उच्च तलब, उन्नत एआई परियोजनाहरूमा काम गर्ने अवसर र स्टार्टअप सुरु गर्न सहज वातावरणका कारण युवा प्रतिभाहरू अमेरिकातर्फ आकर्षित भइरहेका छन्।
फोर्ब्स इन्डियाको रिपोर्ट अनुसार, भारत छोडेर जाने यी विशेषज्ञहरू तत्काल स्वदेश फर्कने सम्भावना निकै न्यून देखिएको छ। सिलिकन भ्यालीमा कार्यरत भारतीय अनुसन्धानकर्ताहरूले भारत फर्कनका लागि आफूहरूसँग कुनै ठोस वा बाध्यकारी कारण नभएको स्पष्ट पारेका छन्। यसको प्रत्यक्ष असर भारतको स्टार्टअप इकोसिस्टममा परेको छ, किनकि धेरै भारतीय संस्थापकहरूले भारतको सट्टा अमेरिकामा आफ्ना नयाँ एआई स्टार्टअपहरू स्थापना गरिरहेका छन्।
यसले गर्दा विश्वव्यापी एआई दौडमा भारत पछाडि पर्ने खतरा बढेको छ। विज्ञहरूले भारतलाई एआई प्रतिभाको दोस्रो ठूलो केन्द्र माने पनि शीर्ष प्रतिभा पलायन हुने क्रमले चिन्ता बढाएको छ।
एआई रोजगारी १६ प्रतिशतले बढ्यो, समग्र भर्नामा गिरावट
भारतीय आईटी कम्पनीहरूले एआई विशेषज्ञहरूको भर्नालाई तीव्रता दिएका छन्। 'जबस्पीक'को जुन २०२६ को रिपोर्ट अनुसार, एआई सम्बन्धी रोजगारीमा १६ प्रतिशतले वृद्धि भएको छ। तर, सोही अवधिमा समग्र भर्ना प्रक्रिया भने ३ प्रतिशतले घटेको छ। कम्पनीहरूले अहिले सामान्य कर्मचारीको सट्टा दक्ष एआई विशेषज्ञ र कर्मचारीहरूलाई पुन: सीप (Reskilling) प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छन्।
२०२७ सम्म ६ लाख पेशेवरको अभाव हुने
नास्कम (NASSCOM) का अनुसार, भारतले २०२७ सम्ममा ६ लाखभन्दा बढी एआई पेशेवरहरूको अभाव झेलनुपर्ने हुनसक्छ। तथ्याङ्क अनुसार प्राविधिक क्षेत्रका ९० प्रतिशतभन्दा बढी युवाहरूले एआई उपकरण प्रयोग गरे पनि केवल २३ प्रतिशतसँग मात्र स्वतन्त्र रूपमा एआई प्रणाली निर्माण र कार्यान्वयन गर्ने प्राविधिक गहिराइ छ।
फाइन्डबिलिटी साइन्सका सीईओ आनन्द माहुरकरका अनुसार नयाँ स्नातकहरूमा किताबी ज्ञान भए पनि व्यावहारिक अनुभवको ठूलो कमी छ। कलेजमा सिकाइने मेसिन लर्निङ वा पाइथन कोडिङ र उद्योगको वास्तविक कामबीचको ठूलो खाडलले गर्दा दक्ष जनशक्ति पाउन कठिन भइरहेको छ।