानीकर्ता सय/दुई सयको विन्दुमा नै नाफा सुरक्षित गर्ने तर्फ लाग्ने हो भने सूचक बढ्न समय लाग्ने देखियो नि ?

हो, अहिलेको बजारमा ट्रेडरहरु नै हाबी भएको देखिन्छ । थोरै अंकमा नै नाफा गर्ने लगानीकर्ताको संख्या बढ्दो छ । लगानीकर्ताहरु आधारभूत रुपमा बलिया कम्पनी भन्दा थोरै पूँजी भएका र पम्प एण्ड डम्प गर्ने कम्पनीहरुमा नै आकर्षित छन् । यसले पनि सूचक दरिलो भएर बढ्न सकिरहेको छैन । बजार सूचकलाई स्थायित्व बनाएर राख्न क्षमता राख्ने कम्पनीको शेयर नेटवर्थको हाराहारी मूल्यमा फालम्फाल पाइएको छ । लगानीकर्ता कमजोर कम्पनीमा चौगुणा बढी मूल्य तिर्न तयार भएको देखिन्छ । यसले लगानी जोखिम बढाएको हुन्छ । अब लगानीकर्ताले सर्टटर्म ट्रेड गर्दा पनि फन्डामेन्टल रुपमा बलिया कम्पनीहरुमा नै लगानी गर्नुपर्ने हुन्छ । यसले सूचकलाई पनि दरिलो बनाउने छ र लगानी पनि सुरक्षित हुनेछ ।

तपाईले फन्डामेन्टल बलिया कम्पनीमा लगानी गर्न सुझाउँदै गर्दा बजारलाई हाईड्रोपावर कम्पनीले सूचक डोर्याएको देखिन्छ । बजारको ट्रेन फलो नगर्दा पछि परेको भन्दै ट्रेन्ड इज फ्रेन्ड भन्दै लगानीकर्ता लागेको देखिन्छ, त्यसलाई कसरी स्वीकार गर्ने ?

हो, हरेक बुलमा कुनै एउटा सेक्टरले नेतृत्व गरेको देखिन्छ । कुनै समयमा बैंकिङ, इन्स्योरन्स समूहले पनि बजार नेतृत्व गरेकै हो । यसअघि हाईड्रोपावर कम्पनीहरुको नेतृत्व रह्यो । त्यसैलाई निरन्तरता दिदै लगानीकर्ताहरु सोही क्षेत्रमा आकर्षित भएको देखिन्छ । यसो भन्दैमा अरु क्षेत्रमा लगानीकर्ता आकर्षण नभएका होइनन् । छिटो खरिद बिक्री गर्ने र छिटो नाफा लिने, छिटो नोक्सानी हुने क्षेत्र भएको कारणले गर्दा हाईड्रोपावर कम्पनीले सूचक डोर्याएको जस्तो देखिएको मात्रै हो । हाईड्रोपावर क्षेत्रमा पनि राम्रा कम्पनी नभएका होइनन । राम्रो प्रतिफल वितरण गर्ने कम्पनीहरु रहेका छन् । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा आफै गर्नुपर्ने हुन्छ । 

जानकार लगानीकर्ता बजारबाट जसरी पनि निस्कने गरेका छन् । तर नयाँ साधारण लगानीकर्ता फस्ने सम्भावना धेरै हुन्छ । नयाँ लगानीकर्ताले दैनिक सर्किट लेभलमा कारोबार भएका कम्पनीमा माथिल्लो मूल्यमा शेयर खरिद गरेको देखिन्छ । यसले जोखिम बढाउछ । ट्रेड गर्ने हो भनेपनि नेटवर्थ नकारात्मक भएका कम्पनीमा भन्दा बलिया कम्पनीमा लगानी जोड दिनुपर्छ ।

फन्डामेन्टल बलिया भन्दा बैंक तथा वित्तीय संस्थाका शेयरलाई बुझ्ने गरेको पाइन्छ । अहिले ति कम्पनी पनि लाभांश वितरण गर्न सक्ने अवस्थामा देखिएनन् । प्रतिफल वितरण नगर्ने कम्पनीलाई कसरी बलिया कम्पनीको संज्ञा दिन सकिन्छ ?

नेपालमा लानीकर्ताहरुले सधै बोनस हकप्रदको अपेक्षामा लगानी गर्ने गरेको पाइन्छ । कम्पनी कति बलियो छ भन्ने कुरालाई ख्याल गरेको पाइदैन । अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त कम्पनीहरुले प्रतिफल वितरण गरेको पाइदैन । तर पनि उनीहरुको शेयर मूल्य उच्च रहेको छ ।

हामीलाई हकप्रद चाहिएको छ । ऋण तिर्न हकप्रद निष्काशन गरेका छन् । लगानीकर्ताले आँखा चिम्लेर उक्त शेयमा नै लगानी गरेको देखिन्छ । कम्पनीले कमाएर ऋण तिर्न पर्नेमा थप भार बोकाएका छन् । तर लगानीकर्ताहरुले नबुझेर त्यस्ता कम्पनीहरुमा नै आकर्षित भएको पाइन्छ । यदि कम्पनी बलियो हुने थियो भने आफ्नै कमाईले पूँजी वृद्धि गर्ने थियो, ऋण तिर्ने थियो । तर यहाँ हकप्रद बिक्री गरेर लगानीकर्तालाई ऋणको भार बोकाएको छ । लगानीकर्ता त्यसैमा खुशी भएर लगानी गरेका छन् । लागानी गर्दा कम्पनी कति बलियो छ भन्ने कुरालाई ख्याल गरेर लगानी गर्नुपर्ने हुन्छ ।

बाँकी अंश भिडियोमा

 

 

 

 

comments powered by Disqus

कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

Jan 22, 2024 06:33 AM

हिमालयन रिइन्स्योरेन्स कम्पनी (HRL) को शेयर कारोबारले अहिले शेयर बजारमा तहल्का मच्चाएको छ । विवादका बीच केही दिन अघि १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आईपीओ बिक्री गरेको कम्पनीको अहिले दोस्रो बजारमा दैनिक रुपमा मूल्य बढेर लाखौं कित्ता किनबेच भइसकेको छ ।