Ipo.aspx merolagani - देशको अर्थतन्त्रको विकासमा कोशेढुंगा हुन सक्ने डा.स्वर्णिम वाग्लेको एउटा प्रस्ताव

देशको अर्थतन्त्रको विकासमा कोशेढुंगा हुन सक्ने डा.स्वर्णिम वाग्लेको एउटा प्रस्ताव

Mar 20, 2024 03:17 PM Merolagani

प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपाध्यक्षसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले  भन्सार विधेयकका बारेमा भएको छलफलमा भाग लिँदै भन्सारलाई राजस्व संकलनको केन्द्र होइन, उद्योग व्यापार प्रबर्द्धन गर्ने थलो बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।

राजस्व संकलन केन्द्रका रुपमा रहेको भन्सारको मान्यतामा परिवर्तन आवश्यक छ भन्दै डा. वाग्लेले कस्ता स्वदेशी उद्योगको प्रबर्द्धन गर्ने र कस्ता विदेशी वस्तुको आयातलाई नियमन र नियन्त्रण गर्ने भन्ने विषय फरक फरक विषय भएको वताए ।  उनको भनाइ थियो-भन्सारलाई व्यवस्थित गरौं र नेपाली उत्पादनको ब्राण्डिङ गर्ने माध्यम बनाउँ ।

योजना आयोगको पूर्व उपाध्यक्ष रहेका डा. वाग्लेको यो भनाई अर्थमन्त्री लगायतका सरोकारवाला निकायका अधिकारीहरुले कति गम्भिरतापूर्वक लिए, त्यो थाहा छैन । तर, उनले उठाएको यो कुराको मर्मलाई बुझ्ने हो भने त्यसले देशको आर्थिक, सामाजिक अवस्थालाई नै कायापलट गर्न सक्छ । किनकी हाम्रो देशमा भन्सारलाई केवल सरकारको, अझ अर्थमन्त्रालयको एउटा मामुली निकायको
रुपमा लिने गरिन्छ, जसकाे काम नै जसरी पनि कर उठाउनु हो । त्यसकाे लागि अर्थ मन्त्रालयले बजेट भाषणमै भन्सार नाकाहरुलाई ‘लक्ष्य’ तोकिदिन्छ । 

त्यो लक्ष्य पुरा गर्ने हाकिमहरुलाई प्रोत्साहित गर्ने र लक्ष्य पूरा नगर्नेहरुलाई ‘दोषी’ ठान्ने प्रवृत्ति छ । त्यसले गर्दा नेपालमा भन्सारहरु जे गर, जसो गर कर उठाउ भन्नेमा सिमित भएका छन् । भ्रष्टाचार गर्ने अड्डाको रुपमा स्थापित भएका छन् । त्यसले गर्दा भन्सारका अन्य विश्वव्यापी मान्यताहरु ओझेलमा परेका छन्, पारिएका छन् । भन्सार विभाग अन्तरगत अहिले ३८ मूख्य भन्सार कार्यालयहरु र १३३ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन् ।

निश्चय पनि ती कार्यालयहरुको मुख्य काम राजश्व अर्थात कर असुली हो । तर, डा. वाग्लेले भनेझैं यदि सरकारले चाहाने हो भने भन्सारलाई आयात निर्यातको केन्द्र बनाउन सकिन्छ । नेपाली उत्पादनको ब्राण्डिङ गर्ने केन्द्रको रुपमा विकास गरेर, हरेक भन्सार नाकाहरुमा नेपालका मौलिक उत्पादनहरुको प्रचार प्रसार गर्न सकिन्छ ।

विकसित देशहरुको भन्सार संचालनको तौरतरिका हेर्ने हो भने उनीहरुले भन्सारलाई आर्थिक र कुटनीतिक सम्वन्ध विस्तारको मुख्य आधार बनाएका छन् । जहाँबाट एकातर्फ विश्वव्यापीरुपमा आफ्ना उत्पादनको प्रचार प्रसार गर्न सकिन्छ र त्यसको लागि आफूसँग व्यापार व्यवसाय गर्ने देशहरुसंगको कुटनीतिक सम्वन्धलाई विस्तार गर्न र जोड दिन सकिन्छ । पर्यटकहरुलाई ‘भन्सारदूत’ बनाएर नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धन गर्न सकिन्छ । भन्सार चुस्त, दुरुस्त बनाएर सरकारले निर्यातलाई प्रबर्द्धन गर्नको लागि प्रभावकारी कदम चाल्ने हो भने भन्सारहरुले आयात कर होइन, निर्यात कर उठाएरै देशलाई समृद्ध बनाउन सक्छन् 

युरोप अमेरिकादेखि छिमेकी राष्ट्रहरुको भन्सार नाकाहरुको अवस्था, भन्सार संचालनका नीति र तौर तरिकालाई हेर्ने हो भने त्यो कुरा स्पष्ट हुन्छ । तर, नेपाली सरकारी अधिकारीहरु भन्सारलाई त्यसरी व्यवस्थित गर्नेतर्फ कुनै सोंच नै बनाएको पाइदैन । अहिले संसदमा पेश गरिएको विद्येयकमा पनि त्यसबारेमा कुनै कुरा उल्लेख छैन । यस्तो अवस्थामा अर्थशास्त्री तथा सांसद डा. वाग्लेले जुन कुरा उठाएका छन्, सरकाले त्यस्लाई गम्भिरतापूर्वक लिनुपर्छ । र, तत्काल नै आवश्यक पक्षहरुसँग छलफल गरि आउँदो आर्थिक वर्षदेखि भन्सार नाकाहरुलाई उद्योग व्यवसाय प्रबर्द्धन केन्द्र वा निर्यात प्रबर्द्धन गर्ने निकायको रुपमा विकास गर्नुपर्छ । त्यसको लागि डा. वाग्लेको प्रस्ताव देशको आर्थिक विकासको लागि कोसेढुंगा बन्न सक्छ ।

comments powered by Disqus

बर्षमानको उधारो बोलीमा विश्वास गर्दा सेयर बजारका लगानीकर्ता झन् फसे

Mar 21, 2024 01:18 PM

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका दलहरुबीचमा गठबन्धन गर्ने सम्झौता गरेपछि पूँजी बजारमा केही आशा पलाएको थियो ।