बिहीबार पिपुल्स पावर (PPL) को शेयर मूल्य अन्तिम समयमा १० प्रतिशतले घटेर ५ सय ५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ जबकी एकै कम्पनीको दुई कारोबारबीचको शेयर मूल्य २ प्रतिशतभन्दा बढी घटबढ नहुने प्रावधान छ।
नेप्सेको बिहीबारको फ्लोरसिटमा पिपुल्स पावर कम्पनीको शेयर मूल्य विश्लेषण गर्दा पछिल्लो २० औं कारोबारमा ५६६.१० रुपैयाँमा ८४७ कित्ता कारोबार भएको देखिन्छ त्यसैगरी १५ कारोबार एकैचोटि ५.९३ प्रतिशतको फरकमा एकैपटक ६ सय रुपैयाँमा कारोबार भएको देखिन्छ। त्यसपछिको कारोबार भने नियमित रुपमा २ प्रतिशत थ्रेस होल्डमै बसेर अन्तिम दोस्रो कारोबार भने ६ सय १९ रुपैयाँमा भएको देखिन्छ। अन्तिम कारोबार भने १० दशमलब ६६ प्रतिशतले घटेर ५ सय ५३ रुपैयाँमा ३० कित्ता शेयर कारोबार भएको देखिएको छ। दुई कारोबारबीचको फरक २ प्रतिशतमात्रै तल माथि हुनुपर्ने नियम विपरित यहाँ १० प्रतिशत भन्दा बढीले मूल्य परिवर्तन भएको छ। नेप्सेका अधिकारीहरु भने नेप्सेको ‘टीएमएस’ मा शेयर किन्दा प्रयोग हुने ‘एमकेटी’ अप्सनको कारण यस्तो मूल्य तलमाथि पर्न गएको बताउँछन्। ‘एमकेटी’ अप्सन वास्तवमा बजारमा आफूलाई चाहे जति शेयर कित्ता बजारमा उपलब्ध मूल्यमा खरिद गर्न वा बेच्न उपयोग गर्ने विकल्प हो। यसमा शेयर किन्ने वा बेच्दा मूल्य निर्धारण बजारलाई नै छोडिएको हुन्छ। एमकेटी अप्सनमा बजारमा उपलब्ध मूल्यकै आधारमा चाहेको कित्ता खरिद वा बिक्री कारोबार सम्पन्न हुने गर्दछ।
पछिल्लो समय शेयर बजारमा खेलाडीहरुले भने यही एमकेटी अप्सनलाई कुनै कम्पनीको शेयर मूल्य सकारात्मक वा नकारात्मक सर्किट लेभलमा पुर्याएर बन्द गर्ने औजारको रुपमा लिने गरेका छन्। बिहीबारकै कारोबारमा गोर्खाज फाइनान्स (GUFL) को शेयर मूल्य पनि अप्राकृतिक रुपमा घटाइएको छ । कुनै एक समूहले शेयर खरिद गर्दै गोर्खाज फाइनान्सको शेयर मूल्यलाई ९ सय १२ रुपैयाँसम्म पुर्याएको फ्लोरसिटमा देखिन्छ तर मूल्य घटाउन प्रयासरत अर्को समूहले भने अन्तिम दोस्रो कारोबार भने ६ दशमलब २६ प्रतिशतले घटाएर २५ कित्ता शेयर ८ सय ५४ रुपैयाँ ९० पैसामा गराएको देखिन्छ। यसरी मूल्य बढाउन खोज्ने र घटाउन खोज्ने समूहले अप्राकृतिक रुपमा मूल्यलाई ‘एमकेटी’ अप्सनको प्रयोग गरेको फ्लोरसिटले देखिन्छ जसले समग्र कारोबारको मूल्यलाई प्रतिनिधित्व गर्ने गरेको छैन। विगत केही दिनदेखि पिपुल्स पावरको शेयरमूल्य दिनभरी नकारात्मक मूल्यमा कारोबार हुने गरे पनि अन्तिम समयमा भने केही कित्ता शेयर महंगो मूल्यमा खाएर कम्पनीको शेयर मूल्य माथिल्लो तहमा कायम गर्ने प्रयास गरेको देखिएको छ।
यस्तो मूल्यमा चलखेल केही समय अगाडि नेपाल टेलिकम, जोशी हाइड्रोपावर लगायतका कम्पनीमा पनि भएको देखिएको थियाे। आफ्नो समूहको होल्डिङ भएको कम्पनीको शेयरमूल्य अन्तिम समयमा केही कित्ता शेयर किनेर माथिल्लो विन्दुमा कायम गर्ने प्रयास स्वरुप यस्तो अप्राकृतिक चलखेल गर्ने गरेको लगानीकर्ताहरु बताउँछन्। यस्तो अन्तिम समयमा मात्रै मूल्यमा चलखेल गर्ने प्रवृत्ति रोक्न अन्तिम कारोबार मूल्यलाई अन्तिम मूल्य मान्ने क्रम रोकिनु पर्ने सरोकारवालाहरुले माग गर्न थालेका छन्।
पेशाले इन्जिनियर समेत रहेका प्राविधिक विश्लेषक सुबासचन्द्र ढुंगाना अन्तिम कारोबारको मूल्यलाई नै अन्तिम मूल्य ‘क्लोजिङ प्राइस’ मान्ने जुन अभ्यास नेप्सेमा छ, त्यो परिवर्तन गर्नुपर्ने बताउँछन्। ‘ओपनिङ प्राइसको लागि प्रि ओपनिङ सेसन चलाए जस्तै क्लोजिङ प्राइसको लागि पनि पोस्ट क्लोजिङ सेसन चलाउनुपर्छ,' उनले भने। कारोबार समयभरीको भोल्युमलाई वेटेज दिएर त्यसको मूल्यको आधारमा क्लोजिङ प्राइस तोकिंदा त्यो पनि वैज्ञानिक नै हुने उनको तर्क छ। अर्को विकल्प भनेको अन्तिम आधा घण्टाको कारोबार मूल्यको औसत मूल्यलाई ‘क्लोजिङ प्राइस’ को रुपमा तोक्ने अभ्यास समेत अन्य देशहरुमा रहेको उनले बताए।