Ipo.aspx merolagani - दुबै पुनर्बीमा कम्पनीले बोनस दिएर पूँजी पुर्याउन नसक्ने, कसरी पुर्याउलान् पूँजी?

दुबै पुनर्बीमा कम्पनीले बोनस दिएर पूँजी पुर्याउन नसक्ने, कसरी पुर्याउलान् पूँजी?

Jan 31, 2024 05:46 PM Merolagani

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ। एक वर्षभित्र २० अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन कम्पनीहरुसँग कार्ययोजना समेत मागेको छ।

बीमा र निर्जीवन बीमा कम्पनीहरुको पूँजी बृद्धि पछि प्राधिकरणले अब पुनर्बीमा कम्पनीको पूँजी बृद्धिको निर्णय गरेको हो। २०८१ माघ मसान्तसम्ममा पुनर्बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने गरी निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। पूँजी पुर्याउनको लागि दुबै कम्पनीले १५ दिनभित्र कार्ययोजना प्राधिकरणलाई बुझाउनुपर्ने छ।

  • कसलाई कति चाहिन्छ पूँजी?

हाल सञ्चालनमा रहेका दुबै पुनरर्बीमा कम्पनीको चुक्ता पूँजी बीमा प्राधिकरणले तोकेको भन्दा कम छ।
नेपाल पुनर्बीमा कम्पनीको कुल चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ। बीमा प्राधिकरणले तोके अनुसारको पूँजी पुर्याउन कम्पनीलाई ७ अर्ब १९ करोड रुपैयाँ पूँजी आवश्यक पर्छ।

हिमालयन पुनर्बीमा कम्पनीको कुल चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ। ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन इन्स्योरेन्सले केहि समय अघि मात्रै सर्वसाधारणमा ३ अर्ब रुपैयाँको आइपीओ जारी गरी चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याएको थियो। भर्खरै आइपीओ जारी गरेको हिमालयनले पनि आगामी १ वर्षभित्र चुक्ता पूँजी शत प्रतिशत अर्थात १० अर्ब रुपैयाँले बढाउनु पर्ने भएको छ।

  • बोनस दिएर पूँजी पुर्याउन नसक्ने

गत आर्थिक वर्षसम्मको वित्तीय विवरण हेर्दा दुईवटै पुनर्बीमा कम्पनीहरुले बोनस दिएर प्राधिकरणले तोके अनुसारको पूँजी पुर्याउन नसक्ने देखिएको छ।

विवरण अनुसार गत असार मशान्तसम्ममा जगेडा तथा कोषमा निजीवन बीमातर्फ ३ अर्ब ४३ करोड रुपैयाँ छ भने जीवन बीमातर्फ ७१ करोड रुपैयाँ रहेको छ। उसले गत आर्थिक वर्षमा ९१ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको छ।

नेपाल पुनर्बीमा कम्पनीले बोनस शेयर वितरण गरेर पूँजी पुर्याउन ५६.१ प्रतिशत बोनस शेयर दिनुपर्ने हुन्छ। हालसम्मको विवरण अनुसार कम्पनीले ५६ प्रतिशत बोनस शेयर वितरण गर्न सक्ने क्षमता छैन। यसले गर्दा उसले अन्य उपाय खोज्नुपर्ने देखिन्छ।

हिमालयन पुनर्बीमा कम्पनीले पनि शतप्रतिशत पूँजी बढाउनु पर्ने छ। विवरण अनुसार गत आर्थिक वर्षको अन्तिमसम्ममा ४४ करोड रुपैयाँ मात्रै छ। उसले आइपीओ जारी गर्दा उठाएको प्रिमियम वापत शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ छ। हिमालयन रिइन्स्योरेन्ससँग पनि बोनस दिएर पूँजी पुर्याउने पर्याप्त रकम छैन्।

  • जीवन र निर्जीवन बीमा कम्पनीले अझै पुर्याउन सकेका छैनन् पूँजी, पुनर्बीलाई पनि हकप्रदकै भर

नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन दिएको समयसीमा सकिंदा समेत बीमा कम्पनीहरुले पूँजी पुर्याउन सकेका छैनन्।

प्राधिकरणको निर्देशन अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने थियो । तर प्राधिकरणले तोकेको समय सीमा सकि सक्दा पनि अधिकाँश जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी कायम गर्न सकेनन्।

बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार सातवटा बीमा कम्पनीहरुले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् । तीनवटा जीवन बीमा कम्पनी र चारवटा निर्जीवन बीमा कम्पनी गरी सात वटा कम्पनीले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याउन सफल भएका हुन् । जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्स,हिमालयन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले पूँजी पुर्याएका छन् भने निर्जीवन बीमा तर्फ आइजीआई प्रडेन्सिलय इन्स्योरेन्स,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स,शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै मात्रै तोकेअनुसारको पूँजी पुर्याएका छन्।

अझै ११ वटा जीवन बीमा कम्पनी र १० वटा निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । आफुले दिएको समयसीमासम्म पनि अधिकाँश कम्पनीहरुले पूँजी पु्र्याउन नसकेपछि अहिले प्राधिकरणले बीमा कम्पनीहरुलाई हकप्रद निष्कासनकाे बाटो खुल्ला गरेको छ। पूँजी नपुगेका बीमा कम्पनीहरु अहिले धमाधम हकप्रद शेयर जारी गर्ने तयारीमा छन्।

बीमा कम्पनीहरुले जस्तै पुनर्बीमा कम्पनीलाई पनि पूँजी पुर्याउन प्रधिकरणले हकप्रदकै बाटो खोल्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ।

 

comments powered by Disqus