Ipo.aspx merolagani - बम गोला, बारुद बीच चलिरहेका इजरायल, इरान, रुस, युक्रेनका शेयर बजारको अवस्था कस्तो छ ?

बम गोला, बारुद बीच चलिरहेका इजरायल, इरान, रुस, युक्रेनका शेयर बजारको अवस्था कस्तो छ ?

Jul 20, 2026 05:24 PM Mero lagani

सामान्य बुझाइ के हुन्छ भने युद्ध सुरु भएपछि शेयर बजार ध्वस्त हुन्छ । तर पछिल्ला केही वर्षका घटनाले त्यो धारणा सधैं सही नहुने देखाएका छन् ।

इजरायल–इरान द्वन्द्व, रुस–युक्रेन युद्ध र अमेरिकी सैन्य संलग्नताका बीच पनि केही शेयर बजार नयाँ उचाइमा पुगेका छन् भने केही देशको पूँजी बजार लगभग निष्क्रिय बनेको छ ।

यसले एउटा नयाँ प्रश्न उठाएको छ, युद्धले सबै देशको शेयर बजारलाई एउटै तरिकाले असर गर्छ कि प्रत्येक देशको अवस्था फरक हुन्छ ?

यदि विश्वमा कुनै देश युद्धसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ भने त्यो अमेरिका हो। तर अमेरिकी शेयर बजारको व्यवहार धेरै फरक देखिएको छ।

खासगरी वाल स्ट्रिटमा देखिएको दृश्य रोचक छ ।

Dow Jones, S&P 500 र Nasdaq  मा सामान्य उतारचढाव देखिए पनि व्यापक भगदौड देखिएको छैन। लगानीकर्ताको ध्यान युद्धतर्फ होइन, तेलको मूल्य, महँगी र ब्याजदर तर्फ केन्द्रित भएको छ । 

हालको अमेरिका–इरान तनावका बीच पनि अमेरिकी शेयर बजारमा ठूलो भगदौड देखिएको छैन । यसको प्रमुख कारण लगानीकर्ताले अहिलेको द्वन्द्वलाई विश्वव्यापी वित्तीय संकट भन्दा ऊर्जा आपूर्ति र तेल मूल्यको जोखिमका रूपमा मूल्यांकन गरिरहेका छन्।

अहिले अमेरिकी बजारमा पैसा पूर्ण रूपमा बाहिरिएको छैन, बरु एआई र सेमिकन्डक्टरबाट ऊर्जा, रक्षा र केही वित्तीय क्षेत्रमा सरेको देखिन्छ। यही कारण विश्लेषकहरूले अहिलेको अवस्थालाई sector rotation भनेर व्याख्या गरिरहेका छन् । बजार विश्लेषकहरूका अनुसार, अमेरिकी बजार जोखिमबाट सुरक्षा (flight to quality) तर्फ मोडिएको छ, जसले गर्दा बन्ड र सुन जस्ता सुरक्षित मानिने सम्पत्तिमा आकर्षण बढेको छ ।

इजरायलः युद्धका बीच पनि बजारको पुनरागमन

इजरायलको तेल अभिभ स्टक एक्सचेन्ज (TASE) पछिल्लो समय निकै रोचक अवस्थाबाट गुज्रिरहेको छ ।

सन् २०२४,२०२५ मा युद्धका बाबजुद उच्च वृद्धि गरेको यो बजार सन् २०२६ को पहिलो ६ महिनामा भने केही धक्का खाएको छ । बजार विश्लेषकहरूका अनुसार, इजरायली बजारले अब युद्धको प्रत्यक्ष जोखिमलाई मूल्य निर्धारण (repricing) गर्न थालेको छ, जसले गर्दा बजारमा ठूलो उतार चढाव देखिएको छ।

युद्ध सुरु हुँदा इजरायली शेयर बजारमा तीव्र गिरावट आएको थियो । तर त्यसपछि बजारले उल्लेखनीय पुनरागमन गर्यो ।

यसका मुख्य कारणहरूमा इजरायलको बलियो प्रविधि उद्योग,विदेशी संस्थागत लगानीकर्ताको पुनःप्रवेश र रक्षा तथा साइबर सुरक्षा कम्पनीप्रतिको बढ्दो माग रहेको विश्लेषकहरुको दावी छ ।पछिल्ला तथ्याङ्कहरू अनुसार, यस एक्सचेन्जमा करिब ५५० को हाराहारीमा कम्पनीहरू सूचीकृत छन्। यसमा बैंकिङ, प्रविधि, रियल इस्टेट, बायोमेड र औद्योगिक क्षेत्रका कम्पनीहरू मुख्य छन्।

