तर, अनपेक्षितरुपमा गभर्नर बनेका डा. विश्व पौडेलले पदबहाली गरेको दुई साता नहुँदै खासै हल्ला खल्ला नगरि अहिले पश्चिम क्षेत्रको दौडाहामा निस्केका छन् । र, दौडाहाको क्रममा उनले औपचारिक कार्यक्रमलाई भन्दा अनौपचारिक भेटघाटलाई बढी जोड दिइरहेका छन् । उद्योगपति पूँजीपतिहरुलाई भन्दा सर्वसाधारणलाई भेटिरहेका छन् ।
खासगरि परराष्ट्रमन्त्री डा.आरजु राणासहितको विवादास्पद ‘स्वार्थ समुह’को जोडबलमा गभर्नर बनाइएको हल्लाका बीच पौडेलले अहिले चुपचापरुपमा ग्रामीण क्षेत्रको भ्रमण आफैमा अर्थपूर्ण छ । त्यसमाथि भ्रमणका क्रममा सर्वसाधारणसँगको भेटघाट र बैंकिङ क्षेत्रको प्रभावकारिताको बारेमा गरिरहेको अनौपचारिक अन्तरक्रिया आफैमा आश्चर्यको विषय त हो नै,साथै अब राष्ट्र वैंक कसरी अगाडि बढ्छ भन्ने कुरालाई पनि केहीहदसम्म संकेत गरेको छ ।

पदबहाली गरेपछि महिनौंसम्म तामझामपूर्ण स्वागत र तारे होटलहरुमा गरिने गोष्ठी सेमिनारहरुका मुख्य वक्ता बन्न छोडेर बैंकिङ क्षेत्रले पुर्याइरहेको सेवा सुविधा र तिनीहरुको प्रभावकारिता बारे अध्ययन गर्न हप्तौसम्म आफै ‘गाउँ पस्नु’ आफैमा आश्चर्यको विषय हो । यसभन्दा अगाडि कुनै पनि गभर्नर यसरी ‘चुपचाप’संग गाउँ पस्ने गरेका थिएनन् । वैंकका शाखा उद्घाटन गर्न वा अरु कुनै कार्यक्रमहरुमा जाने र एक, दुई दिन आयोजकहरुसंगै ‘मुड फ्रेस’ गरेर फर्किने गरेका थिए । सबैभन्दा धेरै गाउँ भ्रमण गरेको, किसानलाई भेटेका तत्कालिन गभर्नर डा. युवराज खतिवडा हुन् । धेरै जसो साना किसान लघु वित्त वित्तीय संस्थाको कार्यक्रममा वा वैंकहरुका शाखा उद्घाटन गर्न गाउँ गएका खतिवडा वैंकिङ क्षेत्रका सेवाग्राहीसंग अनौपचारिकरुपमा भेटघाटको लागि एक पटक पनि गएका थिएनन् । उनी अघि र पछिका गभर्नरहरु त औपचारिक कार्यक्रमको लागि गाउँ पसेका घटना बिरलै छन् । तर, पौडेलले भने पदबहाली गरेको केही दिनमै कुनै संस्थाको औपचारिक कार्यक्रम उदघाटन गर्न र भाषण गर्न नभई आफ्नै पाराले ‘गाउँ पसेका’ छन् ।
खासगरि आफूले ल्याउने पहिलो मौद्रिक नीतिको तयारी चलिरहेको बेला गभर्नर पौडेलले अहिले गरिरहेको भ्रमणले धेरै कुरा अर्थ राख्छ । उनले आफ्नो पाँच वर्षे कार्यकालमा के काम कसरी गर्लान् ? त्यो बारेमा यसै भन्न सकिदैन । पदबहाली गरेको एक महिना पनि नहुँदै उनको जयजयकार वा आलोचना गर्नु कुनै पनि अर्थमा उचित हुँदैन । तर, ‘नीति बनाउँदा हलो जोत्ने किसानलाई हेरेर बनाउनु र आफूले बनाउने नीतिले किसानले के पाउँदैछ भन्ने हेक्का राख्नु’ भन्ने भारतका लोकप्रिय प्रधानमन्त्री लालबहादुर शास्त्रीको भनाई र पदचापलाई गभर्नर पौडेलले अनुशरण गर्न खोजेको देखिएको छ ।
पदबहाली पछि बैंकिङ क्षेत्रले गरेको कर्जा प्रवाह सिमित घरानाहरुको कब्जामा रहेको र त्यसबाट सर्वसाधारणले फाइदा उठाउन सकेका छैनन् भन्ने दावी गरेका गभर्नर पौडेलको यो भ्रमण त्यही दावीको औचित्य पुष्टि गर्ने प्रमाणहरुको खोजी गर्ने अभियान हुन सक्ने राष्ट्र बैंकका अधिकारीहरु दावी गर्छन् । यस्बाट पनि गभर्नर पौडेल भारतीय प्रधानमन्त्री शास्त्रीको भनाइलाई ‘गुरुमन्त्र’ मानेर काम गर्न खोजिरहेको देखिन्छ ।
यदि साँच्चै नै त्यस्तो भयो र उनी बजारमा कतिपय पक्षले हल्ला गरे जस्तो अमुक स्वार्थ समुहको घेराबाट माथि निस्किए भने त्यसले आगामी मौद्रिक नीतिलाई मात्र नभएर सिंगो वैंकिङ क्षेत्रलाई नयाँ दिशा दिनेछ । त्यस्ले समग्र वित्तीय क्षेत्रलाई नयाँ किसिमले ‘भाईब्रेट’ गर्नेछ, भलै ‘स्वार्थ समुह’हरुको निशानामा उनी पर्न सक्छन् । तर, के त्यस्ता निशानालाई छलेर उनी अगाडि बढ्न सक्लान् ? त्यसको स्पष्ट संकेत भने आगामी मौद्रिक नीति पछि देखिनेछ ।