Ipo.aspx merolagani - नेप्से घट्दा पनि यी कम्पनीकाे शेयरमूल्य भने बढ्याे, शेयरधनी भए "मालामाल"

नेप्से घट्दा पनि यी कम्पनीकाे शेयरमूल्य भने बढ्याे, शेयरधनी भए "मालामाल"

Apr 04, 2024 06:30 AM MeroLagani

चैत लागेदेखि घट्न थालेको शेयर बजार १४ कारोबार दिनमा १ सयभन्दा बढी अंकले घटेको छ। चैत लाग्नु अगाडि २१०८ विन्दुमा रहेको नेप्से परिसूचक चैत २१ गतेको कारोबार सकिँदासम्म ४.८३ प्रतिशत घटेर २००६ विन्दुमा झरेको छ। बजार घट्दा पनि केही कम्पनीहरुको शेयरमूल्य ८० प्रतिशतभन्दा बढीले बढेको देखिएको छ।

करिब तीन साता लामो बियरिस स्विङमा नेप्से परिसूचकसँगै लघुवित्तबाहेक अन्य सबै परिसूचक घटेका छन्। सबैभन्दा भरपर्दो मानिएको बैकिङ परिसूचक १४ कारोबार दिनमा ६.६० प्रतिशतले घटेको छ भने त्यसलाई अन्य, जीवन बीमा, निर्जीवन बीमा, लगानी, विकास बैंक, व्यापार, जलविद्युत, होटल, उत्पादन समूहले पछ्याएको तथ्यांकले देखाउँछ। १४ कारोबार दिनमा लघुवित्त समूह भने ०.७६ प्रतिशतले बढेको देखिएको छ। चैतको महिनाको पहिलो दिन कारोबार दिन ३९४४.९३ रहेको लघुवित्तको समूह परिसूचक बुधबार बजार बन्द हुने बेलासम्म बढेर ३९७४.९० विन्दुमा पुगेको छ।

नेप्से परिसूचक झन्डै १ सय अंकले घट्दा पनि तीन हप्ताको दौरान केही कम्पनीका लगानीकर्ताले भने मनग्य कमाएका छन्। नेप्से परिसूचक ४.८३ प्रतिशतले घट्दा पनि जलविद्युत, लघुवित्त र फाइनान्स कम्पनीका केही कम्पनीले भने १० प्रतिशतभन्दा बढीले मुनाफा आर्जन गर्न सफल भएका छन्।

तीन साताको दौरान सबैभन्दा धेरै माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएको देखिएको छ। मेरोलगानीले तीन हप्ताको बियरिश स्वीङमा १० प्रतिशतभन्दा बढी बढ्ने कम्पनीहरुको सूची निकाल्दा १९ वटा कम्पनी निस्किए जसमा १६ वटा माइक्रोफाइनान्स समूहकै कम्पनी थिए।

छोटो दौरान धेरै प्रतिशतले मूल्य बढ्ने कम्पनी भने हाइड्रोपावर सेक्टरको देखियो। हाइड्रोपावर सेक्टरको पिपुल्स पावर कम्पनीले तीन हप्तामा ८३.१३ प्रतिशतले बढेको देखिएको छ। गत चैत १ गते ३३२ रुपैयाँमा कारोबार भएको कम्पनी चैत २१ गते बजार बन्द हुँदा ६०८ रुपैयाँमा अन्तिम कारोबार भयो। १४ कारोबार दिनमा कम्पनीकाे शेयर मूल्य ८३ प्रतिशतले बढेको छ। हाइड्रोपावर क्षेत्रबाट १० प्रतिशतभन्दा बढी मूल्य बढ्ने अर्को कम्पनी माइखोला हाइड्रोपावर रहेको छ। कम्पनीको गत चैत १ मा ३८४ रुपैयाँ रहेकोमा चैत २१ गते ४३३ रुपैयाँमा अन्तिम कारोबार भयो।