TASE को दैनिक कारोबारमा बैंक र ठूला औद्योगिक कम्पनीहरू (जस्तै: Poalim, Leumi, र Tower) को सक्रियता बढी देखिन्छ।

TASE को मुख्य सूचकांक TA-125 हो, जसले बजारको समग्र प्रदर्शनलाई जनाउँछ।

२०२६ जुलाई महिनाको सुरुदेखि नै बजारमा उतार चढाव देखिएको छ। जुलाईको पहिलो दुई सातामा यो सूचकांक ४,००० देखि ४,१५० बिन्दुको बीचमा तल माथि भइरहेको छ।

मध्यपूर्वको द्वन्द्वमा आएको नयाँ तनाव र प्रविधि शेयरहरूमा देखिएको विश्वव्यापी बिक्री (selloff) ले गर्दा लगानीकर्ताहरू केही हच्किएका छन्।

 रुसः बजार खुला छ, तर विश्वबाट लगभग अलग

रुसको शेयर बजार (Moscow Exchange, MOEX ) सञ्चालनमा छ, तर यो पहिलेको जस्तो अन्तराष्ट्रिय बजार रहेन । मस्को एक्सचेन्जमा विभिन्न क्षेत्रका गरी करिब ८३० भन्दा बढी कम्पनीहरू सूचीकृत छन्। यद्यपि, मुख्य सूचकांक (MOEX Russia Index)ले भने रुसका सबैभन्दा ठूला र प्रभावशाली ५० वटा कम्पनीहरूको प्रदर्शनलाई ट्र्याक गर्दछ।

हालको बजार मन्दीका कारण VTB बैंक, ट्रान्सनेफ्ट (Transneft) र स्बरबैंक (Sberbank) जस्ता ठूला कम्पनीहरूको शेयर मूल्यमा निकै भारी गिरावट देखिएको छ।

पश्चिमी प्रतिबन्ध, विदेशी लगानीकर्ताको बहिर्गमन, पूँजी नियन्त्रण र सीमित अन्तराष्ट्रिय कारोबारका कारण यसको मल्याङ्कन विश्वका अन्य बजारसँग तुलना गर्न कठिन भएको छ ।

रुसको शेयर बजार (Moscow Exchange - MOEX) हाल निकै चुनौतीपूर्ण र अस्थिर अवस्थाबाट गुज्रिरहेको छ। जुलाई २०२६ मा रुसको शेयर बजार सूचकांक (MOEX Russia Index) तीन वर्षयताकै न्यून बिन्दुमा झरेको छ। १७ जुलाई २०२६ सम्मको तथ्याङ्क अनुसार यो सूचकांक १,९५८.४३ बिन्दुमा रहेको छ।

विगत एक वर्षको अवधिमा यो सूचकांक करिब ३०% ले घटेको छ। जुलाई महिनाको सुरुदेखि नै बजारमा निरन्तर गिरावट देखिएको छ।

रुसको अर्थतन्त्र अहिले ऊर्जा निर्यात, सरकारी खर्च र घरेलु लगानीमा धेरै निर्भर छ । त्यसैले तेल र ग्यास कम्पनीहरूले बजारलाई केही हदसम्म टिकाइरहेका छन्, तर विदेशी पूँजीको पहुँच सीमित छ ।

युक्रेनः युद्धले लगभग रोकिदिएको पूँजी बजार

रुसको जस्तै युक्रेनको अवस्था सबैभन्दा कठिन छ । रुसी आक्रमणपछि युक्रेनको नियमित पूँजी बजार गतिविधि गम्भीर रूपमा प्रभावित भएको छ । प्राथमिक ध्यान बैंकिङ प्रणाली, सरकारी ऋण, अन्तराष्ट्रिय सहायता र युद्धकालीन वित्त व्यवस्थापनमा केन्द्रित छ ।

युक्रेनको शेयर बजारको अवस्था हाल जारी युद्धका कारण निकै सीमित र चुनौतीपूर्ण छ। युक्रेनको मुख्य शेयर बजार 'PFTS Stock Exchange' हो।  जुलाई २०, २०२६ को तथ्याङ्क अनुसार, PFTS Index ४२८.८८ बिन्दु को हाराहारीमा रहेको छ।

युद्धका कारण विगत केही समयदेखि यो सूचकांकमा अत्यन्तै न्यून उतार(चढाव देखिन्छ, जसले बजारमा कारोबारको गतिशीलता निकै कम रहेको संकेत गर्छ।

