सोमबार नेप्से परिसूचक १.६० अंक बढेर २६९४.६६ विन्दुमा पुगेको छ। तर, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ इण्डेक्स ०.२२ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार साढे ८ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८३ हजार १६ पटकको कारोबारमा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँबराबरको २ करोड २० लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३१ प्रतिशत बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ६.४५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ५४ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमुहको परिसूचक सर्वाधिक २.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।