Ipo.aspx merolagani - आइपीओ नै जारी नगर्दै संस्थापक शेयर बिक्री गरिँदै, मुलुकको प्रतिष्ठित समूहले गलत बाटो किन रोज्यो ?

आइपीओ नै जारी नगर्दै संस्थापक शेयर बिक्री गरिँदै, मुलुकको प्रतिष्ठित समूहले गलत बाटो किन रोज्यो ?

Feb 01, 2024 06:18 AM Merolagani

नेपाल धितोपत्र बोर्डले ‘गोल्डम्यान इन्भेस्टमेन्ट लिमिटेड’को बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध गर्‍यो।

  • बोर्डको अनुरोधमा केन्द्रीय बैंकले उक्त कम्पनीको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दियो। उक्त कम्पनी दीपेन्द्र अग्रवालले सञ्चालन गरिरहेका थिए। उनले फेसबुक, युट्युब, भाइवरलगायत विभिन्न सामाजिक सञ्जालमा संस्थापक शेयर धनी बन्नका लागि आह्वान गरेका थिए। कम्पनी स्थापना भएको ५ वर्षमा विभिन्न क्षेत्रका ५० वटा कम्पनी सञ्चालन गरिनुका साथै कम्पनीमा अहिले गरिएको १० लाख रुपैयाँ आउने १० वर्षमा १० करोड रुपैयाँ हाराहारी हुने उनको दाबी थियो। सोही कारण उनको खाता रोक्का गर्न बोर्डले केन्द्रीय बैक गुहारेको थियो।
  • धितोपत्र बोर्डले सोही समयमा डा. केशव श्रेष्ठले सञ्चालन गरेको लक्ष्य होल्डिङ कम्पनीको बैंक खाता रोकेको थियो। श्रेष्ठले १० हजार शेयरधनीबाट पैसा उठाएर कम्पनी खोल्ने र उक्त कम्पनीले आउने दिनमा धेरै ठुलो लाभ दिने कुरा सामाजिक सञ्जाल मार्फत फैलाइरहेका थिए। सोही कारण उनको पनि खाता रोक्का गरिएको थियो।

सुवास निरौला

कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्नु पूर्व प्रचार प्रसार गरेर आम सर्वसाधारणबाट पैसा उठाउन पाउँदैन। धितोपत्र ऐनमा ५० जनाभन्दा बढी व्यक्तिसँग रकम सङ्कलन गर्नु परेमा नेपाल धितोपत्र बोर्डको अनुमति लिनुपर्ने भनेको छ। सोही कारण बोर्डले उनीहरूको खाता रोक्का गरेको हो।

बोर्डले खाता रोक्का गरेका माथिका उदाहरणले पनि कुनै पनि कम्पनीले संस्थापक खोज्न विज्ञापन गर्न पाउँदैनन्। तर अहिले भने त्यस्ता केही मानिसहरूले सोही बाटो अख्तियार गरिरहेका छन्। तर धितोपत्र बोर्ड भने मौन छ।

नाम नसुनिएका कम्पनीहरूबाट त्यस्ता गतिविधि हुनुलाई सामान्य रुपमा लिन सकिए पनि अहिले बजारमा निक्कै प्रख्यात समूहले समेत सोही बाटो अख्तियार गरिरहेको बताइएको छ। प्रभु समूहका शेयरधनीलाई कम्पनीले मोबाइल म्यासेज पठाउँदै संस्थापक शेयर किन्न अनुरोध गरिरहेको छ। “आदरणीय शेयरधनीज्यु यस केबलकार कम्पनीले आफ्ना मुख्य साझेदार कम्पनीका शेयर रहेको कम्पनीका शेयरधनीहरुलाई यस कम्पनीमा शेयर लगानी गर्न दिने निर्णय भएको ब्यहोरा अनुरोध छ। प्रभु केबलकार एण्ड टुरिजम कम्पनीले प्रभु समूहका शेयर धनी सुबोध भट्टराईलाई (नाम परिवर्तन) पठाएको म्यासेजमा उल्लेख छ। अझै कम्पनीले अहिले नै प्रति कित्ता एक सय फेस भ्यालु भएको कम्पनीको शेयरमा थप १५ रुपैयाँ प्रिमियम माग गरिरहेको छ। उसले प्रति कित्ता एक सय १५ रुपैयाँ पर्ने भनेको छ। “एक सयको शेयरलाई १५ रुपैयाँ बढी पर्ने भनेको छ। १० कित्ता लिए पनि हुने भन्छ ” भट्टराईले भने।

जबकि कम्पनीले शेयर निष्काशन गरिसकेको छैन। कम्पनी ऐन २०६३ को दफा ९ अनुसार प्राइभेट कम्पनी स्थापना गर्दा शेयरधनीहरुको सङ्ख्या १०१ भन्दा बढी हुन नहुने र पब्लिक कम्पनीहरूको सेयरधनीहरुको सङ्ख्या कम्तीमा ७ जना र बढीमा जतिसुकै हुने भनिएको छ। तर प्रभु केबलकार पब्लिक कम्पनीमै रूपान्तरण भइसकेको भए पनि उसले विज्ञापन गरेरै संस्थापक बन्न अनुरोध गर्न सक्दैन। त्यसमा धितोपत्र एेन आकर्षित हुन्छ। यस अघि त्यस्तो क्रियाकलापमा बोर्डले कडा कदम चालेको अवस्था थाहा पाउँदा पाउँदै पनि प्रभु जस्तो समूहले यस्तो बाटो किन अख्तियार गर्‍यो त्यो भने अझै अन्योल नै छ। यस विषयमा धितोपत्र बोर्डले भने आफ्नो जनाकारीमा नआएको जनायो।

प्रभु केबलकार एन्ड टुरिजम लिमिटेड प्रभु समूह र कम्पनीहरूको सहायक कम्पनी हो। कम्पनीको अधिकृत पुँजी ५० करोड छ। यसमा प्रभु होल्डिङ्स एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको १९.६ प्रतिशत, हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९.६ प्रतिशत, प्रभु जलविद्युत विकास लिमिटेडको ९.८ प्रतिशत र प्रभु ऊर्जा कृषि प्राधिकरण विकास लिमिटेडको ५१ प्रतिशत स्वामित्व रहेको कम्पनीले जनाएको छ।

प्रारम्भिक पब्लिक अफर (आइपीओ) पश्चात् यस कम्पनीको कम्तीमा ७० प्रतिशत शेयर प्रभु समूह र कम्पनीको रहने र कम्पनीले आफ्ना शेयरधनीहरूलाई संस्थागत सुशासन सुनिश्चित गर्न र आफ्ना लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिन निरन्तर काम गरिरहेको जनाएको छ।

कम्पनीले संस्थागत संस्थागत सुशासन सुनिश्चित गर्ने भनिरहदा सुशासन भन्दा बाहिर गएर प्राथमिक शेयर त्यो प्रिमियम मूल्यमा आह्वान जस्तै गर्नलाई नजर अन्दाज गर्न नहुने भट्टराईले बताए।  

comments powered by Disqus