Ipo.aspx merolagani - शेयर बजारलाई कडाइ गर्ने नीतिमा गभर्नर ‘टसमस’ नगरेपछि बजारले देखायो ‘रेड सिग्नल’

शेयर बजारलाई कडाइ गर्ने नीतिमा गभर्नर ‘टसमस’ नगरेपछि बजारले देखायो ‘रेड सिग्नल’

Feb 13, 2024 12:02 PM Merolagani

नेपाल राष्ट्र बैंकले सोमबार (हिजो) सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लगानीकर्ताको अपेक्षा अनुसार आउन नसक्दा लगानीकर्ता निराश बनेका छन् । लगानीकर्ता अपेक्षा पूरा हुन नसकेको संकेत मौद्रिक नीतिपछि पहिलो पल्ट आज खुलेको शेयर बजारले पनि देखाएको छ ।

मौद्रिक नीति पछि खुलेको शेयर बजार ओरालो लाग्न पुगेको छ । यो समाचार तयार गर्दासम्म नेप्से दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिले संस्थागत निक्षेपकर्तालाई एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था बाहेक अन्य व्यवस्था नगरेकोले लगानीकर्ता निराश बनेका हुन् ।

मौद्रिक नीतिको समीक्षामा ‘संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिनेछ,’ भनिएको छ । यसअघि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत थियो ।

मौद्रिक नीतिमा बजार मैत्री नीति नआएका कारण शेयर बजार ओरालो लाग्न पुगेको एक लगानीकर्ताले बताए । ‘मौद्रिक नीतिमा लगानीकर्ताले जुन अपेक्षा गरेका थिए, त्यो अपेक्षा अनुसार मौद्रिक नीतिको समीक्षा नआएकाले बजारले नकारात्मक दिशा समाएको हो,’ ती लगानीकर्ताले भने, ‘मौद्रिक नीतिको समीक्षा नकारात्मक नआएपनि सकारात्मक आउन सकेन, त्यसैले बजार ओरालो लाग्न पुगेको हो ।’

लगानीकर्ताहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अनौपचारिक रुपमा भेटी शेयर बजार सुधारका लागि कम्तिमा तीन नीतिगत सुधार गर्नका लागि आग्रह गरेका थिए ।

गभर्नरलाई जोखिम भार घटाउन, क्याप हटाउन र बैंक वित्तले शेयर खरिद गर्न पाउने व्यवस्था गर्न आग्रह गर्दै थिए । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर कर्जाको जोखिम भार १५० बाट १२५ झारिएको थियो । उक्त जोखिम भारलाई अझै कम गर्न लागानीकर्ताहरुले गभर्नर अधिकारीलाई दबाब दिँदै आएका थिए । त्यसमा गभर्नर ‘टसमस’ नगरेपछि बजार ओरालो लाग्न पुगेको हो ।

त्यसैगरी, लगानीकर्ताहरुले शेयर धितो कर्जामा लगाइएको ‘क्याप’ हटाउन पनि माग गरेका थिए । राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमामा क्याप लगाएको छ । शेयर धितो कर्जामा व्यक्तिगतलाई १५ करोड र संस्थागतलाई २० करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था गरेको छ ।

त्यसमा कसलाई कति भन्दा पनि आफ्नो सम्पत्ति राखेर लोन लिन पाउनु पर्ने माग लगानीकर्ताले राख्दै आएका थिए । त्यसमा पनि गभर्नर लचिलो देखिएनन् ।

राष्ट्र बैंकले लगाएको क्यापको प्रावधानले शेयर बजारमा असर पारिरहेको लगानीकर्ताको भनाइ छ । राष्ट्र बैंकको ४-१२ को नीति पछि शेयर बजार ओरालो लागेको अहिलेसम्म पनि उकालो लाग्न सकेको छैन् ।

अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेको बताउँदै आएका गभर्नर अधिकारीले १५-२० को ‘ब्रेकर’ किन लगाउनु पर्यो भन्ने प्रश्न लगानीकर्ता गर्दै आएका छन् ।

अर्थशास्त्रीहरुले समेत घट्दो शेयर बजारमा १५-२० करोड क्याप लगाउनु उचित नहुने तर्क गदै आएका छन् । पछिल्लो समय बैंकका ब्याजदर निरन्तर घट्दै गएको छ । तर, ब्याजदर घट्दा पनि शेयर बजार बढ्न सकेको छैन् ।

त्यसैगरी लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाले निश्चित रकम बराबरको शेयर खरिद गर्न दिनु पर्ने आवाज पनि गभर्नर अधिकारीसँग उठाउँदै आएका छन् । कोर क्यापिटलको ४० प्रतिशतसम्म बैंक वित्तीय संस्थाले हेरेर लगानी गर्न पाउनु पर्ने माग लगानीकर्ताले गर्दै आएका छन् । २०७८ साल भदौ ८ गते भन्दा अगाडि यही नियम थियो । पछि गभर्नर अधिकारीले यस्तो व्यवस्था खारेज गरेपछि बजार पनि ओरालो लाग्दै आएको थियो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि शेयर बजार ओरालो लाग्नु यी कारण भएको लगानीकर्ताहरुको भनाइ छ ।

comments powered by Disqus

प्रतिकित्ता १०० रुपैयाँ पुग्न हम्मे परेको शेयर दैनिक सर्किटमा कारोबार हुँदै १,५०० पुग्याे

Feb 15, 2024 12:19 PM

कुनै समयमा प्रति कित्ता एक सय रुपैयाँ पुग्न हम्मे हम्मे परेको समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज झन्डै १५ सय रुपैयाँमा पुगेको छ ।