नेप्सेले यस दिन एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५२० रुपैयाँ ३ पैसा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५१२ रुपैयाँ ५८ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा एशियन लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य ६९६ रुपैयाँ ४४ पैसा र प्रभु महालक्ष्मीको ५५३ रुपैयाँ ५९ पैसा कायम भएको थियो।
यहि समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा यी इन्स्योरेन्सहरुको शेयर कारोबार खुल्नेछ।
एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले प्रतिकित्ता १०० रुपैयाँको दरले शेयर जारी गर्न लागेको हो। इन्स्योरेन्सले एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। इन्स्योरेन्सको उक्त दरको हकप्रद जारी गर्ने निणर्य १६ औँ वार्षिक साधारण सभाबाट पारित भएको थियो।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स (PMLI) ले जेठ २६ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सातौँ वार्षिक साधारण सभाबाट ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय रद्द गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।