तर, यसपटक नेपाल राष्ट्र वैंकको गभर्नर नियुक्ति जसरी वादविवाद, मुद्धा मामिला र राजीनामाको चाङहरुको बिचबाट भयो, त्यो नेपालको इतिहासमा मात्र होइन, सम्भवतः विश्वकै वैंकिङ इतिहासको लागि दूर्भाग्यपूर्ण रेकर्ड हो ।
शुरुमा गभर्नरको दौडमा नेपथ्यमा समेत नदेखिएका डा. विश्वनाथ पौडेल सत्तारुढ पार्टीहरु नेपाली कांग्रेस र एमाले बीचको विवाद, एक अर्कालाई गलाएर ‘आफ्नो मान्छे’ नियुक्ति गर्ने रणनीति र अकर्मण्यता लम्बिदै गएपछि संयोगवस केन्द्रिय वैंकको नेतृत्व गर्न पुगेका छन् । यसपटक गभर्नरको कुर्सी दौडमा ‘राजिनामाको लहर’ यस्तोसंग चल्यो कि त्यसले नेपालको वैंकिङ इतिहासमा ‘अब यस्तो नहोस्’ भनेर लेख्नु पर्ने अवस्था सृजना भएको छ ।

गभर्नर नियुक्तिको चर्चा शुरु भएपछि सबैभन्दा पहिले नबिल वैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिए । उनको दुई पटकको कार्यकाल सकिन लागेको भए पनि उनी केही समयपछि स्वतः वैंकबाट हट्नु पर्ने थियो । तर, आफैले ‘म गभर्नरको दौडमा लाग्नको लागि सिईओबाट राजीनामा दिएको हुँ’ भन्ने घोषणा गरेर राजिनामाको लहर मात्रै होइन, गभर्नरको पद हत्याउन लिगलिगे दौड नै शुरु गरे ।
त्यसपछि ‘गभर्नर बन्नकै लागि’ नेपाल राष्ट्र वैंकका कार्यकारी निर्देशकद्धय डा. गुणाकर भट्ट र डा. प्रकाश श्रेष्ठले राजीनामा दिए, जस्लाई कायम मुकायम गभर्नर डा. निलम तिमिल्सिनाले स्वीकार नै गरिनन् । उनीहरुको राजिनामा अझै स्वीकृत भएको छैन । विभिन्न समयमा गभर्नर छनौट समितिका सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले सरकारले समितिलाई पङगु बनाएको भन्दै राजीनामा दिए । उनको ठाउँमा सरकारले अहिलेका गभर्नर डा. विश्वनाथ पौडेललाई गभर्नर छनौट समितिको सदस्य नियुक्त गर्यो । त्यतिबेलासम्म आफू गभर्नर हुन्छु भनेर स्वंय पौडेललाई विश्वास थिएन, विश्वास भएको भए उनी समितिको सदस्य बन्ने नै थिएनन् ।
तर, कांग्रेस र एमालेबीच गभर्नर बनाउन सहमति भएका डा. भट्टको राजीनामा स्वीकृत नगरी कायममुकायम गभर्नर तिमिल्सिनाले अत्तो थापेपछि अन्ततः नेपाली कांग्रेसले गर्भनरको नयाँ ‘उम्मेद्वार’को रुपमा पौडेललाई प्रस्ताव गर्यो । र, उनले गभर्नर छनौट समितिको सदस्यबाट राजिनामा दिए । उनको ठाउँमा डा. पोषराज पाण्डेलाई छनौट समितिको सदस्य बनाइयो ।
अर्थात गभर्नर नियुक्तिको घनचक्करमा राजीनामा दिने पाँचौ पात्र बनेका पौडेल अन्ततः राजीनामा दिएको एक साता नवित्तै केन्द्रिय बैंकको नेतृत्व सम्हालेका छन् । र, उनको लागि मुख्य चुनौति फेरि ‘राजीनामा’ नै बन्ने देखिएको छ ।
राष्ट्र वैंकका अधिकारीहरु आफै गभर्नर बन्ने दौडमा रहेकी डा.तिमिल्सिना र उनको पक्षमा रहेका राष्ट्र वैंकका अधिकारीहरुले गर्ने असहयोग र डा. भट्ट जस्ता क्षमतावान र ‘लाइन मिल्ने’ व्यक्तिको अभावले नवनियुक्त गभर्नर पौडेलले दवाव महसुस गर्नेमा शंका छैन । त्यहीकारण उनले डा.भट्टलाई राजीनामा फिर्ता लिन लगाएर आफूलाई सहयोग गर्न लगाउने प्रयास गर्ने संकेत गरेका छन् । पदबहालीकै क्रममा विभिन्न संचारमाध्यमहरुलाई दिएको प्रतिकृयामा गभर्नर पौडेलले भट्टलाई नै संकेत गर्दै ‘अब पहिलेको जस्तो अवस्था नरहेकोले राजीनामा फिर्ता लिएर आफूलाई सहयोग गर्न’ अनुरोध गरिसकेका छन् । उनले सम्पर्क गर्ने प्रयास गरिरहे पनि हाल अमेरिकामा रहेका भट्टसंग सम्पर्क नभएको बताइएको छ ।
कार्यकारी निर्देशककोरुपमा भट्टको कार्यकाल अझै करिब ६ महिना अर्थात कार्तिकसम्म छ ।