कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै उनले धेरै नै लचिलो नीति अख्तियार गरे। जसका कारण उनलाई चारैतिरबाट वाही वाही प्राप्त भयो। उक्त वर्ष पुनरकर्जा सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्दै पुनरकर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरेका थिए। कर्जा पाँच गुणाले मात्रै बढाइएन, त्यसको ब्याजदर समेत तल झारियो। “बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजदरमा निर्यातजन्य उद्योग र रुग्ण उद्योग लगायतका तोकिएका क्षेत्रमा विशेष पुनरकर्जा, २ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र ३ प्रतिशत ब्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनरकर्जा प्रदान गरिनेछ । यस्ता पुनरकर्जामा ऋणीले क्रमशः ३ प्रतिशत, ५ प्रतिशत र ५ प्रतिशत मात्र ब्याज तिर्नुपर्ने व्यवस्था गरिएको छ” उक्त वर्षको मौद्रिक नीतिमा उल्लेख छ। त्यसका अतिरिक्त कोभिड–१९ बाट अति प्रभावित पेसा-व्यवसाय सञ्चालन कर्जा, कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण र सहुलियतपूर्ण कर्जा लगायतका सुविधा उक्त वर्ष केन्द्रीय बैंकले उपलब्ध गराएको थियो।
अझै शेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि ६५ प्रतिशतबाट बढाई ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था गरियो। कर्जा प्रवाह गर्दा १८० दिनको औसत मूल्यलाई घटाइ १२० दिनमा झारियो।
केन्द्रीय बैंकले यावत सुविधा थलिएको अर्थतन्त्र चलायमान बनाउन भन्दै दिएको थियो। तर सो वर्ष अर्थतन्त्रले सोचेजस्तो गति लिएन, बरु शेयर बजारले भने राम्रै गति लियो। २०७७ साउन २ गते सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारलाई राम्रै सपोर्ट गर्यो। अर्को वर्ष भदौ २ गते शेयर बजारले ऐतिहासिक बिन्दु ३१९८.६० बिन्दु कायम गर्यो।
केन्द्रीय बैंकले दिएको सहुलियतपूर्ण कर्जा होस् वा पाँच गुणासम्म बढाएर दिएको पुनरकर्जा वा कोभिडले थलिएकाहरूलाई दिएको सहुलियतपूर्ण कर्जा सबै शेयर बजारमा आए । जसका कारण शेयर बजारले उचाइ लिन पुग्यो।
कर्जाको व्यापक दुरुपयोग हुन थालेको अवस्थालाई मध्यनजर गर्दै अर्को वर्षदेखि नै केन्द्रीय बैंकले दिएको सुविधा खोस्न थाल्यो। उसले रुखो नीति अघि सार्यो। अझै बढेको शेयर बजारलाई ४/१२ नीति अघि सारेर बेजोडले कस्यो।
अहिले यस्तै परिदृश्य बजारमा देखिन थालेको बताइएको छ। बैंक वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको दुरुपयोग हुन थालेको छ। बैंक वित्तीय संस्थाबाट अर्कै शीर्षकमा प्रवाह भएको ऋण अहिले शेयर बजारमा आउन थालेको छ। अहिले गएको कर्जाको ५० प्रतिशत भन्दा बढी कर्जा दोस्रो बजार तर्फ गएको केन्द्रीय बैंकको अनुमान छ। “अहिले जति पनि कर्जा गएको छ। त्यसको ५० प्रतिशत भन्दा धेरै कर्जा दोस्रो बजारमा आएको अनुमान छ” राष्ट्र बैंक स्रोतले भन्यो। केन्द्रीय बैंकका अनुसार इजि मनि शेयर बजार तर्फ डाइभर्ट हुन थालेको छ। केन्द्रीय बैंकले शेयर बजारमा के कति ऋण गएको भनेर हेर्न सक्छ। तर अहिले शेयर बजार शीर्षकमा मात्रै गएको ऋणले यति धेरै दोस्रो बजारको कारोबार रकम बढ्न सक्ने अवस्था हुँदैन। त्यस कारण अरू नै शीर्षकमा ऋण लिएर शेयर बजारमा लगाउन थलिएकोले अहिले कारोबार रकम बढ्दै गएको केन्द्रीय बैंकको अनुमान हो।
गत जेठ अघि सम्म एक/दुई अर्बमा सीमित हुँदै आएको कारोबार रकम त्यस यता बढेको छ। अर्को तर्फ शेयर धितो राखेर ऋण पाइने समूहका शेयर मूल्य नबढेको तर ऋण नपाइने क्षेत्रको शेयर मूल्य बढी बढेको कारण अर्कै शीर्षकमा पैसा लिएर शेयर बजारमा लगाइएको केन्द्रीय बैंकको अनुमान हो। यस अघि २०७८ मा जसरी शेयर बजारमा त्यो पनि खासगरि जलविद्युत क्षेत्रका कम्पनीमा पैसा आएको थियो। त्यस्तै अवस्था बिस्तारै देखिन थालेको बताइएको छ। जलविद्युत क्षेत्रका कम्पनीको शेयर मूल्य बढ्दै जानुको कारणको रुपमा यसलाई लिइएको छ।
केन्द्रीय बैंकले अहिले शेयर बजारलाई थप कस्न सक्ने अवस्था नरहेकोले पनि यस पटकको समीक्षामा कुनै फेर बदल नगरिएको स्रोतको भनाई छ। किनकि अहिले शेयर बजार तल्लो बिन्दु मै रहेका कारण कस्न नसकेको हो।
केन्द्रीय बैंक यसपटकको समीक्षा मार्फत थप लचिलो हुने योजनामा थियो। थप लचिलो बन्दा रियल इकोनमी भन्दा अरू नै क्षेत्रलाई बढी सहयोग पुग्ने भन्दै उसले यस पटकको समीक्षामा कुनै ठूलो परिवर्तन नगरेको बताइएको छ।