बिहीबार नेप्से परिसूचक १९.०४ अंक बढेर २६८८.५५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५४ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १० अर्ब ६९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८६ हजार ६८५ पटकको कारोबारमा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँबराबरको २ करोड २३ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९३ रुपैयाँ १० पैसा बढेर १ हजार २४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंककाे शेयरमूल्य करिब ८ प्रतिशत बढेकाे छ भने फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य यस दिन सर्वाधिक ९.९९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६९ करोड १ लाख ७२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ६० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे ४२ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.८२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६० प्रतिशत घटेको छ।