युक्रेनको बजारमा मुख्यतया केही सीमित ठूला कम्पनीहरू सूचीकृत छन्। सूचीकृत प्रमुख कम्पनीहरूमा 'Raiffeisen Bank JSC', 'Ukrtelecom PJSC', 'Bank Ukrgasbank', 'Centerenergo', र 'Ukrainian Energy Machines' जस्ता संस्थाहरू रहेका छन्। यी कम्पनीहरूको बजार पुँजीकरण (Market Cap) र शेयर मूल्यमा ठूलो अस्थिरता वा व्यापारिक निष्क्रियता देखिन्छ।

युद्धका कारण युक्रेनी शेयर बजारमा कारोबारको आकार (Trading Volume) अत्यन्तै न्यून छ। धेरै दिनसम्म सूचकांकमा कुनै परिवर्तन नहुनु वा शून्य कारोबार हुनु यसको प्रमाण हो।

युक्रेनको अर्थतन्त्र युद्धको दबाबमा रहे पनि म्याक्रो इकोनोमिक स्थिरता कायम राख्ने प्रयास भइरहेको छ। तर, शेयर बजारले युद्धपूर्वको जस्तो सक्रिय भूमिका निर्वाह गर्न सकिरहेको छैन। लगानीकर्ताहरूको ध्यान र बजारको प्राथमिकता हाल युद्धकालीन अर्थतन्त्रलाई धान्ने र बाह्य सहयोगमा केन्द्रित छ।

इरानः शेयर बजार छ, तर युद्ध र प्रतिबन्धको दोहोरो दबाब

इरानसँग आफ्नै शेयर बजार (Tehran Stock Exchange) छ । तर अन्तर्राष्ट्रिय प्रतिबन्ध, मुद्रा अवमूल्यन, उच्च महँगी र युद्धले यसको कार्यसम्पादनलाई निरन्तर प्रभावित गर्दै आएको छ। हालको द्वन्द्वपछि लगानीकर्ताको ध्यान विशेषगरी तेल, पेट्रोकेमिकल, सुन र सुरक्षित सम्पत्तितर्फ सरेको देखिएको छ।

विश्वव्यापी विश्लेषणले इरानसँग सम्बन्धित जोखिमले तेलको मूल्य बढाएको र त्यसको प्रभाव विश्वभरका इक्विटी बजारमा परेको देखाएको छ।

इरानको तेहरान स्टक एक्सचेन्जलाई धेरै विश्लेषकहरूले केवल वित्तीय बजार होइन, इरानको राजनीति, प्रतिबन्ध र अर्थतन्त्रको ऐना पनि भन्ने गरेका छन्।

तेहरान स्टक एक्सचेन्जको स्थापना ४ फेब्रुअरी १९६७ मा भएको थियो । त्यहाँ ६३० भन्दा बढी कम्पनीहरू सूचीकृत छन्। बजारमा रहेका प्रमुख प्रभावशाली कम्पनीहरूमा FMeli, Shiraz, Shpna, Webellett, Shbandar, Vpasar र Parsian जस्ता ठूला कम्पनीहरू छन्। यी कम्पनीहरूको प्रदर्शनले समग्र सूचकांकमा ठूलो प्रभाव पार्दछ। 

इरानको बजारको आकारबारे विभिन्न संस्थाले फरक आधारमा तथ्याङ्क सार्वजनिक गर्छन्। त्यसैले कुन स्रोतले कुन विनिमय दर प्रयोग गरेको हो भन्ने बुझ्न आवश्यक हुन्छ।

तेहरान स्टक एक्सचेन्जले उपलब्ध गराएको तथ्यअनुसार डिसेम्बर २०२४ सम्म बजार पूँजीकरण करिब २ ट्रिलियन अमेरिकी डलर (स्थानीय मूल्याङ्कनका आधारमा) र वार्षिक कारोबार करिब ३९ अर्ब अमेरिकी डलर बराबर थियो।

२०२५ को मध्यतिरबाट शुरु भएको राजनीतिक आन्दो इन्टरनेट बन्द, त्यसपछि अमेरिका–इजरायलसँग बढ्दो सैन्य तनावका कारण लगानीकर्ताले बजारबाट पैसा निकाल्न थाले भने युद्धका कारण बजारको नियमित कारोबार करिब ८० दिन रोकियो। बजार पुनः खुल्दा पनिस् दैनिक मूल्य परिवर्तनमा सीमा (Price Limits), केही कम्पनीको कारोबार निलम्बन, जोखिम नियन्त्रणका विशेष व्यवस्था आदीमा नयाँ नियम लागू गरियो। फलस्वरुप अहिले त्यहाँको शेयर बजार इतिहासकै सबैभन्दा कठिन मोडबाट गुज्रिरहेको छ ।

 

comments powered by Disqus

यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।