त्यसैगरी, लघुवित्त क्षेत्रका १६ कम्पनी पछिल्लो १४ कारोबारमा धेरै मूल्य बढ्ने कम्पनीमा परेका छन्। गुराँस, विन नेपाल, मानुषी, धौलागिरी, गणपति, स्वाभिमान, मनकामना स्मार्ट, हिमालयन, नाडेप, सबैको, सपोर्ट, विजय, साधना, माहुली र आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य १४ कारोबार दिनमा १० प्रतिशतभन्दा बढीले बढेको छ। सबैभन्दा धेरै शेयरमूल्य भने गुराँस लघुवित्तको बढेको छ भने सबैभन्दा कम मूल्य बढेको लघुवित्तमा आरम्भ चौतारी लघुवित्त रहेको छ।

त्यस्तै, फाइनान्स क्षेत्रबाट गोर्खाज फाइनान्सको शेयर मूल्य पछिल्लो तीन हप्तामा १५.२२ प्रतिशतले बढेको देखिन्छ। गोर्खाज फाइनान्ससँगै केही कम्पनीको शेयर दिनभरि घटेर कारोबार हुने तर अन्तिम केही मिनेटमा सकारात्मक सर्किट लागेर कारोबार हुने गरेको छ। बुधबारकै कारोबारमा पनि पिपुल्स पावर कम्पनीको शेयर घट्दो मूल्यमा कारोबार भइरहेकोमा अन्तिम समयमा २ प्रतिशत बढी मूल्य कायम भएर बन्द भयो।

पछिल्लो समय प्रति शेयर आम्दानी बढी भएको र बढी लाभांश दिन सक्ने कम्पनी भन्दा पनि न्यून चुक्ता पूँजी भएको कम्पनीको लगानीकर्ताको आकर्षण बढी देखिन्छ। तीन हप्तामा सबैभन्दा धेरै मूल्य बढेको पिपुल्स पावर कम्पनीकाे चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ मात्रै रहेको छ। खेलाडीहरुले तुलनात्मक रुपमा कम चुक्ता पूँजी भएका कम्पनीहरु जसको शेयरमूल्य पनि ५०० भन्दा मुनि नै होस, त्यस्ता कम्पनीहरुलाई छानी छानी सर्कुलर ट्रेडिङ गरेर बढाउने गरेको एक लगानीकर्ताले मेरोलगानीलाई बताए। हाइड्रोपावर समूहमा १२ करोडदेखि २१ अर्ब चुक्ता पूँजी भएका कम्पनीहरु भए पनि लगानीकर्ताले भने साना पूँजी भएका कम्पनीहरुलाई नै ट्रेडिङको लागि छान्ने गरेका छन्।

लघुवित्त समूहमा पनि सबैभन्दा कम चुक्ता पुँजी भएका कम्पनीहरु नै छोटो समयमा उच्च मूल्यले बढेका छन्। लघुवित्ततर्फ सबैभन्दा धेरै मूल्य बढेको गुराँस लघुवित्तको चुक्ता पूँजी १० करोड १४ लाख रुपैयाँ मात्रै रहेको छ। वीन नेपाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख रुपैयाँ मात्रै छ तर यो कम्पनीको शेयरमूल्य तीन हप्ताको दौरान ३३ दशमलब २५ प्रतिशतले बढ्यो। त्यसैगरी, मानुषी लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख मात्रै रहेको छ भने शेयर मूल्य झन्डै २५ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ। सबैभन्दा कम १० प्रतिशतले मात्रै बढेको आरम्भ चौतारी लघुवित्तको चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको छ।

२ करोड २८ लाखदेखि ३ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी भएका लघुवित्त बजारमा भए पनि लगानीकर्ताको रोजाईमा भने लघुवित्तको सवालमा ५० करोडभन्दा कम चुक्ता पुँजी भएका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ।

comments powered by Disqus

टिचिङ अस्पतालमा विस्फाेट, ठूलाे आवाजले मानिसहरु अत्तालिए

Apr 04, 2024 12:45 PM

काठमाडाैंकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा विस्फाेट भएकाे छ । बिहीबार दिउँसाे अस्पताल परिसरकाे एक भवनभित्र विष्फोटको आवाज सुनिएको हाे ।