Ipo.aspx merolagani - बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM MEROLAGANI

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।

नेम्वाङ्गको घर जग्गाधितो राखेर नेपाल वैंकबाट विसं २०७३ मा १ करोड ५० लाख रुपैंया लिएका झापाका रुद्र गिरीले पैसा तिर्नुको साटो ‘राष्ट्रिय स्वतन्त्र पार्टीको नेता हुँ, धेरै कुरा गरे ठेगान लगाइदिन्छु’भन्दै वैंकका अधिकारीहरु र नेम्वाङ्गको परिवारलाई समेत धम्काइरहेका छन् ।

विगतमा एलोभेरा र स्टेभियाबाट करोडौंको आम्दानी हुने भन्दै चितवन लगायत देशका हजारौं किसानलाई ठगी गरेपछि केही वर्ष जेल परेका थिए । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि सो पार्टीमा लागेका गिरी गत आम निर्वाचनमा झापा क्षेत्र नं २ बाट चुनाव लडेका थिए । जहाँ उनले ५ हजार ७३८ मत ल्याएका थिए, सो क्षेत्रबाट हाल सभामुख रहेका एमाले उम्मेद्वार देवराज घिमिरे २८ हजार ७१६ मत ल्याइ विजय भएका थिए । गिरीलाई मत माग्न लामिछाने पनि झापा पुगेका थिए ।

गिरीले ठगी काण्डमा २०७५ मा आफू जेल पर्नु अगाडी नै पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्राली को लागि पूर्वसभामुख स्व. नेम्वाङको जग्गाधितो राखेर लिएको ऋण असुलीका लागि पटकपटक ताकेतागर्दा पनि कर्जा चुक्ता नभए पछि बैंकले माघ ५ गते धितो लिलामीको सूचना निकालेको छ ।गिरीको कारण आफूहरुको पैत्रिक घर जग्गा नै लिलामी हुने भए पछि नेम्वाङ्ग परिवारले गिरीसँग हिसाब किताब मिलाइदिन अनुरोध गरेको थियो । तर, गिरीले ‘जे सक्छौ गर, मलाई बचाउने रविदाई छन्’ भन्दै उल्टै धम्कि दिने गरेको नेम्वाङ परिवारका सदस्यहरु बताउँछन् । गिरीले कर्जा असुलीको लागि ताकेता गर्ने वैंकका अधिकारीहरुलाई ‘रविको मान्छे हुँ’भन्दै धम्काउने गरेको बताइएको छ ।

बैंकका अनुसार पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिका सञ्चालक देव कुमारी लिम्बु (सुवास नेम्वाङको भाई बुहारी) र रुद्रप्रसाद (काजिमान)गिरीले नेम्वाङको नाममा इलाम नगरपालिका–२ (क)मा रहेको २४६ कित्ता नम्बरको ६ रोपनी जग्गा धितो राखेर २०७३ जेठ र चैत्रमा गरी डेढ करोड रुपैयाँ ऋण लिएका थिए ।त्यसको व्याज मात्रै ८० लाख रुपैयाँभन्दा धेरै पुगिसकेको छ ।

नेम्वाङको परिवारका सदस्यहरुका अनुसार गिरीले इलाम जिल्लामै नमुना कृषि उद्योग संचालन गर्ने र आफू प्रायःझापा र काठमाण्डौतिर बस्ने भएकोले उद्योगको खास जिम्मेवारी सुवासका परिवारमै रहने भन्दै धितो राख्नको लागि नेम्वाङ्ग परिवारलाई सहमत बनाएका थिए । तर, उद्योग खोल्ने भनेर शुरु शुरुमा काम गरे जस्तो गरे पनि वैंकबाट पैसा आएपछि भने उनी नेम्वाङ परिवारसंग टाढिदैं गएका थिए । वैंकबाट ऋण निकालेपछि गिरीले न त त्यो पैसा नेम्वाङ्ग परिवारलाई दिए, न त उद्योग नै खोले । बरु इलाम जानै छोडिदिए ।

आफ्नो घर जग्गा धितो राखेर पैसा निकालेर गिरी वेपत्ता भएपछि नेम्वाङले पटक पटक भेटन खोजेका थिए । तर, गिरीले नेम्वाङ्गलाई समेत भेटेनन्,न त किस्ता नै तिरे । लामो समय बित्दा पनि ऋणको किस्ता नआएपछि बैंकले ऋण तिर्न ताकेता गर्न सुरु गरेको थियो । नेम्वाङ स्वयम आफैँले कर्जा चुक्ता गर्ने भने पछि बैंक त्यसबेला ऋणी र जमानीकर्तालाई कालोसूचीमा राख्ने कार्यबाट पछि हटेको थियो ।तर, नेम्वाङको निधन भइ सक्दा पनि ऋणीले ऋण चुक्ता गर्न चासो नदेखाएपछि लिलामीको सूचना निकाल्न बाध्य भएको बैंकले जनाएकोछ।

नेपाल वैंकका अधिकारीहरु नेम्वाङ्गको लिलामीको सूचना धेरै जनाको लागि एउटा पाठ भएको बताउंछन् । आफू नजिकका कुनै व्यक्तिहरुले केही काम गर्न चाहे सहयोग गर्ने चाहानेले घर जग्गाधितो राख्नदिनेहरु त्यसरी फसिरहेको बताउंछन् । ‘सहयोग गर्न खोज्दा फस्नेहरु धेरै छन् । विचरा आफूले एक रुपैंया खाएको हुदैन, धितो राखेर पैसा अर्कैले खाइदिन्छ,आफ्नो बदनामी हुन्छ र कतिपय अवस्थामा त घर जग्गा नै गुमाउनु पर्छ । अहिले गिरीको कारण नेम्वाङ परिवार त्यस्तै अवस्थामापुगेको छ’ नेपाल वैंकका एक अधिकारीले मेरो लगानीसंग भने।

comments powered by Disqus