Ipo.aspx merolagani - एनटिसी र शिवम् सहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनटिसी र शिवम् सहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 03, 2024 06:51 AM Merolagani

पुस १८ गते, बुधबार, एनटिसी र शिवम् सिमेन्ट्ससहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल टेलिकम (एनटिसी), शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीले भोली अर्थात पुस १९ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनटिसी (NTC) ले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

शिवम् सिमेन्ट्स (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

त्यस्तै, लक्ष्मी सनराइज बैंक (LSL) ले पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौामा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो २ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

मुक्तिनाथ विकास बैंक (MNBBL) ले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। सो प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १ बजे शुरु हुनेछ।

महालक्ष्मी विकास बैंक (MLBL) ले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, ग्लोबल आइएमई लघुवित्त (GILB) ले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते, बेस्ट रिसोर्ट नेपाल प्रा.लि., लेकसाइड पोखरामा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ।

यता बुटवल पावर (BPCL) ले पुस २९ गते साधारणसभा बोलाएको छ। सभाले ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।