Ipo.aspx merolagani - शिवम् सिमेन्टकाे ‘युटर्न’ हुने निर्णयसँगै शेयर मूल्यमा भारी बृद्धि, यसकारण भनियो ‘ओम नमः शिवाय’

शिवम् सिमेन्टकाे ‘युटर्न’ हुने निर्णयसँगै शेयर मूल्यमा भारी बृद्धि, यसकारण भनियो ‘ओम नमः शिवाय’

Dec 19, 2023 05:54 PM Merolagani

सधै नगद लाभांश मात्रै दिँदै आएको शिवम् सिमेन्टले यसपाली लगानीकर्तालाई बोनस शेयर दिने निर्णय गरेको छ । पहिलो पटक बोनस शेयर दिने भएपछि शेयर मूल्य पनि एकाएक आकासिएको हो ।

शिबम् सिमेन्टको शेयर मूल्य आज एकै दिन १० प्रतिशतले बृद्धि भएको छ । सोमबार प्रतिकित्ता ५४० रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएको शिवम् सिमेन्टको शेयर मूल्य मंगलबार १० प्रतिशतले बढेर ५९४ रुपैयाँ पुगेको छ ।

शेयर मूल्य मात्र होइन, कारोबार रकम पनि यस दिन सबै भन्दा बढी भएको छ । शिवम् सिमेन्टको आज एकै दिन ३७ करोडको शेयर किनबेच भएको छ ।

यसरी शेयर मूल्य बढ्नुलाई कम्पनीले पहिलो पटक बोनस शेयर दिनुलाई लिएको छ । अहिले ४ अर्ब ४० करोड चुक्ता पुँजी भएको शिवम् सिमेन्टले पुनः चुक्ता पुँजी बढाउँदै जाने रणनीति बनाएको छ ।

कम्पनीले परम्परागत ‘रुट’ लाई बदल्दै नगदबाट बोनसमा ‘युटर्न’ हुन थालेपछि लगानीकर्ता शिवम् सिमेन्टको शेयर खरिद गर्न आकर्षित भएका हुन् ।

केही दिन अघिदेखि नै शिवम् सिमेन्टले नगदको सट्टा बोनस लाभांश घोषणा गर्दै छ भन्ने हल्ला बजारमा चलिरहेको थियो । त्यसबेला नै शिवम् सिमेन्टको शेयर खरिद गर्दा हुने हल्ला बजारमा फैलिएको थियो ।

त्यही बेलादेखि नै शिवम् सिमेन्टको शेयर किनेर ‘होल्ड’ गर्न थालेका लगानीकर्ताले सांकेतिक रुपमा ‘ओम नमः शिवाय’ भन्न थालेका थिए ।

प्रत्येक वर्ष बोनस शेयर दिँदै जाने र कम्पनीलाई ‘नम्बर वान’ बनाउँदै लैजाने योजनामा कम्पनीका सञ्चालकहरु पुगेकाे  स्रोतको दावी छ । त्यही निर्णय सार्वजनिक भएसँगै बजारमा शिवम् सिमेन्टको शेयर ‘हट केक’ बनेकाे हो ।

बाटाे परिवर्तन गर्दै इतिहासमा नै पहिलो पटक शिवम् सिमेन्टले बोनस शेयर दिने निर्णय गरेकाे छ । शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

गत वर्ष शिवम् सिमेन्टले १०.५३ प्रतिशत नगद लाभांश मात्र दिएको थियो । गत वर्ष भन्दा यसवर्ष शिवम् सिमेन्टले बढी लाभांश  त्यसमाथि पनि बाेनस लाभा‌ंश दिएको हो ।

शिवम सिमेन्टले बढीमा २९ प्रतिशत नगद लाभांश समेत दिएको रेकर्ड छ । कम्तीमा १० प्रतिशत नगद लाभांश दिँदै आएको शिवम् सिमेन्टले यसपाली १५ प्रतिशत बोनस शेयर दिएको हो ।

शिवम् सिमेन्टको अधिकत मूल्य १८०० सम्म पुगेको थियो । यस कम्पनीको शेयर मूल्य न्यूनतम ३०५ रुपैयाँसम्म झरेको थियो । पछिल्लो समय शिवम् सिमेन्टको शेयर मूल्य निरन्तर उकालो लाग्दै गएको छ । 

 

comments powered by Disqus

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।