Ipo.aspx merolagani - यी हुन धेरै मूल्य भोलाटाइल हुने २० कम्पनी, दुई दिनमा १८ देखि ३२ प्रतिशतसम्म मूल्यमा उतारचढाव

यी हुन धेरै मूल्य भोलाटाइल हुने २० कम्पनी, दुई दिनमा १८ देखि ३२ प्रतिशतसम्म मूल्यमा उतारचढाव

Dec 11, 2023 06:09 PM MeroLagani

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत व्याज दर घटाउने र ऋणको माग बढाउने गरी संशोधन गरेपछि पुँजी बजार एकदमै ठूलो उतारचढाव आएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गर्नु अघिको बजार र मौद्रिक नीतिको समीक्षा गरिसकेपछिको दुई कारोबार दिनमा कुनै कम्पनीको शेयर मूल्यमा झन्डै ३२ प्रतिशतसम्मको उतारचढाव देखिएको छ ।

पुँजी बजारका लगानीकर्ताले माग गरे अनुसारका केही मागहरु सम्बोधन गरेपछि आइतबार नेप्सेमै सर्किट लागेर कारोबार बन्द भयो । सोमबारको कारोबार भने एकदमै भोलाटाइल भएर थोरै अंकले घटेर बन्द भयो । आइतबार नेप्से परिसूचक ६ प्रतिशतले वृद्धि हुँदा १ सय ११ अंकको वृद्धि हुँदा नेप्से परिसुचक १९६३.९८ विन्दुमा उक्लियो । सोमबार नेप्से परिसूचकमा एकदमै ठूलो उतारचढाव देखियो । सोमबार अधिकतम १९८९.७२ अंकसम्म नेप्से उक्लियो भने न्यूनतम १९२८.७६ विन्दुसम्म झरेर दिनभरिमा ६१ अंकको उतारचढावपछि अन्तिममा १९४८.५७ विन्दु्मा बन्द भयो । मौद्रिक नीतिको समीक्षा अघि र समीक्षा पछिको दुई दिनको कारोबार दिनमा १७.९८ देखि ३१.९३ प्रतिशतसम्म कम्पनीको शेयरमूल्य घटबढ भएको देखियो ।

नेप्से परिसूचकलाई उतारचढावयुक्त बनाउन धेरै कम्पनीहरुको मुख्य भूमिका रहेको छ । मेरो लगानीले दुई दिनमा मूल्यमा धेरै उतारचढाव भएको २० कम्पनी छनोट गरेको छ । दुई दिनमा सबैभन्दा बढी मूल्य उतारचढाव भएको कम्पनी सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । मौद्रिक नीति समीक्षा अगाडि ८ सय ८२ रुपैयाँ रहेको यो कम्पनीको मूल्य आइतबार अधिकतम ११ सय ६४ रुपैयाँसम्म पुगेर अन्तिममा ११ सय ५५ रुपैयाँमा कारोबार बन्द भयो । बिहिबारको अन्तिम मूल्यबाट सोमबार उच्च मूल्यसम्म पुग्दा कम्पनीको मूल्यमा ३१ दशमलब ९३ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी हाइड्रोपावर सेक्टरका धेरै कम्पनीहरुको मूल्यमा २० प्रतिशतले भोलाटाइल भएको देखिएको छ । भर्खरै कारोबार खुलेको त्रिशुली जलविद्युत कम्पनीको शेयर बिहीबार २६८ रुपैयाँ रहेकोमा सोमबार अधिकतम ३ सय ४३ रुपैयाँ ९० पैसासम्म पुग्यो भने अन्तिममा ३ सय ८ रुपैयाँ ९० पैसामा बन्द भयो । कम्पनीको शेयर मूल्यमा २८ दशलमब ३२ प्रतिशतले उतारचढाव भएको देखिएको छ । त्यस्तै धेरै मूल्यमा भोलाटाइल भएको कम्पनीमा मोलुङ हाइड्रोपावर कम्पनी रहेकाे छ । कम्पनीको शेयर मूल्यमा २५ दशमलब ७५ प्रतिशतले उतारचढाव देखिएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य गत बिहीबार ४ सय ३६ रुपैयाँ रहेकोमा दुई दिनमा झन्डै १ सय रुपैयाँ भन्दा बढीले बढेर ५ सय ४४ रुपैयाँ ५० पैसा पुगेको छ । लगानी समूह अन्तर्गत रहेको यो कम्पनीले हालै मात्र आइपीओ जारी गरेर सूचीकृत भएको कम्पनी हो । गत बिहीबारदेखि आजको अन्तिममूल्यसम्म पुग्दा कम्पनीको शेयर मूल्य २४ दशमलब ८९ प्रतिशतले बढेको छ ।

लक्ष्मी लघुवित्त, डोल्टी पावर कम्पनी, पिपल्स हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर, आशा लघुवित्त, खानीखोला हाइड्रोपावरलगायतका कम्पनीको शेयर मूल्यमा झन्डै २० प्रतिशतले उतारचढाव देखिएको छ ।

भुगोल इनर्जी डेभलपमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, इन्फिनिटी लघुवित्त, जोशी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर लिमिटेड, श्वेतगंगा हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर र सोनापुर हाइड्रोपावर १७ देखि १९ प्रतिशतसम्म मूल्यमा उतारचढाव हुने कम्पनीहरु हुन । यी कम्पनीहरु लगायत अन्य कम्पनीको शेयर मूल्य धेरै उतारचढाव हुँदा नै आजको शेयर कारोबार रकम धेरै भएको हो । सोमबार करिब ५ महिनापछि झन्डै ५ अर्ब रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक १८ सयको लाइनमा कारोबार भइरहँदा कारोबार रकम १ अर्बभन्दा पनि मुनि हुने गर्दथ्यो । नेप्से उकालो लागेसँगै विस्तारै कारोबार रकम समेत बढ्दै जान थालेको हो ।

भोलाटाइल कम्पनीहरुमा अधिकांश कम्पनी हाइड्रोपावर समूहमा रहेका छन् । उच्च मूल्य भोलाटाइलयुक्त २० कम्पनीमा १४ कम्पनी हाइड्रोपावर समूहबाट, ४ वटा माइक्रोफाइनान्स समूहबाट, १ वटा लगानी समूहबाट र १ वटा उत्पादनमूलक समूहबाट परेका छन् ।

comments powered by Disqus

नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

Dec 10, 2023 02:33 PM

नेप्से १११.२० अंकले बढ्दा पनि यी दुई ‘अभागी’ कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।