Ipo.aspx merolagani - पुनर्बीमा कम्पनीको शेयरमा इन्साइडर ट्रेडिङको आशंका

पुनर्बीमा कम्पनीको शेयरमा इन्साइडर ट्रेडिङको आशंका

Jan 31, 2024 07:07 PM MeroLagani

नेपाल बीमा प्राधिकरणले पुनर्विमा कम्पनीहरुलाई १ वर्ष भित्र चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । हिमालयन रिइन्स्योरेन्सले आइपीओ निष्काशन गरेर सुचीकृत हुनासाथ केही सीमित ब्रोकरबाट भारी मात्रामा दुईवटा रिइन्स्योरेन्सको शेयर मात्रै खरिद भएको विगत केही हप्ताको फ्लोर सिट विश्लेषणबाट देख्न सकिन्छ ।

मेरो लगानीले नै पहिलोपटक बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको पुँजी वृद्धि गर्ने तयारी गरेको समाचार प्रकाशित गरेको थियो । त्यो भन्दा अगाडि देखि नै नेपाल पुनर्विमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको शेयर एक्युमुलेट भइरहेको थियो । हिमालयन रिइन्स्योरेन्सको सवालमा त ‘कसको लागि उठायो एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर ?’ भनेर अर्को समाचार समेत प्रकाशित भएको थियो ।

बीमा प्राधिकरणबाट आउने निर्देशनको पूर्व जानकारी पाएर नै नेपाल पुनर्वीमा र हिमालयन रिइन्स्योरेन्सको शेयर केही ठूला लगानीकर्ताले उठाएको हुन सक्ने आशंका गरिएको छ । विशेषगरी नेपाल रिइन्स्योरेन्सको सवालमा ब्रोकर नं. ६ बाट भारी मात्रा शेयर खरिद गरिएको देखिएको छ भने हिमालयन रिइन्स्योरेन्सको सवालमा ब्रोकर नं. ५५ बाट भारी मात्रामा शेयर खरिद गरिएको देखिएको छ । फ्लोर सिट विश्लेषण गर्दा ब्रोकर नं. ६ ले बुधबार मात्रै १ लाख ३ हजार ३ सय ४६ कित्ता नेपाल रिइन्स्योरेन्स खरिद गरेको देखिएको छ भने हप्ताभित्रमा २ लाख ३२ हजार ३ सय ३२ कित्ता र १ महिनाको दौरान ६ लाख ५० हजार २ सय ८५ कित्ता दौरान सोही ब्रोकरले मात्रै खरिद गरेको देखिएको छ ।

त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार हुन थालेको १७ औं पटकमा ५५ नम्बर ब्रोकरले २१ लाख १५ हजार ७ सय २३ कित्ता शेयर खरिद गर्न भ्याएको छ । पहिलो सात कारोबार दिनसम्म हरेक दिन सर्किट ब्रेकरमा कारोबार भएको थियो भने आठौं दिनदेखि मात्रै चाहे जति हिमालयन रिइन्स्योरेन्सको खरिद गर्न सकिने अवस्था बनेको थियो । पछिल्लो ८–९ कारोबार दिनमा २१ लाखभन्दा बढी शेयर एउटै ब्रोकरबाट उठाइनुलाई भित्री सूचना पाएर नै त्यत्रो शेयर उठाएको आशंका गरिएको छ । फ्लोटसिट विश्लेषण अनुसार बुधबार ६९ नम्बरको ब्रोकरले सबैभन्दा बढी ५५ हजार २ सय ४१ कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर खरिद गरेको देखिएको छ भने साप्ताहिक रुपमा हेर्दा भने सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको शेयर खरिद गर्ने ब्रोकरमा २८ नम्बर ब्रोकर देखिएको छ । चाहिने जति शेयर उठाइसकेपछि मात्रै नेपाल बीमा प्राधिकरणको पुनर्वीमाको चुक्ता पुँजी २० अर्ब पुर्याउने निर्देशन आउनुलाई सबैले मिलिभगतको संज्ञा दिएका छन् ।

अहिले नेपालमा नेपाल पुनर्वीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स गरेर दुई वटा कम्पनी सञ्चालित छन् । नेपाल पुनर्बीमा कम्पनीको हाल कायम चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ८ सय रुपैयाँ रहेको छ भने हिमालयन रि इन्स्योरेन्सको पुँजी १० अर्ब रुपैयाँ मात्रै छ । हिमालयन रिइन्स्योरेन्सले हालै मात्रै २ सय ७ रुपैयाँमा आईपीओ निष्काशन गरेर चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुर्याएको हो । बीमा प्राधिकरणको नयाँ निर्देशन अनुसार नेपाल पुनर्विमा कम्पनीले ७ अर्ब १९ करोड रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सले १० अर्ब रुपैयाँ पुँजी थप्नु्पर्ने भएको छ । दुवै कम्पनीको रिजर्भमा पर्याप्त रकम नभएका कारण थप पुँजीको लागि दुवै कम्पनीले हकप्रद निष्काशनकै भर पर्नुपर्ने देखिएको छ ।

केही समय अघि मात्रै जीवन र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी बढाएको बीमा प्राधिकरणको अब जोखिमको आधारमा पुनर्बीमा कम्पनीलाई समेत चुक्ता पुँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको हो ।

comments powered by Disqus