गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा कमाएका यी २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ मात्र नाफा कमाएका छन्। समीक्षा अवधिमा यो ९.९४ प्रतिशत घटेको हो।
४ बैंकहरुको मात्र नाफा बढ्यो
समीक्षा अवधिमा ४ बैंकहरुले मात्र नाफा बढाउन सफल भएका छन्। जसमध्ये हिमालयन बैंकको नाफा सर्वाधिक ५७.५३ प्रतिशत बढेको छ। त्यसैगरी, प्राइम कमर्सियल बैंकको खुद नाफा समीक्षा अवधिमा ३२.१३ प्रतिशत बढेको छ भने एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले यस आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ।
नेपाल बैंकको नाफा सर्वाधिक घट्यो
समीक्षा अवधिमा नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ करोड रुपैयाँ मात्र नाफा कमाएको छ।
नबिलको नाफा सबैभन्दा धेरै
पुस मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ। सो बैंकले यस अवधिसम्ममा ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो।
सो अवधिसम्ममा सबैभ्न्दा कम नाफा भने नेपाल बैंक लिमिटेडको रहेको छ।