नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५९८ रुपैयाँ ४४ पैसा कायम भएको छ। त्यस्तै, नेप्सेले एनएलजी इन्स्योरेन्स (NLG) को २.५० प्रतशत बोनस शेयर समायोजन गरेको हो। इन्स्योरेन्सको समायोजित मूल्य ७४१ रुपैयाँ ४८ पैसा कायम भएको छ। बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर समायोजनपश्चात कम्पनीको शेयरमूल्य २९० रुपैयाँ ३६ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, देस्रो बजारमा नेशनल लाइफ इन्स्योरेन्सको अन्तिम मूल्य ६२८ रुपैयाँ ३६ पैसा, एनएलजीको ७६० रुपैयाँ २ पैसा र बरुण हाइड्रोपावर (BARUN) को ४८० रुपैयाँ ७२ पैसा कायम भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
एनएलजी इन्स्योरेन्सले जेठ २९ गते, बिहीबार, आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले असार ५ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा ३७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण लगानीकर्ताहरुबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
यता, बरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न भोली बुकक्लोज गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।